close

पाइरेटेड एप वा वेबसाइट प्रयोग गर्दै हुनुहुन्छ ? सावधान ! हुनसक्छ यस्तो खतरा

टेकपाना टेकपाना

मंसिर ८, २०७९ २०:३५

पाइरेटेड एप वा वेबसाइट प्रयोग गर्दै हुनुहुन्छ ? सावधान ! हुनसक्छ यस्तो खतरा

काठमाडौं । इन्टरनेटमा सबै सामग्री निःशुल्क उपलब्ध हुन्छन् भन्ने हुँदैन । केही निःशुल्क प्रयोग गर्न सकिन्छ भने केहीका लागि शुल्क तिर्नुपर्ने हुन्छ । रकम तिरेर खरिद गर्नुपर्ने वा प्रयोग गर्नुपर्ने सामग्री कुनै अन्य सफ्टवेयर, एप तथा वेबसाइट मार्फत निःशुल्क प्रयोग गर्नुभएको छ भने त्यो नै पाइरेटेड सामग्री हो ।

हुन त यस्ता पाइरेटेड एप, वेबसाइट वा सफ्टवेयर निःशुल्क प्रयोग गर्न पाइन्छ । जसले गर्दा हामी आफ्नो खर्च बचाउन सक्छौँ । याद गर्नुहोस् पैसा पर्ने सामग्री निःशुल्क प्रयोग गर्न पाउनु भएको छ भने त्यसमा केही न केही गल्ती छ भन्ने बुझ्नुपर्छ ।

साइट, सफ्टवेयर तथा एप पाइरेटेड हो भन्ने कसरी पहिचान गर्ने ?

कुनै पनि सामग्री आधिकारिक व्यक्ति वा कम्पनीको अनुमति नलिएर वा पेटेन्ट तथा प्रतिलिपि अधिकार उल्लङ्घन गरी तयार पारिएका वा प्रसार गरिएका सामग्रीलाई नै पाइरेटेड सामग्री भनिन्छ । अरूले तयार पारेका कन्टेन्ट, एप तथा सफ्टवेयर कपी गरी त्यसको नक्कली भर्सन बनाइएको हुन्छ ।

हामीले शुल्क तिरेर खरिद गर्नुपर्ने उक्त सफ्टवेयर, कन्टेन्ट वा एप, केही व्यक्तिले इन्टरनेटमा निःशुल्क राखिदिन्छन् । जसलाई हामीमध्ये कतिपयले प्रयोग गरिरहेका हुन्छौँ । यसरी निःशुल्क पाएको एप, सफ्टवेयर वा वेबसाइट प्रयोग गर्दा हामी मख्ख पर्छाैं । के नै पाे जोखिम होला र भन्ने लाग्छ । 

हुनसक्छ । याद गर्नुहोस् तपाईँलाई कसैले पनि निःशुल्क केही उपलब्ध गराएको हुँदैन ।

शुल्क पर्ने चिज निःशुल्क उपलब्ध गराउँदा त्यहाँ केही न केही स्वार्थ लुकेको हुन्छ । त्यसैले भरसक त्यस्ता सफ्टवेयर वा एप प्रयोग गर्नु हुँदैन । प्रयोग गर्नु परे पनि सावधानी अपनाउनुपर्ने हुन्छ ।

यस्ता सामग्री प्रयोग गर्दा केके जाेखिम हुनसक्छ ?

शुल्क पर्ने सामग्री कसैले निःशुल्क उपलब्ध गराइरहेको छ भने बुझ्नुस् त्यहाँ कुनै न कुनै स्वार्थ लुकेको छ । कतिपय एप गुगल प्लेस्टोर वा आईओएस एप स्टोरमा उपलब्ध हुँदैनन् ।

त्यस्ता एप इन्टरनेटका अन्य माध्यममा भने सजिलै उपलब्ध हुन्छन् । गुगल वा एप्पल जस्ता कम्पनीले प्रयोगकर्ताको डेटा चोरी गर्ने, प्रयोगकर्ताको संवेदनशील डेटा लिक गर्ने वा क्षति पुर्‍याउने र प्रतिलिपि कानून उलङ्घन गर्ने एपलाई आफ्नो प्लेटफर्ममा राख्ने अनुमति दिँदैनन् ।

त्यसैले त्यस्ता एप प्ले स्टोर वा एप स्टोरमा उपलब्ध हुँदैनन् । यसैगरी कतिपय सामग्री हामीले पैसा तिरेर हेर्नुपर्ने हुन्छ । उदाहरणका लागि अहिले चलिरहेको विश्वकप नै हेरौँ । फिफा विश्वकप नेपाली एप्लिकेसनमा उपलब्ध छैन ।

त्यसैले धेरैले पाइरेटेड लिङ्क प्रयोग गरिरहेका हुन्छन् । आज हामी पाइरेटेड लिङ्क प्रयोग गर्दा हुनसक्ने जोखिमबारे चर्चा गर्छौँ ।

अर्काको प्रतिलिपि अधिकारको उल्लङ्घन

डिजिटल संसारमा मानिस वा कम्पनीले आफूले उत्पादन गरेका वा अधिकार खरिद गरेका प्रायः सामग्रीको प्रतिलिपि अधिकार लिएका हुन्छन् । त्यस्तो सामग्री मार्फत आम्दानी गर्नका लागि उनीहरूले मेहनत गरेर त्यही प्लेटफर्म तयार पारेका हुन्छन् ।

