close

विश्वकप फुटबल हेर्न टिभी किन्दै हुनुहुन्छ ? यसरी लिनुहोस् सही निर्णय

टेकपाना टेकपाना

मंसिर ५, २०७९ ११:१८

विश्वकप फुटबल हेर्न टिभी किन्दै हुनुहुन्छ ? यसरी लिनुहोस् सही निर्णय

काठमाडौं । टेलिभिजन पटक पटक किनिरहनु पर्ने सामान हाेइन । एकपटक खरिद गरेपछि लामो समयसम्म प्रयोग हुने सामान भएको कारण टिभी किन्नु अगाडि नै विचार पुर्याउनु उपयुक्त हुन्छ । त्यसैले टिभी किन्नु अगाडि धेरै कुराहरूमा ध्यान दिनु जरुरी हुन्छ ।   

बजेट 

जुन सुकै सामान खरिद गर्नु भन्दा अगाडि ध्यान दिनुपर्ने सबैभन्दा पहिलो कुरा हो, बजेट । बजेटकाे टुंगाे लागिसके पछि मात्र के फिचर भएकाे  कस्ताे टिभी किन्ने भन्ने निर्णयमा पुग्न सजिलाे हुन्छ । राम्रो टिभी खरिदको लागि भने अलि धेरै बजेट राख्दा राम्रो हुन्छ । यद्यपि बजारमा अहिले थोरै बजेटमा पनि राम्रा टिभीहरू पाइने गर्छन् । 

अपडेटेड टिभी खरिद गर्दा लामाे समयका लागि चलाउन सकिन्छ । पाँच वर्ष अगाडि फुल एचडी टिभीहरु त आइसकेका थिए । तर लाइभ टिभी एचडी क्वालिटीमा मात्र ब्राेडकास्ट हुन्थे । युट्युब अथवा नेटफ्लिक्स हेर्ने चलन खासै थिएन । अहिले हामी निकै अपडेटेड भइसकेका छाैं ।

अहिले अधिकांश लाइभ टिभी एचडी गुणस्तरमा ब्राेडकास्ट हुन्छन् । त्यसमाथि टिभीमा लाइभ टिभी भन्दा युट्युब अथवा नेटफ्लिक्स जस्ता प्लेटफर्म रुचाउन थालिएकाे छ । जसमा फाेरके रिजोलुसनका सामग्रीहरू उपलब्ध हुन्छन् । त्यसैले अबकाे पाँच वर्ष पछिसम्मका लागि साेचेर टिभी किन्ने हाे भने फाेरके रिजोलुसन भएकाे टिभी किन्दा राम्राे हुन्छ । 


फाेरके रेजुलेसनमा स्मार्ट र ननस्मार्ट दुवै खालका टिभी पाइन्छन् । स्मार्ट टिभीमा इन्टरनेट जाेडेर युट्युब, नेटफ्लिक्स  लगायत सयाैं एप्लिकेशन चलाउन सकिन्छ ।  गेमकाे मजा पनि लिन सकिन्छ । त्यसैगरि ननस्मार्ट टिभी साइजकाे उस्तै रिजोलुसन भएकाे भए तापनि  स्मार्ट टिभी अलि महँगाे पर्छ । र ननस्मार्ट टिभी अलि सस्ता‍े पर्छ । इन्टरनेट नभएकाे ठाउँका लागि हाे भने ननस्मार्ट टिभी ठीक हुन्छ । पछि इन्टरनेट पुगेकाे खण्डमा पनि तीन चार हजार पर्ने स्मार्ट डिभाइस किनेर स्मार्ट टिभी बनाउन सकिन्छ ।

अहिले नेपालमा १० हजार देखि सुरु भएर छ लाखसम्म मूल्य भएका टिभी पाइन्छ । जसमा बजेट अनुसार फिचर र क्वालिटी हुन्छन् । टिभी किन्न जाँदा राम्राेसँग मूल्य बुझेर जानु उपयुक्त हुन्छ । अहिले कुन टिभीकाे मूल्य कति छ भनेर घरमा नै बसिबसि अनलाइनमा नै हेर्न सकिन्छ । त्यसकाे फिचर र विशेषता बारे पनि जानकारी लिन गाह्राे छैन ।  त्यसैले टिभी किन्न अगाडि अध्ययन गरेर मूल्य बुझेर जाँदा राम्राे हुन्छ । बजेट अलि कम छ भने ननस्मार्ट टिभी किनेर त्यसलाई स्मार्ट बनाउने विकल्पहरू पनि हेर्न सकिन्छ । 

टिभीको डिस्प्ले साइज 

बजेटको टुंगो लागीसकेपछी कुन साइजकाे टिभी खरिद गर्ने भन्ने अर्को प्रश्न आउँछ । घरका लागि किन्ने हाे भने ३२ इन्च देखि ५८ इन्च सम्मका टिभी खरिद गर्दा उपयुक्त हुन्छ । अथवा आफ्नाे टिभी राख्ने कोठालाई हेरेर पनि टिभीको साइज टुंगो लगाउन सकिन्छ । किनकी सानाे काेठामा ठूलाे टिभी हेर्नु अफ्ठ्याराे छ । त्यसैगरि  ठूलाे काेठा छ अनि टिभी चाँही सानाे भयाे भने पनि मज्जा आउँदैन । 

