close

विराटनगर महानगरपालिकाको उत्कृष्ट लोगो बनाउनेलाई १ लाख पुरस्कार

टेकपाना टेकपाना

कात्तिक २८, २०७९ १७:५८

विराटनगर महानगरपालिकाको उत्कृष्ट लोगो बनाउनेलाई १ लाख पुरस्कार

काठमाडौं । विराटनगर महानगरपालिकाको उत्कृष्ट लोगो बनाउने डिजाइनरले एक लाख रुपैयाँ पुरस्कार पाउने भएका छन् । सोमबार एक सूचना जारी गर्दै महानगरले आफ्नो प्रतीक चिन्ह (लोगो) बनाउन इच्छुक डिजाइनरमाझ आह्वान गरेको हाे । 

"विराटनगर महानगरपालिका, नगर कार्यपालिकाको मिति २०७९/०७/०३ को निर्णयानुसार विराटनगर महानगरपालिकाको प्रतीक चिन्ह (लोगो) निर्माण गरी प्रयोगमा ल्याउने प्रयोजनार्थ लोगो डिजाइन गर्न इच्छुक व्यक्ति वा संस्थाले डिजाइन गरी आफैँ उपस्थित भई वा हुलाक मार्फत वा ईमेलमार्फत सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र पेस गर्नुहुन अनुराेध छ," सूचनामा भनिएकाे छ । 

डिजाइनरले लोगो बनाउँदा विभिन्न शर्तहरू पालना गरेर बनाउनुपर्ने महानगरले उल्लेख गरेकाे छ । यसअन्तर्गत लोगोमा विराटनगर महानगरपालिकाको ऐतिहासिक, भौगोलिक, प्राकृतिक, सामाजिक, सांस्कृतिक एवम् विशिष्ट मौलिक पहिचान झल्कने हुनुपर्ने छ ।

यसैगरी लोगोमा नेपालको झण्डा र महानगरको नाम अनिवार्य समावेश हुनुपर्ने छ ।

"कुनै पनि धार्मिक, जातीय तथा साम्प्रदायिक विभेद झल्कने, सामाजिक सद्भावमा खलल पुग्ने तथा नेपालको सार्वभौमिकता, एकता र अखण्डतामा प्रतिकूल असर गर्ने सङ्केत प्रयोग गर्न पाइने छैन," सूचनामा लेखिएको छ, "प्रयोग गरिएका सङ्केतहरूको संक्षिप्त व्याख्या समेत गर्नुपर्ने छ ।"

डिजाइनरले तयार पारेको उक्त लोगो बहुरङ्ग (मल्टीकलर) मा छपाई गरी प्रयोगमा ल्याउन सकिने हुनुपर्ने महानगरले जनाएको छ । याद गर्नुहोस् उक्त लोगो मौलिक एवं अन्यत्रबाट नक्कल गरिएको पाइए अस्वीकार हुनेछ ।

लोगो छनाेटसम्बन्धी सम्पूर्ण अधिकार नगर कार्यपालिकाको कार्यालयको हुने उक्त सूचनामा उल्लेख गरिएको छ । यसैगरी छनौट भएको लोगोको सर्वाधिकार महानगरपालिकामा रहनेछ भने उक्त प्रतीक चिन्ह अन्यत्र प्रयोग गर्न पाइने छैन ।

प्राप्त भएका कुनै लोगोहरूमा आवश्यक परिमार्जन गर्न आग्रह गरिएमा सो अनुसार परिमार्जन गरिदिनु महानगरपालिकाले जनाएको छ ।

छनौट भएको उत्कृष्ट लोगोलाई महानगरपालिकाले आफ्नो लोगोको रुपमा प्रयोग गर्नेछ र उक्त लोगोको डिजाइनकर्तालाई करसहित एक लाख रुपैयाँ पुरस्कार दिनेछ ।

लोगो मंसिर १९ गतेसम्म हुलाकमार्फत वा महानगरपालिकाको ईमेल ([email protected])मा मेल गरेर पठाउनुपर्ने महानगरले उल्लेख गरेकाे छ । 

 

पछिल्लो अध्यावधिक: कात्तिक २८, २०७९ १७:५८