close

गुणस्तरीय इन्टरनेट सेवा दिन ह्वावेको पूर्वाधार प्रयोग गर्दै वेबसर्फर

टेकपाना टेकपाना

कात्तिक २२, २०७९ १९:२

गुणस्तरीय इन्टरनेट सेवा दिन ह्वावेको पूर्वाधार प्रयोग गर्दै वेबसर्फर

काठमाडौं । इन्टरनेट सेवा प्रदायक वेबसर्फरले आफ्नो सेवा विस्तारका लागि दूरसञ्चार पूर्वाधार कम्पनी ह्वावेसँग सहकार्य गरेको छ । कर्पोरेट तथा घरायसी प्रयोजनमा उच्च गुणस्तरीय इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको कम्पनीले आफ्नो सेवालाई थप प्रभावकारी बनाउने गरी ह्वावेसँग सहकार्य गरेको हो ।

योसँगै वेबसर्फरलाई आवश्यक इन्ड-टु-इन्ड नेटवर्क सोलुसन (राउटर लगायतका डिभाइस), अप्टिकल फाइबर, इन्टेलिजेन्ट प्रविधि लगायतका पूर्वाधार ह्वावेले उपलब्ध गराउने छ । साथै ह्वावेले वेबसर्फरका लागि आवश्यक पूर्वाधार निमार्णमा समेत सहयोग गर्ने जनाइएको छ ।

सम्झौता अनुसार ह्वावेले वेबसर्फरलाई आवश्यक प्राविधिक र विशेषज्ञ सहायता प्रदान गर्नेछ । साथै वेबसर्फरका कर्मचारीको क्षमता अभिवृद्धिका लागि ह्वावेले प्रशिक्षण कार्यक्रम पनि सञ्चालन गर्नेछ ।

‘यो एक दीर्घकालीन र रणनीतिक साझेदारी हो, जुन दुवै कम्पनीका लागि उत्तिनै महत्वपूर्ण सावित हुनेछ,’ ह्वावे नेपालका प्रमुख कार्यकारी अधिकृत विलियम चाङले भने, ‘हामी वेबसर्फरको लागि ‘फ्युचर–प्रुफ’ नेटवर्क तयार गर्न मद्दत गर्नेछौं र ह्वावेको पछिल्ला प्रविधि नेपालमा ल्याएर ग्राहकलाई गुणस्तरीय सेवा उपलब्ध गराउन मद्दत गर्नेछौं ।’

वेबसर्फरका प्रबन्ध निर्देशक सुरेन क्षेत्रीले यो नयाँ साझेदारीबाट आफूहरू उत्साहित भएको प्रतिक्रिया दिए ।

‘बढ्दो प्रविधि र हाम्रा प्रयोगकर्ताको आवश्यकता बुझ्ने पार्टनरको खोजीमा ह्वावेसँग सहकार्य गरिएको हो । हामी ह्वावेका इन्टेलिजेन्ट प्रविधि, उत्पादन र सोलुसन नेपालमा ल्याउन पाउँदा उत्साहित छौं,’ उनले भने ।

यो सहकार्यपछि वेबसर्फरका ग्राहकले छिट्टै ह्वावे इन्टरनेट उत्पादन, उच्च गतिको फाइबर इन्टरनेट, भरपर्दाे र स्थिर नेटवर्क, सिमलेस वाई-फाई रोमिङ सुविधा पाउने उनकाे दाबी छ । उनी भन्छन, ‘यो सहकार्यले हामीलाई बढ्दो प्रविधिहरूसँगै अगाडि बढ्न  र हाम्रा ग्राहकलाई पछिल्लो प्रविधिका अनुभव उपलब्ध गराउने समेत मद्दत पुग्नेछ ।’

पछिल्लो अध्यावधिक: कात्तिक २२, २०७९ १९:२