close

ठूलो सङ्ख्यामा कर्मचारी कटौती गर्दै विश्वभरका आईटी कम्पनी, जागिर गुमाउनेमा नेपाली पनि

टेकपाना टेकपाना

मंसिर १२, २०७९ १७:५३

ठूलो सङ्ख्यामा कर्मचारी कटौती गर्दै विश्वभरका आईटी कम्पनी, जागिर गुमाउनेमा नेपाली पनि

काठमाडौं । गएको दुई वर्षमा संसारका ठूला-ठूला प्रविधि कम्पनीहरूले लाखौँको सङ्ख्यामा कामदारलाई बर्खास्त गरेका छन् । एक महिना अगाडि मात्र मेटाले आफ्नो कम्पनीबाट १३ प्रतिशत अर्थात् ११ हजार कामदार निकालेको थियो ।

केही समय अगाडि एलन मस्कले ट्वीटरको स्वामित्व लिएपछि कम्पनीबाट करिब तीन हजार कर्मचारी निकालिए । अन्तर्राष्ट्रिय समाचारहरूका अनुसार अमेजन पनि दश हजार कर्मचारी कटौती गर्ने तयारीमा छ भने माइक्रोसफ्ट, लिफ्ट लगायतका ठूला-ठूला कम्पनीहरूले पनि सानो सानो संख्यामा कर्मचारी कटौती गरिरहेका छन् ।

ठूला ठूला कम्पनीहरूमा लाखौँ रूपैयाँ तलब खाने कर्मचारी मात्र होइन, विकासोन्मुख देशहरूमा आईटी कम्पनीमा ज्यालादारी काम गर्ने कर्मचारीहरू पनि प्रभावित भएका छन् । 

ती देशहरूमा नेपाल पनि एक हो । नेपालमा बसेर अनलाइन मार्फत विश्वका ठूला ठूला कम्पनीमा प्रत्यक्ष अथवा अप्रत्यक्ष रुपमा काम गर्ने व्यक्तिहरू पनि प्रभावित भएका छन् ।

केही मानिसहरू त बेरोजगार नै बनेका छन् । आफूले काम गर्ने ठाउँ नै नपाउँदा नेपाल जस्ता विकासोन्मुख देशका कामदारहरू गरिवीको रेखामुनि नपुग्लान् भन्न सकिन्न । 

टाइम म्यागेजिनका अनुसार ट्वीटरमा करारमा काम गर्ने करिब ५५ सय कर्मचारीहरूलाई रोजगारीबाट निकालिएको छ । ती मध्ये धेरै कर्मचारी फिलिपिन्सका थिए ।

यसरी कर्मचारी निकाल्नेमा क्लाउड फ्याक्ट्री पनि रहेको छ । केन्या र नेपालमा कार्यालय रहेको यो आईटी कम्पनीले हजारौँको संख्यामा युवाहरूलाई जागिर दिइरहेको थियो । 

यद्यपि पछिल्लो समयमा यो कम्पनीको माध्यमबाट माइक्रोसफ्ट लगायतका विश्वका ठूला प्रविधि कम्पनीको काम गर्ने कामदारहरू निकालिएका हुन् । विश्वमा परिवर्तन भइरहेको अर्थतन्त्रको स्वरूपले धेरै प्रविधि कम्पनीलाई असर गरिरहेको छ ।

क्लाउड फ्याक्ट्रीले मात्र हाल ६०० जति कम्पनीहरूलाई सेवा दिइरहेको छ । क्लाउड फ्याक्ट्रीसँग जोडिएका कम्पनीहरूले पनि कर्मचारी कटौती गरिरहेको छ । 

यसको सिधा अर्थ यो हो कि क्लाउड फ्याक्ट्रीसँग सम्बद्ध धेरै नेपाली कामदारहरू बेरोजगार भएका छन् । कम्पनी आफैंले पनि आफ्नो आम्दानी कम भएको स्वीकारेको छ । यद्यपि कम्पनीले आफूसँग जोडिएका कति कम्पनीबाट आफ्ना कामदार निकालिए भन्ने विषयमा भने कुनै आधिकारिक तथ्याङ्क अथवा भनाई दिएको छैन । 

कम्पनीले विस्तारै आफ्ना ठूला क्लाइन्टहरूको नाम आफ्नो वेबसाइटबाट हटाइरहेको छ । यसले पनि अनुमान लगाउन सकिन्छ  कि नेपाली कामदारहरु धेरै प्रभावित भएका छन् ।

जबकी क्लाउड फ्याक्ट्रीले विश्वभर १० लाख युवालाई रोजगारी उपलब्ध गराउने लक्ष्य राखेको थियो । तर विश्वका प्रविधि कम्पनीहरूको पछिल्लो अवस्थाले क्लाउड फ्याक्ट्रीको यो लक्ष्यलाई प्रभावित तुल्याइरहेको छ । 

किन कर्मचारी कटौती गर्दैछ ठूला कम्पनीहरू ? 

