close

एक महिनामै कसरी घट्यो छ लाख मोबाइल प्रयोगकर्ता ?

टेकपाना टेकपाना

मंसिर १४, २०७९ ९:४२

एक महिनामै कसरी घट्यो छ लाख मोबाइल प्रयोगकर्ता ?

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार एक महिनाकै अन्तरमा करिब छ लाख मोबाइल प्रयोगकर्ता घटेका छन् । प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार गत असारको तुलनामा साउनमा पाँच लाख ८० हजारभन्दा बढी मोबाइल प्रयोगकर्ता घटेको पाइएको हो । असारसम्म नेपालमा मोबाइल प्रयोग गर्नेको सङ्ख्या चार करोड सात लाख ९३ हजार थियो । सो सङ्ख्या घटेर साउनमा चार करोड दुई लाख १० हजारमा सीमित भएको हो । मोबाइल प्रयोगकर्ताको यो सङ्ख्यामा सीडीएमए प्रयोगकर्ता भने जोडिएको छैन । यो केवल जीएसएम मोबाइल प्रयोगकर्ताको सङ्ख्या हो । 

सेवा प्रदायकले लामो समय प्रयोग विहीन रहेका मोबाइल सिमकार्डलाई निष्क्रिय बनाउँदा प्रयोगकर्ताको सङ्ख्या तथ्याङ्कमा घटेको देखिन्छ । प्राधिकरणले एक वर्षसम्म प्रयोग नभएका सिमकार्ड सेवा प्रदायकले निष्क्रिय बनाउन सक्ने व्यवस्था लागू गरेको छ ।

प्राधिकरणका अनुसार कुल मोबाइल प्रयोगकर्तामध्ये नेपाल टेलिकमको सिमकार्ड प्रयोग गर्नेको सङ्ख्या दुई करोड सात लाख नाघेको छ । त्यस्तै एनसेलको सिमकार्ड प्रयोग गर्नेको सङ्ख्या एक करोड ७१ लाखमाथि छ । स्मार्ट टेलिकमले करिब २४ लाख सिमकार्ड बिक्री गरेको छ ।

घटेका मोबाइल प्रयोगकर्तामध्ये अधिकांश नेपाल टेलिकमका ग्राहक छन् । असारसम्म टेलिकमका दुई करोड १३ लाख ७७ हजार सिमकार्ड प्रयोगकर्ता रहेकोमा साउनमा यो सङ्ख्या घटेर दुई करोड सात लाखमा सीमित भएको छ । टेलिकमका मात्रै उक्त अवधिमा छ लाख ७४ हजारभन्दा धेरै ग्राहक घटेका छन् । उक्त अवधिमै एनसेलका प्रयोगकर्ता बढ्दा समग्रमा एक महिनामा मोबाइल प्रयोगकर्ताको सङ्ख्या छ लाखले घटेको देखिएको हो ।

नेपालमा मोबाइल प्रयोगकर्ताको यो सङ्ख्या जनसङ्ख्याको अनुपातमा भने अधिक बढी हो । प्राधिकरणका अनुसार कुल जनसङ्ख्याभन्दा ३८.८४ प्रतिशत बढीमा मोबाइलको पहुँच पुगेको देखिन्छ । जनसङ्ख्याभन्दा बढी मोबाइलको पहुँच देखिनुमा एकै प्रयोगकर्ताले एक भन्दा बढी सिमकार्ड प्रयोग गर्नु हो । प्राधिकरणले प्रति सिमकार्डलाई एक जना प्रयोगकर्ता मानेर गणना गर्दा मोबाइलको पहुँच जनसङ्ख्याभन्दा अधिक देखिएको हो । 

- गोरखापत्रबाट 

पछिल्लो अध्यावधिक: मंसिर १४, २०७९ ९:४२