close

नेपाली पात्रोमा अब मनपर्ने रेडियोको कार्यक्रम सुन्दै अनलाइन समाचार पढ्न सकिने

टेकपाना टेकपाना

मंसिर ९, २०७९ १५:४८

नेपाली पात्रोमा अब मनपर्ने रेडियोको कार्यक्रम सुन्दै अनलाइन समाचार पढ्न सकिने

काठमाडौं । नेपाली पात्रोमा नयाँ अपडेट आएको छ । कम्पनीले  'अद्भूत रेडियो' (रेडियो पनि अनलाइन समाचार पनि) भन्ने थिममा आईओएस तथा एन्ड्रोइड दुवैका लागि नयाँ अपडेट सार्वजनिक गरेको हो ।

यो अपडेटमा देशभर र देश बाहिरबाट सञ्चालन हुने नेपाली रेडियोहरुलाई समेटिनुका साथै अहिलेसम्म रेडियो एप्लिकेसनमा प्रयोग नभएका केही नवीन र स्मार्ट सुविधा समावेश गरिएको कम्पनीले जनाएको छ ।

''नेपाली पात्रो प्रयोगकर्ता र नेपाली पात्रोमा रहेको रेडियोलाई उहाँहरुका लागि अझै स्मार्ट, अझै अद्भूत र विविध उपयोगी सुविधा समेटेर याे अपडेट सार्वजनिक गरेका छौं,'' कम्पनीका प्रमुख कार्यकारी निर्देशक सन्तोष देवकोटाले भने, ''यसअन्तर्गत रेडियोका स्रोताहरुले नेपाली पात्रोमा रहेको आफूलाई मनपर्ने रेडियोलाई सुन्दा त्यही त्यस रेडियोको आधिकारिक अनलाइन समाचारका हेडलाइनहरु पनि देख्न सक्नेछन् । ती समाचारहरुलाई विभिन्न सामाजिक सञ्जालहरुमा शेयर गर्न पनि मिल्छ ।''

सात ओटै प्रदेशका लोकप्रिय स्थानीय एफएम/रेडियोहरुले अनलाइन भर्जनमा समेट्ने पलपलको खबर, अपडेटेड र ब्रेकिङ समाचारहरु सोही रेडियोको पेजमा पढ्न सकिने उनले जानकारी दिए ।

प्रयोगकर्ताले नेपाली पात्रो लगइन गरी आफूलाई मनपरेको रेडियोलाई 'फेब' गर्ने, विभिन्न सामाजिक सञ्जालमा शेयर गर्ने, उक्त रेडियो कति जनाले सुने र कति ओटा लाइक भयो भन्ने कुराहरु देख्न सक्नेछन् । साथै रेडियो सुन्ने प्रयोगकर्ताले नेपाली पात्रो लगइन गरी आफूले सुन्ने रेडियोमा आफ्नो विचार सम्प्रेषण समेत गर्नसक्ने उनले बताए ।

त्यसरी सम्प्रेषण गरिएका विचारहरुमा अन्य प्रयोगकर्ताले प्रतिक्रिया समेत दिन सक्नेछन् । नयाँ मोबाइलमा नेपाली पात्रो इन्स्टल गर्नुभयो अथवा अनइन्स्टल गरी इन्स्टल गर्नुभयो भने लगइन नगरी 'फेब' गरिएका रेडियो लिस्टहरु फेब सूचीमा देखिने छैनन ।

''यो अद्भूत  अझै किन छ भने यो नयाँ अपडेटमा रेडियो खोज्नका लागि सजिलो सर्च माथिल्लो भागमै सहज हुनेगरी राखिएको छ भने नेपाली पात्रोमा धेरै सुनिने ट्रेन्डिङमा रहेका रेडियोहरु, प्रदेश अनुसारका रेडियोहरु, फ्रिक्वेन्सी सहितका रेडियोहरु र प्रिक्वेन्सी नभएका, तर अनलाइन माध्यममा रहेका लोकप्रिय अनलाइन रेडियोहरु पनि एप्लिकेसनको माथिल्लो ट्याबहरुमा समेटिएका छन्,'' उनले भने ।

यस सुविधाले प्रयोगकर्तालाई फ्रिक्वेन्सी रेडियो र अनलाइन रेडियोमध्ये जुन माध्यमको रेडियो सुन्न मन लाग्छ, सोही अनुसारको ट्याबलाई सेलेक्ट गरी आफूलाई मनपर्ने रेडियो सुन्न र खोज्न सजिलो बनाएको देवकोटाको भनाइ छ । 

रेडियो अपडेट बाहेक नेपाली पात्रोमा विश्वकप फुटबलको स्कोर अपडेट, सहभागी टोली, अंक तालिका, लाइनअप, हरेक खेलको स्ट्याट र लाइभ टेक्स्ट कमेन्ट्री सहितको सुविधा र ‘प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७९’ मतगणनाको लाइभ अपडेट पनि हेर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: मंसिर ९, २०७९ १५:५७