close

टिकटकमा महिलाप्रति घृणा फैलाएर 'स्टार' बन्दै एन्ड्री टेट

टेकपाना टेकपाना

कात्तिक २८, २०७९ १०:५४

टिकटकमा महिलाप्रति घृणा फैलाएर 'स्टार' बन्दै एन्ड्री टेट

काठमाडौं । महिलाहरू घरमै बस्ने जात हुन्, तिनीहरूलाई गाडी हाँक्न आउँदैन, महिलाहरू पुरुषका सम्पत्ति हुन्, रातारात टिकटक स्टार बनेका एन्ड्री टेटको यो अभिव्यक्ति टिकटकमा निकै चर्चित छ । 
उनको महिलाद्धेषी अभिव्यक्ति यत्तिमै सीमित छैनन् ।

बलात्कार पीडित महिलाले आफ्नो जिम्मेवारी आफैं लिनुपर्ने भन्ने गैरसंवेदनशील सन्देश पनि उनी दिइरहेका हुन्छन् । अझ एक कदम अगाडि बढ्दै पुरुषहरूलाई उनी सल्लाह दिन्छन्, "१८–१९ वर्षका युवतीलाई सजिलै प्रभावित पार्न सकिने भएकाले उनीहरूलाई डेट गर्नुपर्छ ।"

बेलायती मुलका अमेरिकी किकबक्सर एन्ड्री टेट भिडियोमा बन्दुक बोकेको, विलासी कारमा बसेको र सिगार तानिरहेका फोटो र भिडियो पोष्ट गर्छन् । टिकटकमा भाइरल भएका अधिकांश भिडियोमा उनी महिलाविरुद्धका अभिव्यक्ति दिइरहेका भेटिन्छन् । 

‘चक्कु घाँटीमा राखेर चुप लाग भन्ने हो,’ आफूलाई कुनै महिलाले धोका दिएको आरोप लगाए आफू के गर्छु भन्ने वर्णन गर्दै एक भिडियोमा टेटले भनेका छन् । ‘झ्यालबाट फुत्त फाल्दिनुपर्छ,’ महिलाहरूलाई गर्ने व्यवहारको विषयमा अर्को भिडियोमा उनले भनेका छन् । 

३५ वर्षीय अमेरिकी धनाढ्य युवाको यो अभिव्यक्ति कुनै डार्क वेब वा गोप्य स्थानमा भेटिएका होइनन् । अहिले विश्वभर सबैभन्दा प्रभावशालि बनेको भिडियो शेयरिङ एप टिकटकमा उनका अभिव्यक्ति छ्यापछ्याप्ती भेटिन्छन् । टिकटकमा उनका विभिन्न भिडियो ११ अर्ब भन्दा बढी पटक हेरिएको छ । 

अरूलाई पैसा कमाउने तरिका सिकाउने दाबी गर्दै टेट अहिले इन्टरनेट टिकटकमा मात्रै नभई इन्टरनेट दुनियाँमै सबैभन्दा बढी खोजी गरिने व्यक्ति बनेका छन् । जुलाई महिनामा मात्रै उनले सबैभन्दा बढी गुगल सर्च गरिने व्यक्तिमा अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प वा किम कार्दसिनजस्ता चर्चित व्यक्तिहरूलाई समेत पछि पारेका छन् ।

टेट एकाएक वा झुक्किएर सोसल मिडियामा चर्चित बनेका होइनन् । उनको महिलाद्धेषी अभिव्यक्ति मन पराउनेहरूले सामाजिक सञ्जालमा उनको अभिव्यक्तिलाई फैलाउने अभियान नै चलाएका छन् । टेटको निजी अनलाइन एकेडेमी पनि छ । हस्टलर्स युनिभर्सिटी नाम दिइएको यो अनलाइन कम्युनिटीमार्फत् नै उनका विवादास्पद अभिव्यक्तिहरू सामाजिक सञ्जालमा फैलाउने कामको संयोजन गरिन्छ ।

उनको विवादास्पद अभिव्यक्ति मनपराउने लाखौं समर्थकहरुले उनको भिडियो क्लिपलाई यसरी फैलाइरहेका छन् कि यसले टिकटकको एल्गोरिदम नै प्रभावित भएको र कृत्रिम रुपमा उनको भिडियो हाबी भइरहेको विज्ञहरु नै बताउन थालेका  छन् । 

