close

ल्यापटपको भिडिओ स्ट्रिमिङ टिभीको ठूलो पर्दामा हेर्न चाहनुहुन्छ ? यसो गर्नुहोस्

टेकपाना टेकपाना

मंसिर ४, २०७९ १८:१२

ल्यापटपको भिडिओ स्ट्रिमिङ टिभीको ठूलो पर्दामा हेर्न चाहनुहुन्छ ? यसो गर्नुहोस्

काठमाडौं । चाहे तपाईँलाई प्रिजेन्टेसन दिनका लागि होस् वा साथी तथा परिवारका सदस्यहरूबीच फोटो तथा भिडिओकै लागि किन नहोस्, जब ठूलो स्क्रिन आवश्यक पर्छ, तपाईँले सहजै आफ्नो ल्यापटपलाई टिभीसँग जोड्न सक्नु हुन्छ ।

यसका लागि तपाईँसँग सही किसिमको हार्डवेयर र कम्प्युटरमा कहाँ क्लिक गर्ने भन्ने कुराको जानकारी भए पुग्छ । आज हामी तपाईँलाई तारमार्फत वा तार रहित किसिमले ल्यापटपलाई टिभीसँग जोड्ने तरिका बारे बताउँदै छौँ । 

एचडीएमआई पोर्ट प्रयोग गरी टिभीमा कसरी जोड्ने ल्यापटप ? 

विभिन्न किसिमका डिभाइसहरू कनेक्ट गर्न सकिने गरी टेलिभिजनमा सामान्यतया थुप्रै एचडीएमआई पोर्टहरू उपलब्ध गराइएको हुन्छ । उदाहरणका लागि एउटा एचडीएमआई पोर्ट साउन्ड बारका लागि प्रयोग हुन सक्छ, अर्को एचडीएमआई पोर्ट गेमिङ कन्सोल र तेस्रो एप्पल टिभी, नेटटिभी, रोकु डिभाइसका लागि काम आउन सक्छ ।

तर तपाईँले ती पोर्टलाई डेस्कटप कम्प्युटर वा ल्यापटपसँग जोड्ने कार्यमा समेत प्रयोग गर्न सक्नु हुन्छ । तर आज हामी ल्यापटपमा केन्द्रित रहेर कुरा गरिरहेका छौँ, त्यसैले यसका लागि केही फरक तरिकाहरू अपनाउनु पर्ने हुन्छ ।

यदि तपाईँको ल्यापटपमा एचडीएमआई पोर्ट छ भने तपाईँलाई कुनै विशेष प्रकारको एडप्टर अथवा उपकरण आवश्यक पर्दैन । सामान्य तरिकाले कुनै स्ट्यान्डर्ड एचडीएमआई केबलमार्फत ल्यापटप र टिभीलाई आपसमा जोड्नुहोस् ।

यति गरेको दुई तीन सेकेन्ड ढिलोगरी तपाईँको ल्यापटप स्क्रिन टेलिभिजनमा देखिन थाल्नेछ । यदि तपाईँको ल्यापटपमा एचडीएमआई पोर्ट छैन भने चाहिँ एउटा एडप्टर वा हब प्रयोग गर्नु पर्ने हुन्छ ।

यदि तपाईँसँग पछिल्लो समयको ल्यापटप छ तर त्यसमा एचडीएमआई पोर्ट छैन भने त्यसमा रहेको एउटा यूएसबी-सी पोर्ट प्रयोग गर्न सक्नु हुन्छ । यस्तोमा तपाईँले कि त यूएसबी-सीबाट एचडीएमआई जोड्ने एडप्टर वा एचडीएमआई पोर्ट रहेको यूएसबी-सी हब खरिद गर्नु पर्ने हुन्छ ।

यस अलावा अहिले बजारमा एकातर्फ एचडीएमआई र अर्कोतर्फ यूएसबी-सी रहेका केबल समेत सहजै पाउन सकिन्छ । यदि एचडीएमआई केबलमार्फत तपाईँले टिभी र ल्यापटप कनेक्ट गर्दा डिस्प्ले देखिएन भने तपाईँले टिभीमा सही किसिमको इनपुट प्रयोग गर्नु भएको छ कि छैन, दोहोर्‍याएर चेक गर्नुहोस् ।

यति गर्दा पनि तपाईँको टिभीमा तस्वीर देखिएन भने आफ्नो ल्यापटपको डिस्प्ले सेटिङ हेर्नुहोस् । विन्डोज ल्यापटपमा तपाईँले सेटिङ एप खोलेर त्यसभित्र रहेको डिस्प्लेमा जानुपर्ने हुन्छ भने म्याकमा सिस्टम प्रिफरेन्स हुँदै डिस्प्लेसम्म पुग्नुपर्छ ।