तर, उनीहरूको सफ्टवेयर, एप वा अन्य सामग्री अरूले कपी गरी निःशुल्क उपलब्ध गराउँदा सो व्यक्तिको प्रतिलिपि अधिकार हनन् हुन्छ । साथै उनीहरूलाई नोक्सानी हुन्छ ।

वित्तीय तथा संवेदनशील डेटाको जोखिम

हाम्रा अधिकांश डेटा अहिले फोन तथा कम्प्युटरमा भण्डारण भएका हुन्छन् । हामीले कुनै पनि पाइरेटेड एप, सफ्टवेयर वा साइट प्रयोग गर्दा ती साइटले हामीलाई जानकारी नै नदिई हाम्रो डेटा चोरी गर्न सक्छन् । 

जसबाट हाम्रो वित्तीय तथा संवेदनशील डेटा अर्काको हातमा पुग्ने सम्भावना उच्च हुन्छ । विशेष गरी सामाजिक सञ्जालका विभिन्न अकाउन्ट तथा गुगल वा एप्पल अकाउन्ट ह्याक हुनुको मुख्य कारणमध्ये पाइरेटेड एप पनि एक हो ।

मानौँ यदि तपाईँ कुनै पनि कारोबार गरिरहनु भएको छ भने तपाईँको डेटा सम्बन्धित कम्पनीसँग हुन्छ र उसले त्यसको संरक्षण गर्ने जिम्मेवारी पनि लिएको हुन्छ ।

तर पाइरेटेड सफ्टवेयर, एप वा वेबसाइट चलाउने व्यक्तिले भने त्यस्तो डेटालाई गलत तरिकाले प्रयोग गरिदिन सक्छ । 

डेटा नष्ट

अधिकांश पाइरेटेड साइटहरू गलत मनसाय भएका बदमास व्यक्तिले सञ्चालन गरिरहेका हुन्छन् । यसरी गलत तरिकाले प्रयोग गर्दा उनीहरूले आफ्नो पहुँचमा भएका तपाईँका डेटा नष्ट गरिदिन सक्छन् ।

त्यसैले थर्ड पार्टी एप डेटा सुरक्षाका लागि निकै जोखिमपूर्ण हुन्छन् । तपाईँलाई आवश्यक परेको बेला त्यस्ता सफ्टवेयर, एप वा वेबसाइट नचल्न सक्छन्

कुनै पनि व्यक्ति वा संस्थाले कुन उद्देश्यले पाइरेटेड सफ्टवेयर, एप तथा वेबसाइट बनाएको हुन्छ भन्ने कुरा यकिन गरेर भन्न सकिँदैन । उनीहरूले आफ्नो काम पूरा भइसकेपछि उक्त सफ्टवेयर, एप तथा वेबसाइट बन्द गरिदिन सक्छन् । त्यसैले यस्ता पाइरेटेड साइट काम परेको बेला उपलब्ध नहुन सक्छन् । 

भाइरस तथा मालवेयरको जोखिम 
पाइरेटेड साइट, एप तथा सफ्टवेयर प्रयोग गर्दा सबैभन्दा बढी जोखिम भाइरसको हुन्छ । त्यस्ता एपहरू ह्याकरले भाइरस, मालवेयर, स्पाइवेयर आदि फैलाउनका लागि तयार पारेका हुन्छन् ।

तपाईँले निःशुल्क प्रयोग गरेको अनुभव गरे पनि वास्तवमा त्यही भाइरसले तपाईँको डेटा नष्ट गर्ने, सिस्टम बिग्रार्ने, पासवर्ड वा डेटा चोर्ने, फाइल बिग्रार्ने काम गर्छ । तपाईँले पाइरेटेड साइटबाट क्षणिक लाभ लिए पनि दीर्घकालीन रूपमा यसले ठूलो असर पुर्‍याउन सक्छ ।

अपग्रेड गर्न समस्या

पाइरेटेड एप तथा सफ्टवेयर अपग्रेड गर्न सकिँदैन । ती सामग्री अरूले क्षणिक फाइदाका लागि तयार पारेकाले पछिका लागि खासै काम गर्दैनन् । यदि हामीलाई नयाँ अपडेट चाहियो भने पुरानै साइट, एप तथा सफ्टवेयरमा चित्त बुझाउनुपर्ने हुन्छ ।

बेरोजगारीको समस्या

पाइरेटेड साइटले कसरी बेरोजगारीको समस्या सिर्जना गर्छ र भन्ने प्रश्न तपाईँको मनमा समेत उठ्न सक्छ । आईडीसी एनालाइसिसका अनुसार प्रत्येक एक प्रतिशत पाइरेटेड सफ्टवेयरले गर्दा ४० अर्ब डलर नोक्सानी हुन्छ ।

यसको अर्थ एक प्रतिशत पाइरेटेड वेबसाइटले गर्दा एक लाख ५० हजार बढीले रोजगारी गुमाइरहेका हुन्छन् ।

पछिल्लो अध्यावधिक: मंसिर ८, २०७९ २०:५८