अहिलेका प्रविधि सम्बन्धी समाचारहरू हेर्ने हो भने हरेक हप्ता कुनै न कुनै ठूलो प्रविधि कम्पनीले कर्मचारी कटौती गरिरहेको सुनिन्छ । कर्मचारी कटौती गर्नेमा मेटा, माइक्रोसफ्ट, ट्वीटर, नेटफ्लिक्स मात्र होइन उबर, एयर बी एन्ड बी, जिलो, कोइनबेस, स्पोटीफाई, रोबिनहुड लगायत पनि छन् ।

आखिर किन यस्तो भइरहेको छ ? प्रविधिको क्षेत्रमा संसारले छलाङ्ग मारिरहेको बेला काम भने घट्दै गइरहेको छ । यो अवस्था कसरी आयो ?

फोर्ब्समा प्रकाशित एक लेखका अनुसार यी ठूला कम्पनीहरू आफ्नो पुरानो गल्तीलाई अहिले आएर सच्याइरहेका छन् । कामको कमी अथवा अन्य कुनै कारणले कर्मचारी कटौती भएको होइन ।

वास्तवमा कम्पनीहरूले कोरोना महामारीको समयमा भर्ना गरेका अनावश्यक कर्मचारीहरू अहिले घटाइरहेका छन् । महामारीको समयमा मानिसहरू लकडाउनमा हुँदा अनलाइन गतिविधि निकै बढेको थियो ।

अनलाइनमा समय कटाउनेदेखि लिएर अनलाइनबाटै काम गर्ने प्रचलन बढेको थियो । अनलाइनबाट नै काम गर्ने, अनलाइनबाट सामान मगाउने देखि लिएर हरेक कामहरू अनलाइन मार्फत नै हुन थाले ।

विश्वव्यापी उथलपुथलको बाबजुद, अनलाइन गतिविधिमा भएको यो उछाल प्राविधिक कम्पनीहरूको लागि वरदान बन्यो । यसले धेरै कम्पनीहरूको आम्दानी पनि ह्वात्तै बढायो । कतिले त आफ्नो इतिहासकै कीर्तिमानी आम्दानी समेत गरे ।

धेरै कम्पनीहरूले यो नै अबको नयाँ अभ्यास हो भन्ने ठानिसकेका थिए । यसले गर्दा उनीहरू कामदार थप्न बाध्य भए । बजारमा बढ्दो मागलाई पूरा गर्न उनीहरूले कर्मचारीहरू भटाभट थप गर्दै लगे । 

तर जसै महामारी थामिदै गयो, बजार फेरि पुरानै शैलीमा फर्किन थाल्यो । जुन उत्साहका साथ अनलाइन गतिविधिहरू बढेका थिए, महामारी कम हुँदै जाँदा त्यो उत्साह पनि मत्थर हुँदै गयो ।

उल्टै अनलाइन र भौतिक दुवै रुपमा काम गर्ने प्रचलन भने बढ्दै गयो । विस्तारै कम्पनीहरूको आम्दानी पनि कम हुँदै गयो । यसले गर्दा आफ्नो लागत कटौतीको लागि पनि कम्पनीहरूले कर्मचारी कटौती गर्न सुरु गरे । 

हुन त अहिले पनि केही कम्पनीहरूलाई अनलाइन गतिविधिले साथ दिइरहेको छ । तर महामारीको समयमा जस्तो आम्दानी भने छैन ।

ठूला कम्पनीहरूको लागि व्यवसायलाई सन्तुलित बनाउन कर्मचारी कटौती गर्नु र लगानीकर्तालाई खुशी बनाउन लगानी गर्नुमा धेरै फरक छ । उनीहरूको लागि नाफा कमाउनु ठूलो कुरा हो ।   

तर साना अथवा स्टार्टअप कम्पनीहरूको लागि भने कम्पनीलाई जोगाइराख्नु ठूलो कुरा हो । यसले गर्दा विभिन्न कम्पनीहरूको आ-आफ्नो स्वार्थ अनुसार कर्मचारीहरू कटौती गरिरहेका छन् ।

 

 

पछिल्लो अध्यावधिक: मंसिर १२, २०७९ १७:५३