close

अव्यवस्थित तार हटाउने काम भोलिदेखि, यी ठाउँमा केही समय इन्टरनेट सेवा अवरुद्ध हुनसक्ने

टेकपाना टेकपाना

कात्तिक २५, २०७९ २०:५५

अव्यवस्थित तार हटाउने काम भोलिदेखि, यी ठाउँमा केही समय इन्टरनेट सेवा अवरुद्ध हुनसक्ने

काठमाडौं । इन्टरनेट सेवा प्रदायकहरूले भोलिदेखि पुनः अव्यवस्थित तार हटाउन थाल्ने भएका छन् । निजी इन्टरनेट सेवा प्रदायकहरूको छाता संगठन इन्टरनेट सेवा प्रदायक संघ (आईस्पान)ले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सिंहदरबार वरपरका क्षेत्रबाट अव्यवस्थित तार हटाउन लागेको जानकारी दिएको छ ।

यसअन्तर्गत भाेलि पुतलीसडक-माइतीघर क्षेत्रबाट तार व्यवस्थापन गरिने आईस्पानले जनाएको छ । त्यसपछि क्रमैसँग माइतीघर-हनुमानथान, हनुमानथान-भाटभटेनी सुपरमार्केट, हनुमानथान-अनामनगर र अनामनगर-पुतलीसडक क्षेत्रका अव्यवस्थित तार हटाइने आईस्पानले जनाएको छ ।

नेपाल विद्युत प्राधिकरण, नेपाल दूरसञ्चार प्राधिकरण, काठमाडौं महानगरपालिका, काठमाडौं उपत्यका ट्राफिक कार्यालय लगायतका अधिकारीहरूकाे उपस्थितिमा तार व्यवस्थापन गर्न लागेकाे आईस्पानका अध्यक्ष सुधिर पराजुलीले जानकारी दिए । उनका अनुसार तार व्यवस्थापनका क्रममा केही समय इन्टरनेट सेवा अवरुद्ध हुनसक्ने छ ।

''इन्टरनेट सेवा अवरुद्ध नहुनेगरी नै तार व्यवस्थापनकाे काम हुनेछ । समस्या आइहाले आधा घण्टा/एक घण्टामै सेवा सञ्चालनमा ल्याउनेछाैं । इन्टरनेट सेवा प्रदायक र अन्य सम्बन्धित निकाय नै व्यवस्थापन कार्यमा सरिक हुने भएकाले सहज हुने विश्वास लिएका छाैं,'' उनले  टेकपानासँग भने ।

यसअघि आईस्पानले पर्यटकीय क्षेत्र ठमेल, टोखा नगरपालिका, न्युरोड, संकटालगायतका क्षेत्रमा तार व्यवस्थापनकाे काम सम्पन्न गरिसकेकाे छ ।

''ती ठाउँमा इन्टरनेट सेवामा समस्या नआउने गरी वर्षौं पुराना र प्रयोगविहीन तार हटाउन सफल भयौं । अब सिंहदरबार वरपरका क्षेत्रबाट पुनः तार व्यवस्थापन गर्ने प्रयासमा जुटेका छौं,'' आईस्पानका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुवास खड्काले भने । 

No description available.

पछिल्लो अध्यावधिक: कात्तिक २५, २०७९ २१:२३