ती दुवै समान सेटिङमा तपाईँले डिस्प्ले मिरर छनौट गर्नुपर्ने हुन्छ । यसको अर्थ तपाईँको ल्यापटपको स्क्रिन र टिभीले एउटै कुरा देखाउने भन्ने हो । अर्को एक्स्टेन्डेड हुन्छ, यसमा तपाईँको टिभीले सेकेन्डरी मनिटरको रूपमा काम गर्छ । 

टिभीमा यसरी मिरर गर्नुहोस् ल्यापटपको स्क्रिनः 

यदि तारमार्फत तपाईँको ल्यापटप र टिभीलाई जोड्ने कुरा उचित लागेन वा सम्भव भएन भने वायरलेस किसिमले कनेक्ट गर्ने केही सीमित विकल्प बाँकी रहन्छन् । तर यो कुरा मुख्यतः तपाईँको टिभी वा स्ट्रिमिङ डिभाइस कस्तो छ, म्याक छ कि पीसी भन्ने कुरामा पनि भर पर्छ ।

तलको विधिले काम गर्छ कि गर्दैन, सुनिश्चित गर्न तपाईँले आफ्नो टिभी र ल्यापटप दुवैलाई एउटै वाईफाई नेटवर्कमा कनेक्ट गराउनु पर्ने हुन्छ । 

पीसीमाः 

यदि तपाईँ पीसी प्रयोग गर्नु हुन्छ भने यो प्रक्रिया अलि जटिल हुन सक्छ । यस्तोमा क्रोमकास्ट डिभाइस अथवा क्रोमकास्टले सपोर्ट गर्ने टिभी र गुगल क्रोम ब्राउजरको सहारा लिनुहोस् ।

आफ्नो सम्पूर्ण डेस्कटपलाई टिभीमा देखाउनका लागि कम्प्युटरमा क्रम ब्राउजर खोल्नुहोस्, त्यसपछि कास्टसँगै रहेको तीन थोप्ले आइकनमा क्लिक गर्नुहोस् । अब कास्ट डेस्कटपसँगै रहेको सोर्सेजमा क्लिक गर्नुहोस् अनि त्यसपछि उपलब्ध डिभाइसको सूचीबाट आफ्नो टिभी छनौट गर्नुहोस् ।

यदि तपाईँ कुनै निश्चित क्रोम ट्याब अथाव भिडिओ मात्रै कास्ट गर्न चाहनुहुन्छ भने ट्याबमा देखिने अथवा भिडिओको इन्टरफेसमा कास्ट आइकनमा क्लिक गर्नुहोस् । तपाईँले कास्टिङ पूरा गरिसकेपछि एड्रेस बार नजिकै रहेको निलो कास्ट बटनमा क्लिक गर्नुपर्ने हुन्छ । त्यसपछि भर्खरै कनेक्ट गरिएको डिभाइसको नेममा क्लिक गर्नुहोस् । 

म्याकमा के गर्ने ? 

यदि तपाईँ म्याक प्रयोग गर्नु हुन्छ भने त्यसको स्क्रिन मिरर गर्न अथवा एक्स्टेन्ड गर्न  एप्पलको एयरप्ले प्रविधि प्रयोग गर्नु उचित हुन्छ । यो काम तपाईँले एप्पल एयरप्ले र होमकिटमार्फत टेलिभिजन वा स्मार्ट टिभीमा कनेक्ट रहेको एप्पल टिभी प्रयोग गर्न सक्नु हुन्छ ।

तपाईँको म्याकको मेनु बारमा रहेको कन्ट्रोल सेन्टर आइकनमा क्लिक गर्नुहोस् । यो तपाईँको स्क्रिनको माथि दायाँ कुना नजिकै हुन सक्छ ।

अब स्क्रिन मिररिङ अप्सन खोज्नुहोस् र त्यसमा क्लिक गर्नुहोस् । त्यसपछि आफ्नो ल्यापटपको स्करिन मिरर गर्न चाहेको एप्पल टिभी अथवा एयरप्ले डिभाइस छनौट गर्नुहोस् ।

जब तपाईँ म्याकको स्क्रिनलाई टिभी स्क्रिनमा ल्याउने प्रक्रिया पूरा गर्नु हुन्छ, त्यसैगरी एयरप्लेका लागि समान चरणहरू दोहोर्‍याउनु होस् । यति गरिसकेपछि तपाईँको कम्प्युटर टिभीबाट डिस्कनेक्ट हुनेछ । 

पछिल्लो अध्यावधिक: मंसिर ४, २०७९ १८:१२