close

विश्वकप फुटबल हेर्न जानेमाथि १५ हजार क्यामेरामार्फत निगरानी गर्दै कतार

टेकपाना टेकपाना

मंसिर ५, २०७९ १५:१६

विश्वकप फुटबल हेर्न जानेमाथि १५ हजार क्यामेरामार्फत निगरानी गर्दै कतार

काठमाडौं । आइतबारदेखि सुरु भएको फिफा विश्वकप फुटबल २०२२ हेर्न कतारमा लाखौंको संख्यामा दर्शक ओइरिएका छन् । विश्वकपमा खेलाडीसहित सम्पूर्ण दर्शकहरूलाई निगरानी गर्न कतारले १५ हजार बढी क्यामेरा प्रयोग गरिरहेकाे छ ।

यी सबै क्यामेरामा फेस रिकग्निशन प्रविधि प्रयोग गरिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम एएफपीका अनुसार कतारमा १० लाखभन्दा बढी दर्शक विश्वकप हेर्न गएका छन् । यी दर्शकलाई कुनै पनि प्रकारको आतंकवाद, हुलदङ्गा लगायतका जोखिमबाट सुरक्षा दिनको लागि यी क्यामेरा प्रयोग गरिएको आयोजकको भनाइ छ ।

यी क्यामेरा सबै आठ रंगशालामा जडान गरिएको छ भने रंगशाला व्यवस्थापनको कन्ट्राेल सेन्टरबाट परिचालित र निगरानी गरिनेछ । उक्त सेन्टरमा सुरक्षा प्राविधिकहरू खटाइएको छ, जसले कार्यक्रमका दौरान क्यामेराबाट देखिने दृश्यको निगरानी राख्नेछन् ।

रंगशालासहित मेट्रो ट्रेन, बस स्टेसनहरूमा पनि क्यामेरा जडान गरिएको छ । साथै कतार विश्वविद्यालयले विकास गरेको ड्रोनमार्फत दर्शकहरूलाई बाटोमा पनि निगरानी राखिनेछ । कुनै अप्रिय घटना भएको अवस्थामा जडान गरिएको ‘सेक्युरिटी मनिटर’ मार्फत म्याप प्रयोग गरी सुरक्षाकर्मी घटनास्थलसम्म जान सक्नेछ्न ।

विश्वकप आयोजना गर्नका लागि फिफाले कतारलाई सन् २०१० मा नै अधिकार दिएको थियो । सो समयदेखि आजको दिनसम्ममा कतारले रंगशालासहित नयाँ पूर्वाधार तथा आगन्तुहरूकाे आवास निर्माणका लागि ३०० अर्ब डलर खर्च गरेकाे छ ।

पछिल्लो अध्यावधिक: मंसिर ५, २०७९ १५:१६