close

पब्जी विश्वकपको फाइनलमा पुग्यो नेपाली टिम ‘ट्रेन टु किल’

टेकपाना टेकपाना

मंसिर ११, २०७९ २१:३०

पब्जी विश्वकपको फाइनलमा पुग्यो नेपाली टिम ‘ट्रेन टु किल’

काठमाडाैं । नेपाली टिम ‘ट्रेन टु किल’ मलेसियामा जारी पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप (पीएमजीसी) को फाइनल प्रवेश गरेको छ । ‘ट्रेन टु किल’ले  समूह चरणको अन्तिम दिनको  खेलमा उत्कृष्ट प्रदर्शन गर्दै फाइनल यात्रा तय गरेको हो ।

अन्तिम गेममा पोइन्टको आधारमा नजिकको प्रतिद्वद्वि ‘रिजेक्ट’, ‘आईएचसी’ र ‘गिकी ई-स्पोर्ट्स’ लाई पाखा लगाउँदै ‘ट्रेन टु किल’ २०२२ को पीएमजीसीको फाइनलमा पुग्ने पहिलो नेपाली टोली बनेको छ । सुरुवात राम्रो भए पनि बीचमा केही खराब प्रदर्शन गरेको ‘ट्रेन टु किल’ ले अन्तिम दिनमा राम्रो पुनरागमन गर्दै यो उपलब्धी हात पारेको हो ।

‘ट्रेन टु किल’ले २४ खेलबाट ९२ एलिमिनेसन र दुई चिकेन डिनरसहित कूल २१४ पोइन्ट बटुलेको छ । त्यस्तै पहिलो स्थानमा रहेको टिम मलेसियाको पब्जी टिम ‘गिक फाम’ को १४८ एलिमिनेसन पोइन्ट र तीन चिकेन डिनर सहित २९२ पोइन्ट रहेको छ ।

दोस्रो स्थानमा चीनको पब्जी टिम ‘फो एङ्ग्री म्यान’ रहेको छ । जसले ११४ एलिमिनेसन पोइन्ट र तीन चिकेन डिनर सहित २३१ पोइन्ट बटुलेको छ । 

यो प्रतियोगिताको फाइनल खेल २०२३ को जनवरी ६ देखि ८ सम्म इन्डोनेसियाको जाकार्तामा  हुनेछ । यो प्रतियोगिताको कूल पुरस्कार राशि ४० लाख अमेरिकी डलर (५२ कराेड रूपैयाँ बढी) रहेको छ ।

जसमध्ये विजेताले ९० हजार अमेरिकी डलर (करिब एक करोड १८ लाख), उपविजेताले ८५ हजार अमेरिकी डलर (करिब एक करोड ११ लाख रुपैयाँ) र तेस्रो हुने टिमले ८० हजार अमेरिकी डलर (करिब एक करोड चार लाख रुपैयाँ) हात पार्नेछन् ।  ट्रेन टु किलले पछिल्लो चार दिनको खेलबाट पुरस्कार स्वरूप एक करोड चार लाख रुपैयाँभन्दा बढी प्राप्त गरिसकेको छ ।


 

पछिल्लो अध्यावधिक: मंसिर १२, २०७९ १५:१३