close

अब मदिरा उत्पादकले पनि विद्युतीय बिल जारी गर्नुपर्ने

टेकपाना टेकपाना

मंसिर ९, २०७९ ८:२४

अब मदिरा उत्पादकले पनि विद्युतीय बिल जारी गर्नुपर्ने

काठमाडौं । आन्तरिक राजस्व विभागले विद्युतीय माध्यमबाट बीजक जारी गर्नुपर्ने करदाताको दायरा विस्तार गरेको छ । आगामी माघ १ गतेदेखि लागू हुने गरी विभागले करदाता थप गरेको हो । विभागका  अनुसार  माघदेखि  मदिरा,  बियर,  वाइन, स्प्रिट उत्पादन गर्ने सबै करदाताले अनिवार्य रूपमा विद्युतीय माध्यमबाट बीजक जारी गर्नुपर्नेछ । 

त्यस्तै चुरोट उत्पादन गर्ने प्रतिष्ठान, गुट्खा उद्योग र गत आर्थिक वर्षदेखि वार्षिक पाँच करोड रुपैयाँभन्दा बढीको कारोबार गर्ने सुर्तीजन्य उद्योगले पनि विद्युतीय माध्यमबाट बीजक जारी गर्नुपर्ने विभागले जनाएको छ । यसअघि  विभागले  चालू  आर्थिक  वर्षको  सुरुदेखि विगत दुई आर्थिक वर्षमा मूल्य अभिवृद्धि कर तथा आय विवरणमध्ये १० करोड रुपैयाँभन्दा बढीको जुनसुकै वस्तु तथा सेवाको कारोबार गर्ने करदाताले अनिवार्य रुपमा विद्युतीय माध्यमबाट बीजक जारी गर्नुपर्ने व्यवस्था लागू गरेको थियो । 

विभागले पहिलो पटक २०७५ फागुन २९ देखि नेपालमा विद्युतीय  बीजक  जारी  गर्नुपर्ने  व्यवस्था  कार्यान्वयनमा ल्याएको थियो । त्यति बेला विभागले वार्षिक  पाँच  करोड  रुपैयाँभन्दा बढीको कारोबार गर्ने होटल, रेस्टुरेन्ट तथा चमेना गृह र इन्टरनेट सेवा प्रदायकलाई  अनिवार्य विद्युतीय  बीजक  जारी  गर्न  निर्देशन दिएको थियो । 

तोकिएका करदाताबाहेक जुनसुकै करदाताले पनि अनुमति लिई स्वैच्छिक रूपमा विद्युतीय बीजक जारी गर्न पाउने व्यवस्था विभागले गरेको छ । 

-गोरखपत्रबाट

पछिल्लो अध्यावधिक: मंसिर ९, २०७९ ८:२८