यदि तपाईंकाे लिभिङ रुम मिडियम छ र ४ देखि ५ फिट टाढाबाट हेर्ने गर्नु भएकाे छ भने तपाईंलाई ३२ इन्चको टिभी ठिक्क हुन्छ । तर तपाईंलाई ५ फिट भन्दा टाढाबाट टिभी हेर्ने बानी छ र घर पनि ठूलाे छ भने तपाईंलाई ५० देखि ५८ इन्चसम्मकाे टिभी किन्दा ठिक्क हुन्छ ।  सानाे काेठा सानाे परिवारका लागि हाे भने ३२ इन्च भन्दा सानाे टिभी किन्नु उपयुक्त हुन्छ । 

रिजाेलुसन

नेपालमा अहिले एसडी, एचडी, फूल एचडी, फाेरके अनि एटके  रिजोलुसनका टिभीहरु पाइन्छन् । एसडीमा ४८०/६४० पिक्सेल हुन्छ । एचडीमा ७२०/१२८० पिक्सेल हुन्छ । फुल एचडीमा १०८०/१९२० पिक्सेल हुन्छ । त्यस्तै फाेरकेमा २१६०/३८४० पिक्सेल हुन्छ भने एटकेमा ४३२०/७६८० पिक्सेल हुन्छ । 

सजिलाेका लागि बुझ्दा पिक्सेल जति धेरै भयाे पिक्सेल क्वालिटी त्यति नै धेरै राम्राे हुन्छ । २४ वा ३२ इन्चकाे टिभीमा फुल एचडी क्वालिटीकाे कनेन्ट हेर्दा ठीकै देखिन्छ । तर एसडी वा एचडीकाे कन्टेन्ट अलि मधुराे देखिन्छ । लाइभ टिभी भने एचडी क्वालिटीमा प्रशारण हुन्छन् जसका लागि फूल एचडी क्वालिटी रिजोलुसन भएकाे टिभी लिनु भयाे भने पनि काम चल्छ ।  

तर युट्युब वा नेटफ्लिक्स चलाउने साेच हाे भने र केही वर्षका लागि ढुक्क हाेस् भन्ने चाहनु हुन्छ भने फाेरके रिजोलुसनकाे टिभी राेज्नु राम्राे हुन्छ । अहिलेकाे लागि एटके अथवा अल्ट्रा एचडी राेजीहाल्नु पर्ने स्थिति छैन । किनभने अहिले एटके रिजोलुसनकाे सामग्रीहरू खासै बनेका छैनन् । 

यदि ४० इन्च भन्दा ठूलाे टिभी लिने साेच्दै हुनुहुन्छ भने फाेरके रिजोलुसन भएकाे लिनु उपयुक्त हुन्छ । ३२ इन्चसम्मकाे लिने साेचमा हुनुहुन्छ भने फुल एचडी टिभी लिँदा पनि फरक पर्दैन । हाेइन, बजेट कम छ इन्टरनेट कनेक्सन पनि छैन, लाइभ टिभी मात्र हेर्ने साेच्दै हुनुहुन्छ भने एचडी रिजोलुसनकाे टिभी लिनु भए पनि फरक पर्दैन ।  

अपरेटिङ  सिस्टम

एन्ड्राेइड टिभी, वेबओएस, टाइजन लगायत टिभी ब्राण्ड अनुसार फरक फरक अपरेटिङ सिस्टमहरु भएका टिभीहरु बजारमा पाइन्छन् । एन्ड्राेइड ‌‌ओएस भएकाे टिभी किन्दै हुनुहुन्छ भने नयाँ भर्सनकाे छ वा छैन त्याे ध्यान दिनु उपयुक्त हुन्छ । एन्ड्राेइडमा भएका क्राेमकास्ट, गुगल असिस्टेन्ड लगायतका फिचरहरू अन्य कतिपय अपरेटिङ सिस्टमको भन्दा राम्राे लाग्छ । तर वेबओएस र टाइजनकाे पनि आफ्नै विशेेषताहरु रहेका छन् । वेब‌ओएस भएकाे टिभीमा ब्राउजिङ र रिपाेर्ट चलाउन एकदमै सजिलाे हुन्छ भने टाइजन पनि उत्तिकै लाेकप्रिय छ । यदि तपाईं ननस्मार्ट टिभी किन्दै हुनुहुन्छ भने त्यसलाई स्मार्ट टिभी बनाउन सेटअप बक्सहरु पनि पाइन्छन् । 

