close

साइबर अपराधीको जालमा यसरी फस्दैछन् नेपाली, साइबर ब्यूरोले दियो चेतावनी

टेकपाना टेकपाना

मंसिर १२, २०७९ १९:५३

साइबर अपराधीको जालमा यसरी फस्दैछन् नेपाली, साइबर ब्यूरोले दियो चेतावनी

काठमाडौं । क्रिप्टोकरेन्सीमा लगानी गर्दा पैसा दोब्बर हुने भन्दै ठगी गर्ने प्रवृत्ति बढेको छ । नेपाल प्रहरीको साइबर ब्यूरोले एक विज्ञप्ति जारी गर्दै अनलाइन तथा सामाजिक सञ्जालका माध्यमबाट भइरहेका ठगीबाट जोगिन सचेत गराएको हो । 

"विगत केही समयदेखि आपराधिक व्यक्ति तथा समूहले प्रविधिको दुरुपयोग गरी सामाजिक सञ्जाल मार्फत उल्लिखित प्रवृत्ति अपनाउँदै अनलाइनबाट ठगी गर्ने कार्य बढिरहेका छन्," साइबर ब्यूरोले भनेको छ । "त्यस्ता प्रवृत्ति दिन प्रति दिन बढ्दै गएको पाइएकाले यस्ता ठगिनबाट जोगिन सबैमा अनुरोध गर्दछौँ ।”

साइबर ब्यूरोका अनुसार ठगीका प्रवृत्ति मध्ये गिफ्टको प्रलोभन समेत रहेको छ । आपराधिक मनसाय भएका व्यक्तिले अनलाइनमा चिनजान भएको आधारमा गिफ्ट पठाइदिने प्रलोभनमा पार्ने गर्दछन् ।

त्यसपछि उक्त गिफ्ट प्राप्त गर्न कर भुक्तानी (Tax Clearance) गर्नुपर्ने बहाना बनाई रकम माग गर्छन् । यसैगरी अनलाइनमा चिठ्ठा पर्‍यो भनेर ठगी गर्ने प्रवृत्ति पनि बढेको उल्लेख छ ।

परेको चिठ्ठाका लागि कर भुक्तानी गर्ने भन्दै उनीहरू विभिन्न माध्यममा रकम पठाउन लगाउँछन् । यसरी चिठ्ठाको प्रलोभन देखाउँदै ठगी गर्ने कार्य भइरहेको ब्यूरोले जनाएको छ ।

ब्यूरोले अगाडि भनेको छ, "सामाजिक सञ्जाल ह्याक गरी सम्बन्धित अकाउन्ट प्रयोगकर्ताका निकटतम साथी पहिचान गरी विभिन्न बहानामा रकम माग गर्ने प्रवृत्ति पनि बढेको छ ।"

साथीभाइको सामाजिक सञ्जालबाट जरुरी कोड नम्बर पठाएको छु भन्दै ओटीपी (One Time Password) कोड माग गरी सम्बन्धित खातावालाको खाताबाट रकम निकाल्ने प्रवृत्ति पनि दिनानुदिन बढिरहेको प्रहरीले उल्लेख गरेको छ ।

त्यस्तै अनलाइनमा सस्तो मूल्यमा सामान राखी उक्त सामान पठाउनुअघि डेलिभरी चार्ज दिनुपर्ने भन्दै ठगी हुने गरेको समेत ब्यूरोले जनाएको छ ।

"सामाजिक सञ्जाल मार्फत प्रेमजालमा पारी अनेकन बहाना बनाई बैङ्क खाता खोल्न लगाई एटीएम कार्ड, ओटीपी लगायतको विवरण लिने प्रवृत्ति बढेको छ," ब्यूरोले भनेको छ, "आन्तरिक भिडिओ भाइरल गरिदिन्छु भनी रकम माग गर्नेहरू पनि बढेका छन् ।"

कतिपयले क्रिप्टोकरेन्सी तथा बिटक्वाइनमा लगानी गरे तुरुन्तै डबल हुन्छ भनी रकम माग गर्ने गरेको ब्यूरोको भनाइ छ । यस्ता प्रवृत्तिका साइबर अपराधका घटना बढेको भन्दै ब्यूरोले सचेत गराएको हो । 

पछिल्लो अध्यावधिक: मंसिर १२, २०७९ १९:५३