close

देशभर निशुल्क ई-सिम वितरण गर्दै नेपाल टेलिकम

टेकपाना टेकपाना

मंसिर १२, २०७९ १७:८

देशभर निशुल्क ई-सिम वितरण गर्दै नेपाल टेलिकम

काठमाडौं । नेपाल टेलिकमले यही मंसीर ८ गतेदेखि देशभरका सम्पूर्ण दूरसञ्चार कार्यालयहरूबाट ई–सिम वितरण गर्न सुरु गरेको छ । कम्पनीले ई–सिमको वितरण २०७९ भाद्र ३१ गतेदेखि काठमाडौंको सुन्धारास्थित ग्राहक सेवा केन्द्रबाट सुरु गरेको थियो ।

हालका लागि पहिलेदेखि नै कम्पनीका सिमकार्ड प्रयोग गरिरहेका पुराना प्रिपेड तथा पोस्टपेडका ग्राहकले सिम परिवर्तन गर्न चाहेमा कम्पनीले निःशुल्क ई–सिम उपलब्ध गराइरहेको छ । फिजिकल सिम प्रयोग गरिरहेका कम्पनीका पुराना पोस्टपेड र प्रिपेड ग्राहकहरुले निःशुल्क रुपमा ई–सिम लिन सक्नेछन् भने नयाँ पोस्टपेड सेवा लिन चाहने ग्राहकलाई हालको बिक्री मूल्यमै ई–सिम उपलब्ध गराइने कम्पनीले जनाएको छ । 

मोबाइल सेटमा ई–सिम इन्स्टल गर्नका लागि क्यूआर कोडमार्फत स्क्यान गर्नुपर्छ । क्यूआर कोडको सुविधा भएका पछिल्लो पुस्ताका मोबाइल सेटमा मात्र ई–सिम प्रयोग गर्न सकिन्छ । यसकारण सबैभन्दा पहिले आफ्नो मोबाइल सेटमा ई–सिम चल्ने वा नचल्ने यकिन गरेर मात्र ई–सिमका लागि कम्पनीका ग्राहक सेवा केन्द्रमा जान कम्पनीले आग्रह गरेको छ । 

आफ्नो मोबाइलमा ई-सिम चल्ने अथवा नचल्ने थाहा पाउनका लागि *#०६# डायल गरेर थाहा पाउन सकिन्छ । यसरी डायल गर्दा ईआईडी (EID) लेखिएको संकेतसहितका नम्बर देखियो भने उक्त सेटमा ई–सिम चल्छ भनी थाहा पाउन सकिन्छ । 

अथवा आफ्नो मोबाइलमा ई-सिम चल्छ वा चल्दैन भनेर थाहा पाउन यहाँ क्लिक गर्नुहोस् । 

पछिल्लो अध्यावधिक: मंसिर १२, २०७९ १७:८