close

‘बग बाउन्टी’ थाल्ने नेपालको पहिलो सरकारी निकाय बन्यो प्राधिकरण, ह्याकरले सम्मान पाउने

टेकपाना टेकपाना

कात्तिक २९, २०७९ १९:५८

‘बग बाउन्टी’ थाल्ने नेपालको पहिलो सरकारी निकाय बन्यो प्राधिकरण, ह्याकरले सम्मान पाउने

काठमाडौं । अब नियामक नेपाल दूरसञ्चार प्राधिकरणको वेबसाइटमा रहेका 'बग' (सुरक्षा कमजोरी) पत्ता लगाउने ह्याकरहरूले पुरस्कार स्वरूप सरकारी सम्मानपत्र पाउने भएका छन् । बाउन्टी कार्यक्रम सञ्चालन गर्न प्राधिकरणले केही दिन अघि मात्र नेपालको एकमात्र बगबाउन्टी माध्यम बगभीसँग आपसी समझदारी (एमओयू) गरेको हो ।

समझदारीमा बगभीको क्राउडसोर्स साइबर सेक्युरिटी प्लेटफर्मलाई नियामकले आफ्नो वेबसाइटमा रहेका सुरक्षा कमजोरी पहिचान गर्ने सेवाको रूपमा प्रयोग गर्ने उल्लेख छ । "अब चाँडै नै नेपालमा मोबाइल तथा इन्टरनेट सेवाप्रदायकलाई समेत बगबाउन्टी कार्यक्रममा ल्याउने योजना छ," प्राधिकरणका निर्देशक विजयकुमार रोयले भने ।

त्यसबाट सेवाप्रदायकको वेबसाइट र एप्लिकेसनको सुरक्षामा सुधार हुने उनको भनाई थियो । बगभीका संस्थापक नरेश लाम्गादेले  एक वर्षसम्मका लागि एमओयू गरिएको बताए । “हालका लागि प्राधिकरणलाई हामी बगबाउन्टीको सेवा निःशुल्क रुपमा दिने छौँ,” उनले भने ।

“यसबीचमा उहाँहरूले यसको महत्त्वको बारेमा महसुस गर्न पाउनु हुनेछ । अर्को वर्षदेखि बग पत्ता लगाए बापत साइबर सुरक्षा अनसन्धानकर्मी (ह्याकरहरू)ले अवश्य पनि निश्चित पुरस्कार स्वरूप बाउन्टी रकम पाउने छन् ।”

आफ्ना लागि यो महत्त्वपूर्ण अवसर भएको उल्लेख गर्दै लाम्गादेले यसबाट अब अन्य सरकारी निकायका वेबसाइट, एप्लिकेसन तथा सिस्टम समेत सुरक्षा कमजोरी पत्ता लगाउन बगभीमा जोडिने विश्वास व्यक्त गरे । 

पछिल्लो अध्यावधिक: कात्तिक २९, २०७९ २०:३