close

फोटो वा भिडिओलाई उत्कृष्ट बनाउने 'एचडीआर' प्रविधि, कसरी गर्छ काम ?

टेकपाना टेकपाना

कात्तिक २६, २०७९ १८:३७

फोटो वा भिडिओलाई उत्कृष्ट बनाउने 'एचडीआर' प्रविधि, कसरी गर्छ काम ?

काठमाडौं । फोटो अथवा भिडिओ एडिट गर्दा होस् वा कुनै टिभीको विज्ञापन हेर्दा, 'एचडीआर' (HDR) भन्ने एउटा शब्द तपाईंले पनि धेरै याद गर्नुभएको होला । एचडीआर अंग्रेजी शब्द 'हाई डाइनामिक रेन्ज' (High Dynamic Range) को छोटो रुप हो ।

एउटा तस्वीर अथवा भिडिओ तयार हुनका लागि प्रकाशको आवश्यकता पर्छ । सोही प्रकाशको गतिशील प्रयोग नै एचडीआर हो । एचडीआरको शाब्दिक अर्थ हो, कुनै पनि छविमा प्रकाशको फरक-फरक स्तर । अर्थात् तस्वीर तथा भिडिओमा फरक किसिमको प्रकाश र रंगहरूको प्रयोगलाई नै एचडीआरको रुपमा बुझिन्छ ।

यसले कुनै पनि तस्वीरमा भएको सबैभन्दा उज्यालो अथवा अँध्यारोको स्तर वा भनौं भिन्नतालाई देखाउँछ । कुनै पनि भिडिओलाई फरक रंगहरूमार्फत प्रस्तुत गर्ने माध्यम नै एचडीआर हाे ।

यसले भिडिओको प्रस्तुतिलाई उत्कृष्ट बनाउन मद्दत गर्छ । यसैले आजको दिनमा यसको महत्त्व थप बढ्दै गएको छ । मानव आँखाका लागि सबैभन्दा आवश्यक कुरा हो 'कन्ट्रास्ट' अर्थात् फरक रंगहरू, जसको उत्कृष्ट प्रस्तुति दिन एचाडीआरले मद्दत गर्छ ।  

आजको दिनमा निर्माण हुने टेलिभिजनहरूमा एचडीआर सुविधा हुन्छ ।  प्रविधिको विकासले मानिसहरूले हेर्ने तस्वीरमा भएको वस्तुको हरेक रंग थप उज्यालो र सटिक वा निकै अँध्यारो देखिन्छ । 


एचडीआर प्रविधि के हो ? 

एचडीआरले प्यानल टेक्नोलोजी प्रयोग गर्छ । एचडीआरमा उत्पादित सामग्री हेर्नको लागि एचडीआरसँगै मिल्ने डिस्प्ले हुन आवश्यक छ । पछिल्लो समयमा उत्पादन हुने हरेक प्रकारका ल्यापटप, ट्याब्लेट, फोन अथवा टिभीमा एचडीआर प्रविधि प्रयोग भएको हुन्छ ।

एचडीआर उपलब्ध डिभाइसले ब्याकलाइट प्रणाली प्रयोग गर्छ, जसले लगभग १००० निट्सको उच्च ब्राइटनेस वा त्योभन्दा बढी आउटपुट दिनसक्छ, जब कि सामान्य टेलिभिजनहरूमा १०० निट्स ब्राइटनेस मात्र हुने गर्छ ।

निट्स भनेको प्रकाश हो । एचडीआरले कुनै तस्वीरमा समान रुपमा निट्स प्रयोग गरेको हुँदैन । यसले कुनै निश्चित भागहरूमा उच्चतम् उज्यालो दिने अथवा अँध्यारो बनाउने काम गर्छ । यसको अर्थ सबैले १००० निट्सकै एचडीआर प्रयोग गर्छन् भन्ने हुँदैन ।

कुनै डिस्प्ले १००० निट्सको हुन्छ भने कुनै ८०० निट्सको मात्र हुने गर्छ । यसलाई भिडिओ र फोटोको लागि भने फरक-फरक रुपमा नै बुझ्नुपर्ने हुन्छ । टिभी वा भिडियो एचडीआर धेरै रोमाञ्चक हुन्छ; यो धेरै उज्यालो, थप रङ र कन्ट्रास्टको साथ भिडियो सामग्री प्रदर्शन गर्ने फरक तरिका हो ।

