close

नागरिक एप र क्युरा हेल्थलाई अन्तर्राष्ट्रिय अवार्ड

टेकपाना टेकपाना

मंसिर १३, २०७९ १३:१५

नागरिक एप र क्युरा हेल्थलाई अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौं । सरकारी स्वामित्वको नागरिक एपले वर्ल्ड समिट अवार्ड (डब्लूएसए) २०२२ हात पार्न सफल भएको छ । विश्वभरबाट छनोटमा परेका ३५० बढि सहभागीहरू मध्ये नागरिक एपले 'गभर्मेन्ट एन्ड सिटिजन इन्गेजमेन्ट' विधातर्फको अवार्ड जित्न सफल भएको हो । नागरिक एपको सेवा, सुविधा र त्यसको प्रभावकारिताको आधारमा उक्त अवार्ड प्रदान गरिएको हो । 

त्यस्तै निजी क्षेत्रतर्फ भने नेपालबाटै 'हेल्थ एण्ड वेलबिइङ' विधातर्फ भने क्युरा हेल्थले डब्लूएसए २०२२ अवार्ड जितेको छ । यस वर्ष डब्लुएसए अवार्डका लागि ७९ देशबाट ३५० बढि सहभागीहरू छानिएका थिए । नेपालबाट भने नागरिक एप, क्युरा हेल्थ र वेद छनोटमा परेको थियो । अवार्ड विजेताले आगामी मार्च १ देखि ३ गतेसम्म मेक्सिकोमा आयोजना हुने डब्लुएसए ग्लोबल कंग्रेसमा आफ्नो सेवाको बारेमा प्रस्तुती दिन पाउनेछन् । उत्कृष्ट प्रस्तुती गर्ने सहभागीले डब्लुएसए २०२३ ग्लोबल च्याम्पियनका लागि पनि प्रतिस्पर्धा गर्ने मौका पाउनेछन् । 

नागरिक एप नेपाली सरकारी सेवा मोबाइल एप्लिकेसनबाट उपलब्ध गराउने उद्देश्यले तयार पारिएको सरकारी एप हो । यसैगरी क्युरा हेल्थ स्वास्थ्य सेवालाई डिजिटलाइज गर्ने उद्देश्यले तयार पारिएको मोबाइल एप हो ।

यो अवार्ड जितेसँगै आफूलाई थप जिम्मेवार बनाएको नागरिक एपका कम्प्युटर इन्जिनियर प्रविन चौहान बताउँछन् । "सबै सरकारी सेवा एउटै एपबाट उपलब्ध गराउने लक्ष्यका साथ तयार पारिएको एप डब्लुएसए अवार्ड विजेता हुँदा उत्साहित छौँ," उनले भने, "यसले हामीलाई थप जिम्मेवार बनाएको छ भने आगामी दिनमा अन्य सेवा विस्तार गर्दै लग्ने कुरामा प्रोत्साहन गरेको छ ।"

त्यस्तै क्युरा हेल्थका संस्थापक तथा सीईओ आयुष भगतले यो अवार्डले कम्पनीको सेवालाई थप विस्तार गर्न सहयोग गर्नुका साथै स्तरीय सेवा दिन प्रोत्साहन गरेको बताए । 


 

पछिल्लो अध्यावधिक: मंसिर १३, २०७९ १३:५२