close

कतार विश्वकप, जहाँ अहिलेसम्मकै धेरै प्रविधि प्रयोग गरिएको छ

टेकपाना टेकपाना

मंसिर १०, २०७९ १३:३

कतार विश्वकप, जहाँ अहिलेसम्मकै धेरै प्रविधि प्रयोग गरिएको छ

काठमाडौं । कतारमा जारी फुटबलको विश्वकपमा धेरै कुराहरू पहिलो पटक भइरहेको छ । जस्तो कि पहिलो पटक विश्वकप फुटबल जाडोमा आयोजना गरिएको छ भने खाडी मुलकमा पहिलो पटक आयोजना गरिएको छ । यसको साथै फुटबलको परम्परावादी अभ्यासलाई आधुनिकीकरण गर्न खोज्ने नयाँ ट्र्याकिङ प्रविधिहरू यो विश्वकपमा पहिलोपटक प्रयोग हुँदैछ ।

१२ वर्षअघि पहिलो पटक प्रतियोगिताको अधिकार पाएदेखि यस प्रतियोगिताको पूर्वाधार निर्माणमा ३०० अर्ब डलरभन्दा बढी खर्च गरेको कतारले आफ्ना केही चकित र कतिपय अवस्थामा डरलाग्दो कुरा देखाउने मौकाको प्रयोग गरिरहेको छ । यस वर्षको फिफा विश्वकपलाई प्रविधिले ओतप्रोत गरिएको छ । 

कनेक्टेड बल टेक्नोलोजी

यस वर्षको विश्वकपमा प्रयोग हुने प्रत्येक फुटबलमा आडिडासले विकास गरेको "कनेक्टेड बल टेक्नोलोजी" प्रयोग गरिएको छ । यसले फुटबल ग्राउन्डमा खेलाडीले हानेको प्रत्येक किक र हेडरको (टाउकोले हानेको बल) प्रभाव र चालमा सटीक डेटा ट्र्याकिङ प्रदान गर्दछ । बाहिरबाट बल सामान्य देखिने भए पनि, भित्री रूपमा यो रिचार्जेबल ब्याट्रीद्वारा सञ्चालित मोसन सेन्सरले बनाइएको छ ।

उक्त सेन्सरले फिफाको भिडियो म्याच अधिकारीहरूलाई डेटा पठाउँछ, जसले त्यसपछि अफसाइड निर्णयहरू निर्धारण गर्न र अस्पष्ट रुपमा छोइएको विवादहरू समाधान गर्न मद्दतको लागि डेटा लाइभको समीक्षा गर्दछ । यो बल आडिडासले विेशेष गरी यही विश्वकपको लागि मात्र तयार गरेको हो । 

सेमी अटोमेटेड अफसाइड ट्रयाकिङ टेक्नोलोजी 

सामान्य रुपमा बुझ्दा खेलाडीहरूले अफसाइट किक गरे कि गरेनन् भनेर पत्ता लगाउने प्रविधि नै सेमी-अटोमेटेड अफसाइड ट्रयाकिङ टेक्नोलोजी हो । यो प्रविधिले सहायक रेफ्रीको काम गरेको हुन्छ । विशेषगरी सम्भावित रेड कार्डका लागि, पेनाल्टी, काउन्टरचेक जस्ता कुरामा यो प्रविधिले सघाउँछ ।

विश्वकप रंगशालाको छानामा १२ ओटा क्यामेरा जडान गरिएको छ । जसले बल र प्रत्येक खेलाडीलाई २९ ओटा पक्षबाट ट्रयाक गरिरहेको हुन्छ । जसले गर्दा खेलाडी कुन समयमा कुन स्थानमा छ भन्ने कुरा भीएआर रूमबाट हेर्न सकिन्छ ।

त्यो २९ ओटा पक्षबाट संकलन गरिएको डेटाले हात-खुट्टाको स्थान हेरी अफसाइड भए/नभएको जानकारी दिन्छ । यो प्रणाली स्वचालित छ । फिफा विश्वकप २०२२ मा प्रयोग भएको एएल रिह्ला (al rihla) बलमा भएको मोसन सेन्सरले पनि सेमी-अटोमेटेड अफसाइड प्रविधिलाई सघाएको हुन्छ ।

क्यामेराले उपलब्ध गराएको खेलाडीको हातखुट्टा स्थानको डेटा र बलले ट्रयाक गरेको डेटालाई आर्टिफिसियल इन्टेलिजेन्स प्रयोग गरी अफसाइड भए/नभएको जानकारी लिइन्छ । यसरी दुवै डेटा मूल्याङ्कन गरी भीएआर रूममा रहेका प्राविधिकले कुन खेलाडी अफसाइड स्थानमा छ भन्ने कुरा पुष्टि गर्छन् । र, वास्तविक समयमा त्यसको जानकारी दिन्छन् ।

