close

यूटीएलको फ्रिक्वेन्सी खोस्दै प्राधिकरण, नयाँ मोबाइल सेवाप्रदायक भित्रिने सम्भावना बढ्यो

टेकपाना टेकपाना

कात्तिक २६, २०७९ १८:५४

यूटीएलको फ्रिक्वेन्सी खोस्दै प्राधिकरण, नयाँ मोबाइल सेवाप्रदायक भित्रिने सम्भावना बढ्यो

काठमाडौं । नेपाल दूरसञ्चार प्रधिकरणले यूनाइटेड टेलिकम लिमिटेड (यूटीएल)सँग रहेको फ्रिक्वेन्सी खोस्ने प्रक्रिया अगाडि बढाएको छ । गएको १८ गते शुक्रबार बसेको प्राधिकरण बोर्ड बैंठकले कम्पनीसँग रहेको फ्रिक्वेन्सी फिर्ता लिन स्पष्टीकरण सोध्ने निर्णय लिएको हो ।

वर्षौँदेखि बन्द अवस्थामा रहेको र सरकारी बक्यौता रकमसमेत भुक्तानी नगरेको भन्दै नियामकले यसअघि नै उक्त कम्पनीको अनुमतिपत्र खारेजीको प्रक्रिया अगाडि बढाएको थियो । तर त्यसविरुद्ध उजुरीमा गएको कम्पनीको पक्षमा सर्वोच्च अदालते अन्तरिम आदेश दिएपछि उक्त विषय बीचैमा रोकिएको छ ।

२०७९ भदौ १९ सम्म यूटीएलले सरकारलाई लाइसेन्स शुल्कबापत दुई अर्ब १५ करोड र करिब दुई अर्ब फ्रिक्वेन्सी दस्तुर गरी कूल चार अर्ब १५ करोड रुपैयाँ बुझाउन बाँकी छ । यस्तोमा नियामकले कम्पनीको नाममा रहेको फ्रिक्वेन्सी फिर्ता लिने तयारी थालेको हो ।

यूटीएलको नाममा ८५० मेगाहर्ज ब्यान्डमा २.५ मेगाहर्ज (पेयर्ड), ९०० मेगाहर्ज ब्यान्डमा ५ मेगाहर्ज (पेयर्ड), १८०० मेगाहर्ज ब्यान्डमा १२ मेगाहर्ज (पेयर्ड) गरी कूल १९.५ मेगाहर्ज (एफडीडी) फ्रिक्वेन्सी रहेको छ । कम्पनीको कार्यालय नरहेको र सम्पर्क व्यक्तिसमेत उपलब्ध नभएको अवस्थामा यूटीएललाई स्पष्टीकरणको पत्राचार कसरी गर्ने भन्ने विषय भने दुविधात्मक छ ।

कुनै पनि हिसाबले कम्पनीसँग सम्पर्क कायम नभएको अवस्थामा सार्वजनिक सूचना प्रकाशित गरेर स्पष्टीकरण माग गर्ने र जवाफ प्राप्त नभएमा फ्रिक्वेन्सी फिर्ताको निर्णय लिइने प्राधिकरण बोर्ड निकट सूत्रले जनाएको छ । प्राधिकरणको तयारी अनुरूप यूटीएलसँग रहेको सबै फ्रिक्वेन्सी फिर्ता हुनेछ ।

यूटीएलको फ्रिक्वेन्सी फिर्ता भएसँगै नयाँ मोबाइल सेवा प्रदायक भित्रिने सम्भावना समेत बढ्ने अपेक्षा गरिएको छ । त्यसो त लामो समयदेखि मोबाइल सेवाको लाइसेन्सको पर्खाइमा रहेको सीजी टेलिकमले त्यसका लागि नियामकसँग सम्वाद जारी राखेको छ ।

पछिल्लो अध्यावधिक: कात्तिक २६, २०७९ १८:५४