close

फुटबल विश्वकप लाइभ दिने 'पाइरेटेड' साइट र एपमाथि नेपालको प्रतिबन्ध

टेकपाना टेकपाना

मंसिर ९, २०७९ १७:७

फुटबल विश्वकप लाइभ दिने 'पाइरेटेड' साइट र एपमाथि नेपालको प्रतिबन्ध

काठमाडौं । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले विश्वकप फुटबलको अनधिकृत लाइभ स्ट्रिमिङ गर्ने ओटीटी एप तथा वेबसाइटमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । दूरसञ्चार क्षेत्रका लागि सरकारी नियमन संस्थाको रूपमा रहेको प्राधिकरणले मिडिया हबले नेपालभर प्रत्यक्ष प्रसारणको अधिकार पाएको भन्दै  त्यसको हनन हुन नदिन यस्तो निर्णय गरेको हो ।

यससँगै प्राधिकरणले इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई त्यस्ता वेबसाइट तथा एपमाथि प्रतिबन्ध लगाउने अधिकार समेत दिएको छ । शुक्रबार सबै इन्टरनेट सेवाप्रदायकहरूको नाममा निर्देशन जारी गर्दै प्राधिकरणले अनधिकृत प्रसारण रोक्न भनेको हो ।

नेपालभर फिफा विश्वकप फुटबल कतार २०२२ को प्रत्यक्ष प्रसारण गर्ने अधिकार खरिद गरेको मिडिया हब प्रालिले आधिकारिक रुपमा हिमालय टेलिभिजन एचडी प्रिमियमबाट त्यसको प्रत्यक्ष प्रसारण गरिरहेको छ । 

उक्त प्रसारणको लागि आधिकारिक संस्थाबाट मिडिया हब प्रालिको नाममा मिडिया अधिकार लिएको पाइएको प्राधिकरणले उल्लेख गरेको छ । नेपालमा आधिकारिक रुपमा कुनै पनि मोबाइल एप तथा ओटीटी र वेबसाइटलाई त्यस्तो सामग्री प्रसारण गर्ने अधिकार छैन ।

"यस्तोमा फेसबुक, युट्युब लगायतका इन्टरनेटमा आधारित ओटीटी प्लेटफर्महरूबाट समेत अनधिकृत प्रसारण हुँदा सम्बन्धित संस्थाहरूको कानूनी अधिकार हनन् र आर्थिक तथा व्यावसायिक नोक्सानी पर्ने भएकाले त्यस्ता अनधिकृत प्रसारणलाई बन्द गराइदिनु हुन निर्णय अनुसार अनुरोध गरिन्छ," प्राधिकरणले मिडिया हबलाई बोधार्थ उल्लेख गर्दै जारी गरेको सूचनामा भनिएको छ ।  

पछिल्लो अध्यावधिक: मंसिर ९, २०७९ १७:८