यो प्रक्रिया यति छिटो हुन्छ कि, त्यहाँ अफसाइड हुँदा भीएआरले जानकारी दिइसक्छ । अफसाइड अवस्थालाई प्रस्ट बनाउन भीएआर रुमबाट थ्रीडी एनिमेसनका रूपमा खेलाडीको स्थान देखाइन्छ ।

क्यामेराबाट दर्शकको निगरानी 

विश्वकप हेर्न आउने खेलाडीहरूको सुरक्षाका लागि भन्दै कतारले विभिन्न स्थानमा १५ हजार बढी क्यामेरा जडान गरेको छ । यी सबै क्यामेरामा फेस रिकग्निशन प्रविधि प्रयोग गरिएको छ । कतारमा १० लाखभन्दा बढी दर्शक विश्वकप हेर्न गएका छन् र यी दर्शकलाई कुनै पनि प्रकारको आतंकवाद, हुलदङ्गा लगायतका जोखिमबाट सुरक्षा दिनको लागि यी क्यामेरा प्रयोग गरिएको आयोजकको भनाइ छ ।

यी क्यामेरा सबै आठ रंगशालामा जडान गरिएको छ भने रंगशाला व्यवस्थापनको कन्ट्रोल सेन्टरबाट परिचालित र निगरानी गरिनेछ । उक्त सेन्टरमा सुरक्षा प्राविधिकहरू खटाइएको छ, जसले कार्यक्रमका दौरान क्यामेराबाट देखिने दृश्यको निगरानी राख्नेछन् ।

रंगशालासहित मेट्रो ट्रेन, बस स्टेसनहरूमा पनि क्यामेरा जडान गरिएको छ । साथै कतार विश्वविद्यालयले विकास गरेको ड्रोनमार्फत दर्शकहरूलाई बाटोमा पनि निगरानी राखिनेछ । कुनै अप्रिय घटना भएको अवस्थामा जडान गरिएको ‘सेक्युरिटी मनिटर’ मार्फत म्याप प्रयोग गरी सुरक्षाकर्मी घटनास्थलसम्म जान सक्नेछ्न ।

फिफा प्लेयर एप 

कतारले यो पटक खेलाडीहरूको लागि भनेर छुट्टै मोबाइल एपको पनि व्यवस्था गरेको छ । विश्वकपमा सहभागी खेलाडीहरूले आफैंले फिफा प्लेयर एप मार्फत खेलको दौरान भएको आफ्नो गतिविधिको विवरण आफैँ हेर्न सकिनेछ । यस्तो व्यवस्था यो भन्दा अघिका कुनै पनि विश्वकपमा भएको थिएन ।

नयाँ एपले खेलाडीको खेल समयमा गरेको प्रदर्शनको अनुगमन गर्छ र त्यसपछि खेल समाप्त भएको केही समयपछि सम्बन्धित खेलाडीलाई उसको विवरण प्रदान गर्दछ । 

एपले फिल्ड क्यामेरामा कैद गरिएका विभिन्न डेटा पोइन्टहरू मापन गर्दछ, जसमा कभर गरिएको दूरी, अधिकतम गति र निश्चित स्पीड थ्रेसहोल्ड माथि गरिएका कार्यहरूको संख्या समावेश छ। ती मेट्रिक्स र खेलाडीको प्रदर्शनका अन्य संकेतहरू प्रयोग गरेर, एल्गोरिदमले त्यसपछि फुटबलरहरूले अध्ययन गर्न सक्ने विश्लेषण र विवरण प्रदान गर्दछ। यसले खेलाडीलाई आफ्नो खेल सुधार गर्न मद्दत हुने बताइएको छ । 

कुलिङ प्रणाली 

कतारमा विश्वकप आयोजना हुने भन्ने वित्तिकै सबैको एउटै प्रश्न थियो- यस्तो गर्मी हुने ठाउँमा कसरी खेल आयोजना गर्न सकिएला ? तर कतार र फिफामा जाडो याममा पहिलो पटक आयोजना गरेको यो खेलमा कुलिङ प्रविधि प्रयोग गरिएको छ । खाडी राज्यको चर्को गर्मीको कारणले मिति सरेको यो खेल नोभेम्बरमा हुने तय गरिएको थियो ।

यद्यपि अहिले पनि कतारको राजधानी दोहाको तापक्रम ९० डिग्री फरेनहाइट पुग्ने अनुमान गरिएको छ । यो तापक्रमको क्षति कम गर्न र रंगशालालाई चिसो बनाइराख्न त्यहाँ कुलिङ प्रविधि प्रयोग गरिएको छ । यो प्रविधिले पाइपहरू मार्फत रंगशालामा बहने बाहिरी हावालाई चिसो गर्ने काम गर्दछ । अर्थात् यी पाइपहरुले बाहिरको तातो हावालाई चिसोमा परिणत गरेर रंगशालामा प्रवाह गर्दछ ।

पछिल्लो अध्यावधिक: मंसिर १०, २०७९ १३:३