close

प्लस टुका विद्यार्थीले बनाएको ट्वीटर बट, जसले दिन्छ चुनावी मत परिणामको आधिकारिक अपडेट

टेकपाना टेकपाना

मंसिर ६, २०७९ ८:४९

प्लस टुका विद्यार्थीले बनाएको ट्वीटर बट, जसले दिन्छ चुनावी मत परिणामको आधिकारिक अपडेट

काठमाडाैं । दुई जना किशोरले आसन्न निर्वाचनकाे आधिकारिक मत परिणाम बारे जानकारी दिने बट तयार पारेका छन् । ब्रिटिस माेडल कलेजमा ए लेभल अध्ययनरत १७ वर्षिय धिरज चापागाईं र ट्रिनिटी कलेजबाट यसै वर्ष प्लसटु उत्तिर्ण १९ वर्षिय आशिष अधिकारीले  ‘द चुनाव बट’ बनाएका हुन् । 

उक्त ट्वीटर बट  सोमबारदेखि संञ्चालनमा ल्याइएकाे छ । बट ट्वीटर र पाइथन प्रोग्रामिङ ल्याङ्वेजकाे डकुमेन्टेसन हेरेर बनाएकाे चापागाईंले बताए ।  “ट्वीटरकाे ट्वीटी नामक लाइब्रेरी र  पाइथन प्रयाेग गरेर हामीले याे बट बनाएका हाैँ,” उनले टेकपानासँग भने । 

बटले देशका प्रमुख ‘हट सिट’ निर्वाचन क्षेत्रकाे परिणाम तुरुन्ता तुरुन्तै पाेस्ट गर्दै आएको छ । हाल झापा, इलाम, काठमाडाैं, डडेलधुरा, चितवन लगायतका धेरै चासाे रहेकाे निर्वाचन क्षेत्रकाे नतिजा बटले पाेस्ट गरिरहेकाे छ ।

बटमार्फत आधिकारिक नतिजा पाेस्ट गर्न उनीहरुले निर्वाचन आयाेगकाे एपीआई प्रयोग गरेका छन् । उक्त डेटालाई फिल्टर गरेर आवश्यक पर्ने डेटाहरू मात्र प्रयाेग गरिएको चापागाईँले बताए ।

निर्वाचन आयाेगको सिस्टममा नयाँ डेटा अपडेट भए लगत्तै बटले ट्वीट गर्छ । “हामी बटले विश्वासिलाे ढङ्गले काम गरोस् भन्ने कुरामा ध्यान दिइरहेका छौँ,” चापागाईंले भने, “निर्वाचन आयोगभन्दा अरु ठाउँबाट प्राप्त हुने ड‍ेटामा हामी निर्भर हुन सक्दैनौँ ।”

बटलाई छोटो समयमै सयौँ ट्वीटर प्रयोगकर्ताले फलो गर्न थालिसकेका छन् । प्रयोगकर्ताले मन पराएको खण्डमा अन्य निर्वाचन क्षेत्रकाे मत परिणामका बारेमा पनि बटमार्फत जानकारी दिने योजना दुई किशोरको छ ।

उनीहरू दुवै जना ‘शानपसल डटकम’ नामक स्टार्टअपमा काम गरिरहेका छन् । प्रारम्भिक चरणमै रहेको यो स्टार्टअपबाट विशेष गरी क्रियटरलाई मनिटाइजेसनमा सहयाेग गर्ने धिरज र आशिषको योजना छ । 





 

 


 

पछिल्लो अध्यावधिक: मंसिर ६, २०७९ ८:५१