close

शार्क ट्याङ्क इन्डियाबाट अश्नीर ग्रोभर निकालिएपछि....

टेकपाना टेकपाना

मंसिर ९, २०७९ १३:२३

शार्क ट्याङ्क इन्डियाबाट अश्नीर ग्रोभर निकालिएपछि....

काठमाडौं । बिजनेस रियालिटी शो ‘शार्क ट्याङ्क’ को भारतीय संस्करण 'शार्क ट्याङ्क इन्डिया' दोस्रो सिजन आउने निश्चित भएको छ । कार्यक्रमको पहिलो संस्करणमा सर्वाधिक चर्चामा आएका शार्क थिए अश्नीर ग्रोभर । उक्त शोमा सहभागी  उद्यमीलाई उनले गरेको व्यवहारले बढी नै चर्चा पाएको थियो । 

भारतीय वित्तीय प्रविधि (फिनटेक) कम्पनी 'भारत पे' का सह-संस्थापक तथा प्रबन्ध निर्देशक अश्नीर ग्रोभरको निर्णायक शैली दर्शकलाई रोमाञ्चक लागेको थियो । आफूलाई मन परेको स्टार्टअपमा लगानी गर्न उनी अन्य शार्कलाई होच्याउन पछि पर्दैनथे । उनको बोल्ने तथा निर्णायक शैलीलाई दर्शकले रुचाएका थिए । 

शोलाई रोमाञ्चक बनाउने मध्येका एक अश्नीर ग्रोभर यस सिजनमा भने देखिने छैनन् । सोनी लिभ टेलिभिजनले सार्वजनिक गरेको शार्क ट्याङ्क इन्डियाको प्रोमोमा अश्नीर ग्रोभर देखिएका छैनन् । 

शार्क ट्याङ्क इन्डियाकी एक शार्क नमिता थापरले अश्नीर ग्रोभरको अनुपस्थितिबारे ट्वीट गरेकी छिन् । उनी लेख्छिन्, "कुनै एक व्यक्तिले कुनै शो बनाउने वा टुक्राउने भन्ने हुँदैन । चाहे त्यो म होस् वा अरू कोही । यो शो उद्यमी तथा रोजगार सिर्जनकर्ताले मनाउने एक उत्सव हो । यस शोले विभिन्न व्यक्तिका कथा प्रस्तुत गरेर जनतालाई व्यावसायिक अवधारणाबारे सिकाउने गर्छ । तपाईँहरू शो र उक्त शोका टिमप्रति केन्द्रित हुनुस् ।" 

उनको ट्वीटलाई रिप्लाई दिँदै एक प्रयोगकर्ताले ‘शार्क ट्याङ्क इन्डिया मनोरञ्जन शो होइन, यसले विभिन्न प्रतिभा र उनीहरूको वृद्धिबारे कथा भन्ने शो हो’ भनेर उल्लेख गरेका छन् । उनले भने उक्त रिप्लाईलाई शेयर गर्दै आफू  सहमत भएको जनाएकी छिन् । 

यसैगरी एक अर्का ट्वीटर प्रयोगकर्ताले शार्क ट्याङ्क इन्डिया उद्यमीलाई प्रोत्साहन गर्ने वा उनीहरूले पिच गरेका आइडियालाई बढवा गर्ने शो नभइ टीआरपी पाउनका लागि गरिएको रियालिटी शो हो भनेका छन् । त्यसलाई रिप्लाई गर्दै थापरले उक्त शोमा सहभागी उद्यमीलाई आफूले वास्तविक पैसा लगानी गरेको धारणा राखेकी छन् । उनी भन्छिन्, "कुरा वा टिप्पणी गर्न सजिलो छ । तर, समय, कर्जा, सल्लाह र फैसला दिन गाह्रो छ ।" 

यता अश्नीर ग्रोभरले भने आफ्नो चर्चित भएको शब्द 'दोग्लापन' (दुईओटा कुरा गर्ने स्वभाव) लाई लिएर पुस्तक नै निकालेका छन् । उनको पुस्तकको नाम 'दोग्लापनः द हार्ड ट्रुथ अबाउट लाइफ एण्ड स्टार्टअप्स' रहेको छ ।अश्नीरले लिङ्कड्इनमा लेखेका छन्, "यो पुस्तक पढिसकेपछि तपाईँ आफ्नो जागिर छोडेर आफ्नै स्टार्टअप गर्न थाल्नुहुनेछ । वा, एक कर्मचारी भएर जीन्दगी बिताउनु हुनेछ ।  म विश्वस्त छु तपाईँ रोजगार र उद्यमशिलताको बीचमा भने अड्किनु हुन्न ।" 

 

पछिल्लो अध्यावधिक: मंसिर ९, २०७९ १३:२३