सामाजिक सञ्जालमा चर्चित हुने उनको रणनीतिले उनको फ्यान फलोइङ मात्रै बढेको छैन, उनको निजी अनलाइन एकेडेमीमा मासिक ५ हजार रूपैयाँ भन्दा बढी शुल्क तिरेर जोडिने युवाहरूको संख्या नै १ लाख २७ हजार भन्दा बढी पुगिसकेको छ । यसबाट मात्रै उनले करोडौं रूपैयाँ आम्दानी गरिसकेका छन् । उनको अनलाइन एकेडेमीमा मासिक रकम तिरेर भर्ना हुने युवाहरू अमेरिकी र बेलायती छन् । 

आफ्नो प्लेटफर्ममा हिंसात्मक र महिलाद्धेषी सामग्रीहरू प्रतिबन्ध गर्ने टिकटकको नीतिको बाबजुद पनि टेट आफ्नो विवादास्पद अभिव्यक्ति फैलाइरहेका छन् । टेटको यस्ता अभिव्यक्ति यसैगरी निस्फिक्री फैलिरहँदा युवाहरूको मष्तिष्कमा महिलाद्धेषी भावना पैदा गर्ने जोखिम पनि उत्तिकै छ । 

बेलायतको लुटनमा जन्मिएका टेटको विवादास्पद अभिव्यक्तिको फेहरस्त निकै लामो छ । उनी डेढ दशकअघि टेलिभिजनमा कार्यक्रम उत्पादकको रुपमा काम गर्थे भने खाली समयमा व्यावसायिक किक बक्सिङ सिक्ने गर्थे । लगत्तै, किकबक्सिङमा उनले उपाधिहरू पनि जितेका थिए ।

सन् २०१६ मा अमेरिकी टेलिभिजन रियालीटी शो बिग ब्रदरमा सहभागी भएपछि भने उनी सार्वजनिक वृत्तमा खराब कारणले चर्चामा रहे । शोमा रहेकी एक महिलालाई बेल्टले कुटेको भिडियो सार्वजनिक भएपनि उनी शोबाट ​निकालिए । फेरि अर्को भिडियो समेत बाहिरियो जसमा उनी ति पीडित महिलालाई आफूले कुटेर बनाएको डाम गन्न लगाइरहेका थिए ।  

यो पछि पनि उनी विवादमा आइरहे । आफ्नो ट्वीटर ह्याण्डलबाट घृणात्मक अभिव्यक्ति दिएपछि ट्वीटरले उनलाई प्रतिबन्ध लगाएको छ । डिप्रेसन भन्ने रोग हुँदैन भन्ने अभिव्यक्ति दिएपछि सन् २०१७ मा पनि उनको तिव्र आलोचना भयो । मीटू अभियानलाई लक्षित गर्दै उनले बलात्कार घटनामा पीडित महिलाहरुले आफ्नो जिम्मेवारी आफैं लिनुपर्ने अभिव्यक्ति दिए । 

तर, महिलाद्धेषी र घृणात्मक अभिव्यक्तिका कारण भएको आफ्नो नकारात्मक चर्चालाई टेटले आफ्नो व्यावसायिक लाभको लागि उपयोग गरे । अनि, विवादास्पद व्यक्तिहरूसँग पोडकास्टजस्ता संवादमा सहभागी भएर आफ्नो विवादास्पद अभिव्यक्तिलाई थप फैलाउन प्रयासरत रहे । 

टिकटकमा चर्चित हुनुअघि पनि उनी महिलाद्धेषी अभिव्यक्तिका कारण विवादमा आइरहेका थिए । घरी उनी महिलाहरूलाई आमा र असल श्रीमती बन्न प्रेरित नगरेका कारण पश्चिमा सभ्यता सकिने अभिव्यक्ति दिन्थे भने घरी महिलाहरूलाई कुटेको र पिटेको कुरा सगौरब बताउँथे । 

एक अन्तर्वार्तामा टेट आफूले एक क्लबमा झगडा गदा एकजना महिलाको चिउँडो भाँचिने गरी मुक्का हानेको बताएका छन् । फेरि अर्को भिडियोमा उनले क्लबमा महिलालाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले आफूलाई दुई दिन हिरासतमा राखेको सगौरब बताएका छन् । 

