close

आधिकारिक रूपमा किन नेपाल आउँदैन गुगल पिक्सेल फोन ?

टेकपाना टेकपाना

कात्तिक २८, २०७९ १२:२८

आधिकारिक रूपमा किन नेपाल आउँदैन गुगल पिक्सेल फोन ?

काठमाडौं । गुगलको चर्चित पिक्सेल सिरिज फ्ल्यागशिप स्मार्टफोन नेपाल लगायत विश्वका अधिकांश देशमा आधिकारिक रूपमा बिक्री हुँदैन । एन्ड्रोइड अपरेटिङ सिस्टममा कुनै फिचर वा अपडेट आउँदा पिक्सेल फोनका प्रयोगकर्ताले उक्त अपडेट अगाडि नै पाउँछन् । आकर्षक डिजाइन, फिचर र गुगलको फोन भएकाले पिक्सेल प्रायः प्रयोगकर्ताको रोजाइमा पर्छ । 

तर नेपालमा भने पिक्सेल आधिकारिक रुपमा बिक्री हुँदैन । यदि प्रयोगकर्ताले बाहिरबाट फोन ल्याएका छन् भने पनि नेपालमा त्यसका केही फिचरहरू सपोर्ट गर्दैनन् । पछिल्लो समय नेपाल टेलिकमले उपलब्ध गराउन सुरु गरेको ई-सिम, पिक्सेल फोनमा सपोर्ट भएको थिएन । यद्यपि नेपाल टेलिकमले ई-सिम सपोर्ट गर्ने फोनको सूचीमा पिक्सेल फोन पनि समावेश गरेको थियो ।

गुगलको पिक्सेल सिरिज अन्तर्गतको फ्लयागशिप फोन अधिकांश देशमा उपलब्ध नहुनुका फरक फरक कारण रहेका छन् ।

केही सीमित देशहरूमा मात्र पिक्सेल सिरिजका फोन बिक्री गर्नुका पछाडि कम्पनीको आफ्नै रणनीति रहेको छ । गुगल त्यस्ता देशमा आफ्नो पिक्सेल फोन बिक्री गर्दैन जहाँ अन्य स्मार्टफोनको दबदबा बढी छ । नेपालमा आउने चिनियाँ स्मार्टफोनको मूल्य तुलनात्मक रूपमा सस्तो र राम्रै फिचर भएका हुन्छन् । 

गुगल पिक्सेल फोनमा एन्ड्रोइड अपरेटिङ सिस्टम अनुभव गर्न र आकर्षक क्यामेराका लागि महँगो मूल्य तिर्न जोकोही तयार हुँदैनन् । त्यसैले गुगलले त्यस्ता क्षेत्र छानेको हुन्छ जहाँ गुगलका प्रशंसक बढी छन् । जोखिम लिएर भए पनि पिक्सेल फोन खरिद गर्ने ग्राहकहरू भएको देशमा मात्रै गुगल पिक्सेल फोन बढी बिक्री हुन्छ ।

कम्पनीको रणनीति प्रशंसकतर्फ बढी केन्द्रित भए पनि अमेरिका र जापान मात्र किन रोजाइमा पर्छन् भन्ने कुरा गुगलले खुलाएको छैन । एसियाली क्षेत्रमा चिनियाँ फोनले जति बजार लिएको छ युरोपेली बजारमा त्यति नलिएको भएकाले गुगलले युरोपका केही देशमा मात्र फोन बिक्री गरेको हुनसक्ने अनुमान छ ।

नेपालमा भने गुगल पिक्सेल फोनको आधिकारिक बिक्रेता कोही नभएका कारण फोन नआएको बताउँछन् नेपालका लागि एप्पलको आधिकारिक बिक्रेता जेन नेक्स्टका सीईओ दीपक सिंह । "कुनै पनि कम्पनीको प्रडक्टको आधिकारिक बिक्रेता बन्नका लागि सो कम्पनीको मापदण्ड पुरा गरेको हुनुपर्छ," उनी भन्छन्, "तुलनात्मक रूपमा पिक्सेल फोन महँगो पर्ने भएकाले नेपालमा उक्त फोन बिक्री गर्न गाह्रो छ । बिक्री गर्न नसकेपछि मापदण्ड पुरा हुँदैन । त्यसैले पिक्सेल फोनका लागि कोही बिक्रेता बन्न चाहँदैनन् । यसकारण नेपालमा आधिकारिक रूपमा पिक्सेल फोन बिक्री हुँदैन ।"

विगतमा कोभिड महामारीले गर्दा कम्पनीले चिपसेट तथा डिस्प्लेको अभाव सामना गर्नुपरेको थियो । जसले गर्दा त्यस समयमा पिक्सेल फोनको आपूर्तिमा समस्या भयो । अहिले भने गुगलले प्रशंसक भएको बजार खोज्दा नेपाल उक्त कम्पनीको रोजाइमा परेन । त्यस्तै नेपाल सरकारले तीन सय डलरभन्दा माथिका फोन पूर्ण रूपमा प्रतिबन्ध लगाएको छ । गुगलले हालसालै बनजारमा ल्याएको पिक्सेल ७ सिरिज फोन नेपाल आउन सक्ने भए पनि प्रतिबन्धका कारण आधिकारिक रूपमा भित्रिन सकेको छैन ।

यद्यपि नेपालमा पनि पिक्सेल प्रयोगकर्ता भने रहेको उनको दाबी छ । आधिकारिक रुपमा आयात नभए पनि अनधिकृत रुपमा भित्रिएको पिक्सेल फोन खरिद गर्ने प्रयोगकर्ता अथवा विदेशबाट कसैले उपहार ल्याएर प्रयोग गर्ने प्रयोगकर्ता भने रहेका छन् ।  

 

पछिल्लो अध्यावधिक: कात्तिक २८, २०७९ १२:२८