close

अव्यवस्थित तार व्यवस्थापन गर्दै इन्टरनेट सेवा प्रदायक, शनिबार सिंहदरबारबाट सुरु हुने

टेकपाना टेकपाना

कात्तिक २४, २०७९ १०:४७

अव्यवस्थित तार व्यवस्थापन गर्दै इन्टरनेट सेवा प्रदायक, शनिबार सिंहदरबारबाट सुरु हुने

काठमाडौं । इन्टरनेट सेवा प्रदायकहरूले अव्यवस्थित तार व्यवस्थापनको लागि प्रक्रिया अघि बढाएका छन् । उनीहरूले आउँदो शनिबारदेखि सिंहदरबार क्षेत्र वरिपरिको तार व्यवस्थित गर्ने तयारी गरेका हुन् । बुधबार इन्टरनेट सेवा प्रदायकहरूको छाता संघठन इन्टरनेट सेवा प्रदायक संघ नेपाल(आईस्पान) ले नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्र लेख्दै त्यसका लागि सहजिकरण गर्न आग्रह गरेको छ ।

‘आईस्पानको पहलमा विभिन्न सेवा प्रदायकले बिभिन्न ठाउँमा तार व्यवस्थापन कार्य गर्दै आएको छ,’ उक्त पत्रमा भनिएको छ, ‘यसअघि पर्यटकीय क्षेत्र ठमेल, टोखा नगरपालिका, न्युरोड, संकटा लगायतका क्षेत्रमा तार व्यवस्थापन गर्ने कार्य सम्पन्न भइसकेको छ ।’

उल्लेखित क्षेत्रमा प्राधिकरणले सहायक भूमिका खेलेको भन्दै शनिबारबाट हुने तार व्यवस्थापन कार्यमा समेत सहजकर्ताका रुपमा उपस्थित हुने प्राधिकरणलाई आग्रह गरिएको छ ।

उक्त पत्रमा भनिएको छ, ‘सिंहदरबारबाट तार व्यवस्थापन गर्नका लागि नेपाल विद्युत प्राधिकरण, काठमाडौं महानगरपालिका, काठमाडौं उपत्यका ट्राफिक कार्यालय लगायतलाई आवश्यक स्रोत साधन सहित उपस्थित हुन आवश्यक पहल गरिदिन आग्रह गर्दैछौ ।’

आईस्पानका अनुसार सिंहदबार क्षेत्रमा चार चरणमा तार व्यवस्थापनको कार्य हुनेछ । यसअघि नेपाल विद्युत प्राधिकरणले एक सूचना जारी गर्दै इन्टरनेट सेवा प्रदायकलाई अव्यवस्थित तार व्यवस्थापन गर्न निर्देशन दिएको थियो

४५ दिनको समय दिएर विद्युत प्राधिकरणले जारी गरेको उक्त सूचनामा इन्टरनेट तथा केबलको तार व्यवस्थापन गर्दा अपनाउनु पर्ने मापदण्ड समेत तोकिएको थियो । सोही मापदण्डका आधारमा अब इन्टरनेट सेवा प्रदायकले सिंहदरबार क्षेत्रमा तार व्यवस्थापन गर्ने तयारी गरेको बुझिएको छ ।
 

पछिल्लो अध्यावधिक: कात्तिक २४, २०७९ १०:५२