close

ई-बुक पाइरेसी गर्ने चर्चित वेबसाइट 'जेड-लाइब्रेरी'का सञ्चालक पक्राउ

टेकपाना टेकपाना

मंसिर ५, २०७९ १२:६

ई-बुक पाइरेसी गर्ने चर्चित वेबसाइट 'जेड-लाइब्रेरी'का सञ्चालक पक्राउ

काठमाडौं । गत नोभेम्बर ३ मा पाइरेटेड ई-बुक साइट 'जेड-लाइब्रेरी' (Z-Library) इन्टरनेटबाट एक्कासी गायब भयो । चोरी गरिएका अध्ययन सामग्री राख्ने उक्त ई-बुकको नाम सर्च गर्दा सो डोमेन कानूनद्वारा नियन्त्रण गरिएको छ भन्ने सन्देश देखिन्थ्यो ।

हाल उक्त घटनाको नयाँ तथ्य बाहिरिएको छ, जसमा सो पाइरेटेड ई-बुक लाइब्रेरी सञ्चालन गर्ने व्यक्ति जोडिएका छन् । बुधबार रूसी नागरिक एन्टोन नेपिल्स्की र भलेरिया एर्माकोभालाई जेड-लाइब्रेरी सञ्चालन गरेको आरोपमा अर्जेन्टिनाबाट पकाउ गरियो ।

उनीहरूलाई प्रतिलिपि अधिकार उल्लङ्घन र ठगी गरेको आरोपमा पक्राउ गरिएको बताइएकाे छ । संयुक्त राज्य अमेरिकाको पहलमा यी रुसी नागरिक पक्राउ परेका हुन् । त्यही दिन उनीहरूको साइट बन्द भएको थियो ।

उनीहरूको गलत कदमले लेखक, प्रकाशक र पुस्तक बिक्रेताहरू पीडित भएका थिए । तर, महँगा पुस्तक खरिद गर्न नसक्ने विद्यार्थीका लागि उक्त ई-बुक (जेड-लाइब्रेरी) महत्त्वपूर्ण प्लेटफर्म बनेको थियो ।

यद्यपि जेड-लाइब्रेरीका सञ्चालकले प्रतिलिपि अधिकार कानूनको उल्लङ्घन गरे तापनि, साइट बन्द हुँदा विद्यार्थी प्रभावित भएका छन् । विशेषगरी महँगा पाठ्यपुस्तक खरिद गर्न नसक्ने विद्यार्थीहरूका लागि जेड-लाइब्रेरी महत्त्वपूर्ण प्लेटफर्म भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

शैक्षिक सामग्रीका लागि जेड-लाइब्रेरीमा निर्भर हुने विद्यार्थी प्रभावित भएको भन्दै केही मानिसहरूले विरोधसमेत गरेका छन् । ​केहीले लेखक तथा प्रकाशक मारमा परेको भन्दै उक्त साइट बन्द हुनु राम्रो विषय भएको जनाएका छन् । हाल पक्राउ परेका दुई रुसी नागरिकबारे थप अध्ययन भइरहेको छ भने उनीहरूको साइट पूर्ण रूपमा बन्द भएको छ । 

-एजेन्सीकाे सहयाेगमा

पछिल्लो अध्यावधिक: मंसिर ५, २०७९ १३:५९