close

फेसबुकमा यसकारण शेयर गर्न मिल्दैन विश्वकप फुटबलको लाइभ आउने पाइरेटेड लिङ्क

टेकपाना टेकपाना

मंसिर ५, २०७९ १६:४७

फेसबुकमा यसकारण शेयर गर्न मिल्दैन विश्वकप फुटबलको लाइभ आउने पाइरेटेड लिङ्क

काठमाडौं । फिफा विश्वकप २०२२ आइतबारदेखि सुरु भएको छ । नेपालमा फुटबल विश्वकपको प्रत्यक्ष प्रसारण हेर्नका लागि ‘हिमालय प्रिमियम’ च्यानलको सब्स्क्रिप्सन खरिद गर्नुपर्ने हुन्छ । सब्स्क्रिप्सन खरिद गर्नुपर्ने भएकाले कतिपय फुटबल समर्थक पाइरेटेड (चोरी गरी अपलोड गरिने) साइटमा निर्भर हुनसक्छन् ।

थर्ड पार्टी एप वा पाइरेटड साइट निकै नै जोखिमपूर्ण हुने गर्छन् । यस्ता पाइरेटेड लिङ्क तथा साइटमा जाँदा हामी हाम्रो डिजिटल सम्पत्तिलाई जोखिममा राखिरहेका हुन्छौं । यी कुरालाई बेवास्ता गरी फेसबुकमा पाइरेटेड लिङ्क शेयर गर्न खोज्ने धेरै प्रयोगकर्ता हुनसक्छन् ।

फेसबुकमा अनाधिकारिक वा पाइरेटेड साइटका लिङ्क शेयर गर्न खोज्दा उक्त लिङ्क शेयर वा सेन्ड हुँदैन । आखिर कुनै पनि लिङ्क पाइरेटेड हो वा आधिकारिक हो भन्ने कुरा फेसबुकलाई कसरी थाहा हुन्छ होला ?

यसबारे टेकपानासँग कुरा गर्दै सुरक्षा अनुसन्धानकर्मी नरेश लाम्गादे भन्छन्, "फेसबुकसँग हरेक लिङ्कको हिस्ट्री हुन्छ । कुन लिङ्क कस्तो स्रोतबाट आएको छ भन्ने कुराबारे फेसबुक पहिले नै जानकार हुन्छ । यस्तै विश्वकपको लाइभ पनि एउटा आधिकारिक स्रोतबाट उपलब्ध भइरहेको हुन्छ । आधिकारिक लिङ्कबाट कन्टेन्ट चोरी गरी अपलोड गरिएका लिङ्क फेसबुकले पहिचान गर्छ र शेयर गर्न दिँदैन ।"

त्यति मात्र नभई कुनै पनि लिङ्क स्क्याम भएको खण्डमा फेसबुकले पहिचान गरी शेयर गर्नबाट रोक्ने उनी बताउँछ । उदाहरणका लागि सामाजिक सञ्जालमा पुरस्कार पाइने विभिन्न लिङ्कहरू अकाउन्ट ह्याक भएर शेयर भइरहेका हुन्छन् । हामीलाई प्राप्त कुनै पनि लिङ्क कपी गरी अन्य व्यक्तिलाई पठाउँदा लिङ्क सेन्ड हुँदैन ।

तर, त्यही लिङ्कमा हामीले क्लिक गरी आफ्ना विवरण राख्यौँ भने हाम्रो अकाउन्ट ह्याक भई उक्त मेसेज हाम्रा साथीहरूलाई स्वतः सेन्ड हुन्छ । यसमा ह्याकरको सिस्टमले महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ । म्यानुअल रूपमा स्प्याम लिङ्क शेयर गर्न खोज्दा एआईले तत्कालै पहिचान गर्छ ।

इन्टरनेटमा भएका कतिपय साइट दूरसञ्चार कम्पनीले नै ब्लक गरेका हुन्छन् । कतिपयलाई ब्ल्याकलिस्टमा राखिएको हुन्छ । यी सबै कुराको जानकारी फेसबुकसँग हुन्छ । यदि फेसबुकको एआईले कुनै लिङ्क अनाधिकारिक भएको पहिचान गरेमा तत्कालै लिङ्क शेयर नहुने बनाइदिन्छ । कतिपय अवस्थामा शेयर गरेको लिङ्क त्यति नै बेला अनाधिकारिक वा पाइरेटेड हो भन्ने एआईलाई जानकारी नहुन सक्छ ।

सो लिङ्क शेयर भइसकेपछि कसैले शेयर, लाइक वा कमेन्ट गर्ने क्रममा एआईलाई उक्त लिङ्क पाइरेटेड हो भन्ने जानकारी भएर अकाउन्ट नै प्रतिबन्ध लगाएका घटना पनि छन् । विभिन्न क्रियटरको प्रतिलिपि अधिकार उल्लङ्घन नहोस् भनेर फेसबुकले हरेक प्रयोगकर्तालाई निगरानीमा राखेको हुन्छ । हामीले गर्ने मेसेजदेखि हरेक गतिविधिमा फेसबुकले निगरानी गरिरहेको हुन्छ ।

त्यसैले पाइरेटेड लिङ्क मात्र नभई भिडिओ, फोटो वा अन्य व्यक्ति वा संस्थाको डिजिटल सम्पत्ति कपी गरी शेयर गर्दा हाम्रो अकाउन्ट नै प्रतिबन्ध हुन सक्छ । विश्वकपको लाइभबारे कुरा गर्नुपर्दा फिफाले विभिन्न कम्पनीलाई यसको प्रतिलिपि अधिकार दिएको हुन्छ ।

त्यही अन्तर्गत प्रसारण अधिकार पाएका हेरक कम्पनीले लाइभमा कतै न कतै आफ्नो संकेत राखेका हुन्छन् । यदि विश्वकपको भिडिओलाई पाइरेटेड साइटमा राखियो भने प्रतिलिपि अधिकार उल्लङ्घन हुन्छ । जसले गर्दा उक्त लिङ्क फेसबुकको एआईले त्यसलाई पहिचान गर्छ र शेयर गर्नबाट वञ्चित गर्छ ।

पछिल्लो अध्यावधिक: मंसिर ५, २०७९ १६:४७