बेलायतमा रहँदा यस्तै आरोपमा प्रहरीले अनुसन्धान गरिरहँदा आफू रोमानिया भागेको पनि उनी अन्तर्वार्तामै बताइरहेका हुन्छन् । गत वर्ष मात्रै रोमानियामा एक अमेरिकी महिलालाई जबरजस्ती आफ्नो घर लगेको आरोपमा प्रहरीले उनको घरमा छापा मारेको थियो । प्रहरीले उनलाई सोधपुछपछि छाडे पनि बलात्कार आरोप र मानव बेचबिखनको आरोपमा उनीमाथि अनुसन्धान भइरहेको छ । 

टिकटकमा टेटको लोकप्रियता बढेको भए पनि केही सातायता उनको भिडियो हेर्ने दर ह्वात्तै बढेको छ । अगस्ट महिनामा मात्रै उनको नाम ट्याग भएका भिडियो एक अर्ब पटकभन्दा बढी हेरिएको छ । टिकटकमा यस्ता भिडियो टेट आफैंले हालेका होइनन् । उनको नाम र फोटो प्रयोग गरी खोलिएका सयौं टिकटक अकाउन्टमा उनको भिडियो हालिएका छन्, जुन उनका समर्थकहरूले चलाएका हुन् । तीमध्ये अधिकांश उनको अनलाइन एकेडेमीका सदस्य हुन् । 

टेटको अनलाइन एकेडेमी हस्टलर्स युनिभर्सिटीमा भर्ना भएपनि क्रिप्टोमा लगानी र अरूलाई भर्ना प्रक्रियामा सहभागी गराएर मासिक १० हजार डलरसम्म कमाउन सकिने आश्वासन देखाइने भएकाले किशोरावस्थाका धेरै मानिसहरू यसमा आकर्षित देखिन्छन् । यहाँ भर्ना हुन चाहनेहरूलाई विवादास्पद अभिव्यक्ति फैलाएर भाइरल हुन प्रेरित गरिन्छ र यसले उनीहरूलाई सफल व्यक्ति बनाउने दाबी गरिन्छ ।

‘सफल हुनको लागि कमेन्ट र कन्ट्रोभर्सी आवश्यक हुन्छ,’ अनलाइन एकेडेमीमा भर्ना हुन चाहनेहरूलाई यस्तै कुरा सिकाइन्छ,‘सफल हुनको लागि ६०–७० प्रतिशत प्रशंसक र ३०–४० प्रतिशत दुस्मन चाहिन्छ ।’ टेटको धेरै भिडियो हेर्दा सुरुमा रमाइलो वा हावादारी लाग्छन् । टेट आफ्नै शैलीमा युवाहरूलाई विभिन्न बहानामा उक्साइरहेका हुन्छन् । एक भिडियोमा उनले धाराको पानी गरिबले खाने भन्दै महँगो पानी किनेर खाने हैसियत बनाउन युवाहरूलाई चुनौती दिन्छन् । सोही भिडियोमा उनी बिरालो पाल्ने युवालाई व्यङ्ग्य गर्दै वास्तविक पुरुषहरूले कुकरलाई मात्रै मन पराउँछन् भन्ने अभिव्यक्ति दिन्छन् । 

तर, उनका भिडियोमा आउने अधिकांश अभिव्यक्तिले टिकटकको कम्युनिटी गाइडलाइन उल्लंघन गरेका छन् । ‘महिलाद्धेषीसहित घृणात्मक अवधारणाको प्रशंसा, प्रवर्द्धन, समर्थन वा गौरवीकरण गर्ने सामग्रीहरू प्रतिबन्ध लगाइनेछ,’ ट्वीटरको गाइडलाइनमा लेखिएको छ । साथै, कुनै व्यक्तिको नाम र तस्विर प्रयोग गरी बनाइएको अकाउन्ट समेत प्रतिबन्ध लगाउने लेखिएको छ ।  

तर, टेटको हकमा टिकटकले प्रभावकारी कदम चाल्न सकेको छैन । बरु, उनको महिलाद्धेषी र घृणात्मक अभिव्यक्ति अनलाइनमा लगातार फैलिरहँदा बालबालिका र किशोरावस्थाका प्रयोगकर्ताहरूमा नकारात्मक प्रभाव पार्न सक्ने सम्भावना उत्तिकै टड्कारो बन्दैछ ।

–दी गाडियनमा प्रकाशित सामग्रीको अनुवादित र सम्पादित अंश ।

पछिल्लो अध्यावधिक: कात्तिक २९, २०७९ १३:४५