close

फेसबुकको 'प्रोफेसनल मोड', जहाँबाट कमाउन सकिन्छ पैसा

टेकपाना टेकपाना

कात्तिक २४, २०७९ १८:४५

फेसबुकको 'प्रोफेसनल मोड', जहाँबाट कमाउन सकिन्छ पैसा

काठमाडौं । फेसबुकले आफ्ना प्रयोगकर्तालाई लक्षित गर्दै प्रोफेसनल मोड सार्वजनिक गरेको छ । फेसबुक अकाउन्टमा पनि फेसबुक पेजकै फिचरहरू उपलब्ध हुने उक्त मोडबाट आम्दानीसमेत गर्न सकिन्छ ।

के हो फेसबुको प्रोफेसनल मोड ?

आफ्नो फेसबुक अकाउन्टलाई व्यावसायिक तवरबाट अघि बढाउन सहज बनाउने फिचर नै प्रोफेसनल मोड हो । फेसबुक अकाउन्टलाई पेजको स्वरूपमा राख्नका लागि प्रोफेसनल मोड अन गर्न सकिन्छ ।

प्रोफेसनल मोडका फाइदा

प्रोफेसनल मोडका विभिन्न फाइदाहरू छन् । यदि फेसबुकमा पाँच हजार साथी पुगेको खण्डमा नयाँ साथी एड गर्न सकिँदैन । त्यसका लागि फलोअरको अप्सन अन गर्नुपर्ने हुन्छ । तर, प्रोफेसनल मोड अन गर्दा सोझै फलोअरको अप्सन देखिन्छ । र, तपाईँको फेसबुक साथी तथा फलोअरको सङ्ख्या फलोअरमा जोडिन्छ ।

त्यस्तै कुनै पनि पोस्टमा कति रिच भयो भन्ने हेर्नका लागि पनि प्रोफेसनल मोड अन गर्न सकिन्छ । तपाईँको पोस्ट अन्य व्यक्तिले लाइक, कमेन्ट वा शेयर नगरेपनि पोस्ट देखेका छन् भने उक्त सङ्ख्या फेसबुक रिचमा देखिन्छ । फेसबुकले प्रोफेसनल मोड अन भएको अकाउन्टलाई धेरै व्यक्तिहरूमाझ देखाउँछ, जसले गर्दा तपाईँको फलोअर बढ्ने सम्भावना उच्च हुन्छ ।

सबैभन्दा महत्त्वपूर्ण भने तपाईँले प्रोफेसनल मोड अन गरेर आम्दानी पनि गर्न सक्नुहुन्छ । तपाईँले अपलोड गरेका रिलमा स्टार गिफ्टको अप्सन अन गरेर होस् वा मोनिटाइज टुल अन गरेर होस् प्रोफेसनल मोडबाट राम्रो आम्दानी गर्न सक्नुहुन्छ ।

यदि कुनै पोस्ट बुस्ट (पैसा तिरेर प्रचार गर्ने) गर्नुपर्ने छ भने सामान्य अकाउन्टबाट बुस्ट गर्न सकिँदैन ।  त्यसैले व्यवसायिक तरिकाले फेसबुक प्रयोग गर्न चाहनुहुन्छ भने प्रोफेसनल मोड अन गर्न सक्नुहुन्छ ।

प्रोफेसनल मोड अन गर्ने तरिका

यसको फाइदाबारे जानकारी भइसकेपछि अब फेसबुकको प्रोफेसनल मोड अन गर्नेबारे चर्चा गरौँ । त्यसका लागि तलको प्रक्रिया अपनाउनुहोस् । 

-सबैभन्दा पहिले फेसबुक एप खोल्नुहोस् ।

-त्यसपछि दायाँपट्टि माथि देखाइएको तीन ओटा लाइनमा क्लिक गर्नुहोस् ।

-अब आफ्नो प्रोफाइल फोटोमा क्लिक गरेर टाइमलाइनमा जानुहोस् ।

-त्यसपछि टाइमलाइनमा एडिट प्रोफाइलको छेउमा रहेको तीन ओटा डटमा क्लिक गर्नुहोस् ।

-त्यसपछि तलपट्टि रहेको टर्न अन प्रोफेसनल मोड (Turn on  professional mode) मा क्लिक गर्नुहोस् ।

-अब प्रोफेसनल मोडको फाइदाबारे लेखिएको पेज खुल्छ । तल गएर टर्न अन (Turn on) को अप्सनमा क्लिक गर्नुहोस् ।

-तपाईँले प्रोफाइलमा बायो, कभर फोटो, कन्टेन्ट राख्नुभएको छ भने केही गर्नुपर्दैन । तर, ती कुरा पूरा भएका छैनन् भने त्यही देखाइएको अप्सनबाट कभर फोटो राख्नुहोस् ।

-तलको सेक्सनमा गएर बायो राख्नुहोस् ।

-त्यसभन्दा तलको अप्सनमा गएर प्रोफाइल पिक्चर राख्नुहोस् । (यी विकल्पलाई स्किप गर्न पनि पाइन्छ ।)

-यी सबै प्रक्रिया सकेपछि केहीबेर पर्खिनुहोस् । त्यसपछि फेसबुकलाई क्लियर गरेर पुनः खोल्नुहोस् । त्यसपछि तपाईँको अकाउन्ट प्रोफेसनल अकाउन्टमा परिणत हुन्छ ।

 प्रोफेसनल अकाउन्टबाट अन्य व्यक्तिलाई साथी बनाउन सकिन्छ । तर, अरूले तपाईँलाई फ्रेन्ड रिक्वेस्ट भने पठाउन सक्दैनन् । तपाईँसँग जोडिन चाहेको व्यक्तिले तपाईँलाई फलो गर्नुपर्ने हुन्छ । यदि तपाईँ फलो गरेको व्यक्तिलाई साथी बनाउन चाहनुहुन्छ भने फ्रेन्ड रिक्वेस्ट पठाउन सक्नुहुन्छ ।

यसरी हटाउनुहोस् प्रोफेसनल मोड

-सबैभन्दा पहिले फेसबुक एप खोल्नुहोस् ।

-अब दायाँपट्टि रहेको तीन ओटा लाइनमा क्लिक गर्नुहोस् ।

-त्यसपछि आफ्नो प्रोफाइल पिक्चरमा क्लिक गरी प्रोफाइलमा जानुहोस् ।

- 'एडिट प्रोफाइल'को छेउमा रहेको तीन ओटा डटमा क्लिक गर्नुहोस् ।

-त्यसपछि अन्तिमभन्दा एक स्टेपमाथि रहेको टर्न अप प्रोफेसनल मोडमा क्लिक गर्नुहोस् ।

-अब तपाईँको फेसबुक प्रोफाइल पुरानै अवस्थामा फिर्ता आउँछ ।

पछिल्लो अध्यावधिक: कात्तिक २४, २०७९ १८:५९