close

यस्ता छन् सर्वाधिक प्रयोग हुने १० कमजोर पासवर्ड, कतै तपाईँको त परेन ?

टेकपाना टेकपाना

कात्तिक २९, २०७९ १९:२७

यस्ता छन् सर्वाधिक प्रयोग हुने १० कमजोर पासवर्ड, कतै तपाईँको त परेन ?

काठमाडौं । इन्टरनेटमा आफूलाई सुरक्षित राख्न विभिन्न संस्था, मिडिया वा अन्य निकायले बलियाे पासवर्ड राख्न सुझाव दिइरहेका हुन्छन् । तर पनि लाखाैं प्रयाेगकर्ताले अरूले सहजै अनुमान गर्नसक्ने गरी पासवर्ड प्रयाेग गर्ने गरेको पाइएको छ ।

विशेषगरी चर्चित शब्द, सेलिब्रेटीको नाम, सहर, जनावर वा कीबोर्डमा रहेका क्रमबद्ध अक्षरहरू पासवर्डका रूपमा राख्नेको कमी छैन । आफूलाई सम्झिन गाह्रो हुने भएपछि कुनै पनि अनलाइन अकाउन्टका लागि प्रायः मानिसहरू सजिलो पासवर्ड राख्छन् ।

हालै पाँच करोड ६० लाख बढी डेटा ब्रिच (चोरी वा बहिरिएका डेटा) परीक्षण गर्दा सबैभन्दा बढी प्रयोग भएको पासवर्डमा '123456' परेको साइबरन्युज उल्लेख गरेकाे छ । सन् २०२२ मा यो पासवर्ड एक लाख ११ हजार बढी अकाउन्टका लागि प्रयोग भएको छ ।

विभिन्न कर्मचारीले सिस्टममा पहुँच पाउनका लागि प्रयोग गर्ने डिफल्ट पासवर्डले गर्दा साइबर अपराधीलाई आक्रमण गर्न सहज भएको विज्ञहरू बताउँछन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार एड्मिन, रुट, गेस्ट र सर्भिससँग सम्बन्धित शब्दका पासवर्ड २९ हजार बढी अकाउन्टमा प्रयोग भएको छ ।

लिक तथा ब्रिच भएका डेटामा सर्वेक्षण गर्दा प्रायः प्रयोगकर्ताले ख्यातिप्राप्त व्यक्तिको नाम, गाली गर्ने शब्दहरू, जनावरको नाम, सहर तथा देशको नाम, उनीहरूले सपोर्ट गर्ने खेलकुद समूहको नाम, खानाको प्रकार, महिनाको नाम आदि राख्ने गरेको पाएको हो ।

यस्ता छन् सर्वाधिक प्रयोग हुने कमजोर पासवर्ड

-123456
-12345​
-password​​
-usr 
-123456789 
-1234
-12345678 ​
-qwerty
-147258369
-123

मौसममा ‘summer’ सबैभन्दा बढी प्रयोग भएको पासवर्ड हो भने महिनामा ‘may’ र बारमा ‘monday’ रहेका छन् । त्यस्तै विभिन्न कम्पनीको नाम पासवर्डमा राख्नेको पनि कमी छैन ।

एप्पल र एएमआर कम्पनीको नाम पासवर्डका रूपमा राख्ने प्रयोगकर्ताको अकाउन्ट सङ्ख्या ४३ हजार बढी रहेको छ ।

यसैगरी पेसाहरूमा कुक, हन्टर र होस्ट शब्द सर्वाधिक प्रयोग हुने पासवर्ड हुन् । जनावरको नाम हेर्ने हो भने ant, cat, mouse तीन लाख ८० हजार बढी अकाउन्टमा पासवर्डका रूपमा राखिएको छ ।

पछिल्लो अध्यावधिक: कात्तिक २९, २०७९ १९:२७