रिफ्रेस रेट

माेबाइलमा रिफ्रेस रेट भए जस्तै टिभीमा पनि रिफ्रेस रेट हुन्छ । रिफ्रेस रेट जति धेरै भयो त्यति नै टिभीको अनुभव राम्रो हुन्छ । यदि टिभीमा गेम खेल्नु हुन्छ वा फास्ट एक्सन मुभी हेर्नु हुन्छ भने हाइ रिफ्रेस रेट भएकाे टिभी लिँदा ठीक हुन्छ ।  तर टिभीमा सामान्य सामग्रीहरू मात्र हेर्नु हुन्छ, गेम खेल्नुहुन्न भने ६० हर्जसम्म रिफ्रेस रेट भएकाे टिभी उपयुक्त हुन्छ । 

टिभीमा गेम खेल्ने हाे भने रिफ्रेस रेट मात्र हाेइन कनेक्सन र पाेर्टहरूलाई पनि ख्याल गर्नुपर्छ । टिभीमा यूएसबी र एचडीएमआई पाेर्टहरु त हुन्छन् । तर ती नयाँ भर्सनका छन् कि छैनन् ख्याल पुर्‍याउनु पर्छ । अहिलेको लागि बजारमा युएसबी ३.० र एचडीएमआई २.० भएकाे टिभी छान्दा राम्रो हुन्छ । 

टिभीलाई मिनी थिएटर बनाउने हाे भने एचडीएमआई आर्ट पाेर्ट छ कि छैन त्याे पनि हेर्नु पर्छ । गेमहरु खेल्न वा टिभीमा धेरै एप्लिकेशनहरु चलाउनु हुन्छ भने र्‍याम र स्टाेरेजका बारेमा पनि सचेत हुन पर्छ । धेरै जसाे टिभीमा एक वा दुई जीबी मात्र र्‍याम भएकाे पाइन्छ । यो पनि राम्रोसँग नै चल्छ तर गेमहरु खेल्नुहुन्छ भने चार जीबी र्‍याम भएकाे टिभी किन्नु राम्राे हुन्छ । तर यो महँगो हुनेगर्छ । त्यस्तै वायरलेस कनेक्सनका लागि डुवल ब्याण्ड वाइफाइ सपाेर्ट अनि ब्लुटुथ फाेर वा फाइभ भएकाे किन्दा पछुताउनु पर्दैन । डुवल ब्याण्ड सपाेर्ट भएकाे टिभी किन्दा इन्टरनेटका लागि ल्यान (LAN) नजाेड्दा पनि राउटर डुवल ब्याण्डवाला छ भने खासै बफर (बिचमा अड्किएर चल्ने) हुँदैन । त्यस्तै ब्लुटुथकाे पनि नयाँ भर्सन हुँदा त्यसले प्रभावकारी रुपमा काम गर्छ । 

धेरै मानिसहरूले रुचाउने भनेकाे एलईडी टिभी हाे । हुन त ओएलईडी र क्यूएलईडी टिभीहरु पनि पाइन्छ । तर क्यूएलईडी एलईडी भन्दा अलि महँगा पर्छन् । गुणस्तरको कुरा गर्ने हाे भने एलईडीभन्दा क्यूएलईडी राम्रा हुन्छन् । यदि तपाईंसँग बजेट कम छ भने तपाईंले एलईडी लिँदा पनि खास फरक भने पर्दैन । 

अनि तपाईंले टिभी हेर्दा पिक्चर क्वालिटी चैं एकदम राम्राे छ तर  पिक्चल क्वालिटीलाई म्याच गर्ने साउण्ड आएन भने हेर्दा खासै मज्जा आउँदैन । त्यसैले अडियो कस्ताे छ त्याे कुरा पनि हेर्नु जरुरी छ । डबल एट्मस जस्ता सफ्टवेयर भएका टिभीका साउण्ड केही हदसम्म राम्रै हुन्छ । तर मिनि थिएटरकै अनुभव लिने हाे भने टिभीकाे स्पिकर र सफ्टवेयरले मात्रै नपुग्न सक्छ । त्यसका लागि छुट्टै साउण्ड बार राख्नु उपयुक्त हुन्छ। 

टिभीकाे कन्ट्रास्ट लेभलले  पनि टिभीकाे पिक्चर क्वालिटीमा फरक पार्छ ।  कन्ट्रास्ट रेसियाेले चाँही टिभीमा कतिकाे ब्राइट आउटलेट (उज्यालो दृश्य) दिन्छ भन्ने कुराकाे निर्धारण गदर्छ ।  जति धेरै कन्ट्रास्ट रेसियाे हुन्छ टिभीले त्यति नै धेरै ब्राइट आउटलेट दिन्छ । कन्ट्रास्ट रेसयोले भिडिओमा सेता बस्तु कति सम्म सेतो देखिने र कालो बस्तु कतिसम्म कालो देखिने भन्ने कुराको निर्धारण गर्दछ । 

अन्तिममा टिभी किनिसक्नु भए पछि वारेन्टी कार्डकाे बारेमा चाँही नभुल्नु हाेला । तपाईंले यी कुराहरु ध्यानमा राखेर टिभी किन्नु भयाे भने तपाईंलाई निकै सजिलाे हुनेछ । 

 

पछिल्लो अध्यावधिक: मंसिर ५, २०७९ ११:१९