close

पूर्व अमेरिकी राष्ट्रपति ट्रम्पमाथि ट्वीटरले लगाएको प्रतिबन्ध फुकाउने मस्कको घोषणा

टेकपाना टेकपाना

मंसिर ४, २०७९ १०:३३

पूर्व अमेरिकी राष्ट्रपति ट्रम्पमाथि ट्वीटरले लगाएको प्रतिबन्ध फुकाउने मस्कको घोषणा

काठमाडौं । एलन मस्कले अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पलाई ट्वीटरमा लागेको प्रतिबन्ध फुकाउने घोषणा गरेका छन् । व्यक्तिगत ट्वीटर 'पोल' (मत सर्वेक्षण) मार्फत मस्कले आफ्नो उक्त निर्णयलाई न्यायोचित ठहर्‍याएका छन् ।

यससँगै ट्रम्पको ट्वीटर अकाउन्ट (realDonaldTrump) र त्यसमा रहेका ट्वीटहरू पुनः पूर्ण रूपमा देख्न सकिने भएको छ । सामाजिक सञ्जाल ट्वीटर खरिद गरे लगत्तै मस्कले 'फराकिला तथा विविध दृष्टिकोण'सहित कन्टेन्ट मोडेसेन काउन्सिल तयार नभएसम्म कुनै पनि अकाउन्ट माथिको प्रतिबन्ध नहटाउने भनेका थिए ।

तर त्यसको साटो मस्कले शुक्रबार साँझ आफ्नो व्यक्तिगत अकाउन्टमा पोल सञ्चालन गरे । "पूर्व राष्ट्रपति ट्रम्पलाई पुनस्थापना गर्न," भन्दै उनले त्यसको पक्ष र विपक्षमा बटन छान्न लगाएका थिए । "भक्स पोपुली, भक्स डेई," उनले फलोअप ट्वीटमा भनेका छन्, ल्याटिन भाषामा त्यसको अर्थ हुन्छ, "जनताको आवाज भगवानको आवाज हो ।"

The people have spoken.

Trump will be reinstated.

Vox Populi, Vox Dei. https://t.co/jmkhFuyfkv

— Elon Musk (@elonmusk) November 20, 2022

मत सर्वेक्षणमा ५२ प्रतिशतले हुन्छ भनेका छन् भने ४८ प्रतिशतले हुन्न भन्ने पक्षमा मत दिएका छन् । त्यसमध्ये कति बोट रहेका थिए भन्ने कुरा स्पष्ट छैन; मस्क आफैले उक्त पोलमा बोटमार्फत आक्रमण भएको उल्लेख गरेका थिए ।

त्यसो त २० प्रतिशत अकाउन्ट फेक तथा बोट रहेको भन्दै मस्क स्वयम् ट्वीटर खरिद गर्ने प्रक्रियाबाट बीचमै बाहिरिन खोजेका थिए । यति मात्र होइन, मस्कले रुस र युक्रेनको विषयमा गरेको विवादास्पद पोलको नतिजालाई लिएर उनले त्यसमा बोट जिम्मेवार भएको उल्लेख गरेका थिए ।

एलन मस्कका अनुसार १३ करोड ४० लाख जनाले उक्त पोल हेरेका थिए, तर एक करोड ५० लाख जनाले मात्रै त्यसमा सहभागिता जनाएका थिए । मस्कले साच्चिकै ट्वीटर पोलमार्फत ट्रम्पमाथिको प्रतिबन्ध हटाउने निर्णय लिएका हुन् अथवा त्यस अघि नै उनको दिमागमा त्यस सम्बन्धि निर्णय बनिसकेको थियो भन्ने कुरा तपाईँ हामी कसैलाई थाहा छैन । 

यस अघि आफ्ना फलोअर माझ ट्वीटर पोल गरेर मस्कले नोभेम्बर २०२१ मा टेस्लाको १० प्रतिशत शेयर बिक्री गरेका थिए । त्यसबेला उनले लेखेका थिए, "परिणाम जस्तो आउने छ, म त्यसै अनुसार गर्नेछु ।"

पछि द वाल स्ट्रिट जर्नलले सेप्टेम्बर महिनामै मस्कले इन्साइड ट्रेडिङको योजना अनुरूप उक्त निर्णय लिइसकेको खुलासा गरेको थियो । जनवरी ६ मा भएको क्यापिटल आक्रमणका क्रममा ट्रम्पको भूमिकालाई मध्यनजर गर्दै भविष्यमा हिंसात्मक गतिविधिलाई थप प्रोत्साहन गर्नसक्ने चिन्ताका बीच ट्वीटरले उनीमाथि ८ जनवरी २०२१ मा प्रतिबन्ध लगाएको थियो । 

त्यसबेला ट्वीटरले ट्रम्पको सन्देशले हिंसात्मक गतिविधिलाई मलजल गर्न तथा प्रोत्साहन गर्न नहुने आफ्नो नीति अलङ्घन गरेको बताएको थियो । त्यसबेला देखि ट्वीटरमा ट्रम्पको अकाउन्टमा ट्वीटको साटो सस्पेन्डेड लेखिएको देखिन्छ ।

ट्वीटर खरिद गर्ने छिनाझप्टीपूर्ण प्रक्रियासँगै मस्कले ट्रम्पको अकाउन्ट पुनःस्थापित गर्ने बताएका थिए । "मलाई लाग्छ कि डोनल्ड ट्रमप्लाई प्रतिबन्ध लगाउनु उचित थिएन," मस्कले गत मे महिनामा भनेका थिए ।

"मलाई त्यो गलत थियो लाग्छ, किन कि देशको ठूलो हिस्सा त्यसमा संलग्न थियो र परिणाम स्वरूप ट्रम्पसँग आवाज नै भएन । त्यसैको जवाफ अब उनीमाथिको प्रतिबन्ध हटाउनु पर्छ भन्ने लाग्छ ।"

यद्यपि ट्रम्पलाई ट्वीटरमा फर्किएर आउन आमन्त्रित गरिएको छ वा छैन भन्ने कुरा स्पष्ट भइसकेको छैन । किन भने ट्वीटरको प्रतिबन्धमा परेपछि ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसल सञ्चालनमा ल्याएका छन् ।

पुनः ट्वीटरमा फर्किन मस्कले गरेको ट्वीटमा जवाफ दिँदै ट्रम्पले आफू आफू ट्रुथ सोसलमै रहने बताएका छन् । "ट्वीटर निकै बोरिङ भइरहेको छ । ट्वीटरमा आउने राम्रा आवाजमाथि उनीहरू कठोर भइरहेका छन् ।"

पछिल्लो अध्यावधिक: मंसिर ४, २०७९ ११:५