तर फोटो एचडीआर भने फरक प्रक्रिया हो । फोटो एचडीआरले दुई वा दुईभन्दा बढी फरक तस्वीरहरू प्रयोग गर्दै तिनीहरूलाई एकसाथ जोडेर प्रत्येकबाट फरक रंगहरू लिएर एउटा नयाँ उत्पादन सिर्जना गर्दछ ।  

एचडीआरका प्रकार र काम

सामान्यतया बजारमा तीन प्रकारका एचडीआर छन्; एचडीआर १०, एचडीआर १० प्लस र डल्बी भिजन । यी तीनैको प्रस्तुति फरक-फरक छन् भने तीन ओटै एचडीआर फर्म्याटको फाइदा र बेफाइदा पनि फरक-फरक छन् । यिनीहरू एक-अर्कामा जोडिएका हुदैँनन् ।

एचडीआर १० 

एचडीआर १० एक आधारभूत प्रकार हो । यो सामान्य एचडीआर हो, जसमा एक अर्बभन्दा बढी रंगहरू प्रयोग गरेर १० बिटको भिडिओ सामग्री तयार गर्न सकिन्छ । एचडीआर १० मा आधारित भिडिओ हेर्नको लागि डिभाइसमा एचडीआर सपोर्ट गर्नुपर्ने हुन्छ ।

एचडीआर १० ले डिस्प्लेलाई कत्तिको उज्यालो सामग्री आवश्यक छ भनेर बताउनसक्छ । यसले सामग्रीको लागि आवश्यक प्रकाशको विषयमा डिभाइसलाई खबर गर्छ र उपलब्ध पूरा भिडिओ अथवा चलचित्रको लागि सोही प्रकाश प्रयोग हुन्छ । सामान्यतया अहिलेको एक्सबक्स तथा प्लेस्टेसनहरूमा एचडीआर १० प्रयोग गरिएको हुन्छ ।  

डल्बी भिजन 

डल्बी भिजन अहिलेको निकै चलेको डिस्प्ले फिचर हो । अन्य एचडीआरका प्रकार भन्दा डल्बी भिजन फरक छ किनभने यसले इन्ड-टु-इन्ड एचडीआर प्रक्रिया प्रयोग गर्छ । यसको अर्थ हो कुनै पनि वस्तु खिचेर प्रशोधन भई उत्पादन भएर प्रस्तुत गरिँदासम्म उक्त वस्तुको सूचना अथवा यो सबै प्रक्रिया भइरहँदा यसमा प्रयोग हुने सूचनालाई यसले सुरक्षा दिन्छ ।

यसले पनि एचडीआर १० ले जस्तै सामग्री अनुसार कति प्रकाश आवश्यक छ भन्ने जानकारी उपलब्ध गराउँछ । तर एचडीआर १० भन्दा एक कदम अगाडि आएर डल्बी भिजनले फरक-फरक सामग्रीको लागि फरक-फरक प्रकाशको सुझाव दिन्छ ।

एचडीआर १० ले एकपटक लक्षित भएको प्रकाश नै सम्पूर्ण भिडिओमा प्रयोग गर्दछ । डल्बी भिजनले करिब ६८ अर्ब रंगहरू प्रदान गर्छ । आजभोलिका धेरैजसो स्मार्टफोनमा पनि डल्बी भिजन सपोर्ट गर्ने डिस्प्लेहरू प्रयोग गर्न थालिएको छ । 

एचडीआर १० प्लस 

एचडीआर १० प्लस एचडीआर १० कै अपग्रेडेड भर्सन हो । यसले डाइनामिक मेटाडेटा प्रयोग गर्दै डिस्प्लेमा कति प्रकाश आवश्यक छ भनेर बताउँछ । तर एचडीआर १० र डल्बी भिजनले भन्दा पनि बढी तथ्य प्रयोग गरेर यसले प्रकाशको आवश्यकताको पहिचान गर्दछ । 

यसको अर्थ हो, एचडीआर १० प्लसले एउटा पूरा भिडिओभित्र फरक-फरक फ्रेम, फरक-फरक दृश्य अथवा फरक-फरक सामग्रीका लागि आवश्यकताअुनसार भिन्न-भिन्न प्रकाश प्रवाह गर्छ । यसले गर्दा पूरा भिडिओ हेर्दासम्म प्रकाशको मात्रा मिलेको हुन्छ ।

पछिल्लो अध्यावधिक: कात्तिक २६, २०७९ १८:५६