काठमाडौं । इन्टरनेट अब मानिसहरूका लागि सामान्य बनिसकेको छ । कुनै समय कस्तो होला इन्टरनेट भन्ने सोच अब इन्टरनेट बिना केही पनि छैन भन्ने अवस्थामा पुगिसकेको छ ।
यद्यपि हामीले दिनहुँ प्रयोग गर्ने इन्टरनेटको इतिहासबारे केही आश्चर्यजनक तथ्यहरू छन्, जुन धेरैलाई थाहा छैन । यहाँ, इन्टरनेट इतिहासको बारेमा १४ तथ्य उल्लेख गरिएको छ, जुन निकै आश्चर्यचकित पार्ने खालका छन् ।
१. निःशुल्क डोमेन रजिस्ट्रेसन
आजको दिनमा डोमेन दर्ता गराउन औसतमा एक हजारदेखि तीन हजार रुपैयाँसम्म पर्छ । विभिन्न कारणहरूले यसको मूल्य फरक-फरक पर्न सक्छ । केही महत्त्वपूर्ण डोमेनहरू त लाखौं डलरमा लिलामी पनि हुन्छन् । तर निःशुल्क रुपमा भने डोमेन प्रयोग गर्न सकिँदैन ।
विगत फर्केर हेर्न हो भने डोमेन रजिस्ट्रेसन निःशुल्क भएका दिन पनि थिए । यद्यपि सन् १९९५ मा आएर डोमेन रजिस्ट्रेसन सशुल्क गराइयो । पहिलो रजिस्ट्रेसन १०० डलरदेखि सुरु भएको थियो ।
२. पहिलो स्पाम ईमेल
इन्टरनेटको विस्तार हुँदै गर्दा स्पाम ईमेल सामान्य हुँदै गएको छ । स्पाम ईमेलबाट सतर्क रहनका लागि दैनिक विभिन्न सचेतनाका सूचना पनि देखिने गर्छ । धेरैजना यसबाट सचेत छन् भने केहीलाई यसबारे केही जानकारी नै छैन । तर स्पाम ईमेल कुनै नयाँ कुरा भने होइन ।
पहिलो स्पाम ईमेल आजभन्दा ४४ वर्ष अगाडि पठाइएको थियो । सन् १९७८ मा 'ग्यारी थर्क' नामको एक व्यक्तिले अर्पानेट (ARPANET) का प्रयोगकर्तालाई कम्प्युटर बिक्री गर्ने भन्दै स्पाम मेल पठाएका थिए । हुन त त्यो समयमा उक्त मेललाई स्पाम मेलको नाम दिइएको थिएन ।
यो शब्द सन् १९९३ मा मात्र आएको थियो । सन् १९९३ मा युजनेटका प्रयोगकर्ताले जिस्कँदै यस्ता मेललाई स्पामिङ नाम दिएका थिए । यसपछि भने यो शब्द प्रचलनमा आयो ।
३. अमेजनको पुरानो नाम
अमेजन पहिले एउटा बुकस्टोरको रुपमा खुलेको कम्पनी हो । यो सबैलाई थाहा भएकै कुरा हो । तर केही कम व्यक्तिलाई मात्र त्यो बेला अमेजनको नाम अरू नै थियो भनेर थाहा होला ।
आज अमेजनको रुपमा चर्चित कम्पनीको पुरानो नाम ‘काडाब्रा’ थियो । यो नाम जादुमा प्रयोग हुने 'आब्राकाडाब्रा' शब्दबाट प्रेरित भएर राखिएको थियाे ।
अगाडिको आब्रालाई छोडेर काडाब्रा भनेर राखिएको नाम थियो । पछि जेफ बेजोसले आफ्नो वकिलको सल्लाहमा कम्पनीको नाम परिवर्तन गरेर अमेजन राखे ।
४. फेसबुकको रङ्ग निलो हुनुको कारण
कुनै पनि व्यक्तिले आफ्नो कम्पनीको ब्राण्ड रङ्ग छनोट गर्ने बेलामा धेरै कुरालाई ध्यानमा राखेर मात्र रङ्ग छनोट गर्ने गर्छन् । तर फेसुबकको रङ्ग छनोट गर्ने बेलामा भने मार्क जुकरबर्गले आफ्नो आँखाको समस्याका कारण निलो रङ्ग छानेका थिए ।
उनलाई ‘कलर ब्लाइन्ड’ को समस्या छ । उनी रातो र हरियो रंङ्ग राम्रोसँग छुटाउन सक्दैनन् । त्यसैले उनले फेसबुकको रङ्ग निलो बनाएका हुन् ।
५. माइस्पेसको २०१६ भन्दा अगाडिको डेटा हरायो
'माइस्पेस' कुनै समयको निकै चर्चित सामाजिक सञ्जाल थियो । लाखौं मानिसहरूको लागि माइस्पेस लोकप्रिय प्लेटफर्म थियो ।
तर सन् २०१६ मा सर्भर परिवर्तन गर्ने बेलामा २०१६ भन्दा अगाडिका सबै डेटा हराए । यसरी हराउनेमा माइस्पेसका प्रयोगकर्ताहरूको तस्वीर, भिडिओ, गीत लगायतका अन्य सबै डेटा डिलिट भयो ।
६. ईमेल एड्रेसमा किन हुन्छ '@' सिम्बोल ?
ईमेल एड्रेसमा नभई नहुने कुरामा पर्छ '@' सिम्बोल । यद्यपि यसको सुरुवातको कथा भने फरक छ ।
सुरुवाती समयहरूमा '@' सिम्बोल निकै कम प्रयोग हुने सिम्बोलमा पर्थ्यो । त्यसैले यसको प्रयोग बढाउनको लागि हरेक ईमेलमा '@' अनिवार्य गरिएको थियो । सन् १९७१ मा रे टमलिन्सन ईमेल आईडीमा प्रयोगकर्ताको युजरनेम र होस्टको नाम छुट्टाउनको लागि कुनै संकेत खोजिरहेका थिए ।
अन्य सिम्बोलहरूको तुलनामा यसको प्रयोग कम भएकोले यसको प्रयोग पनि बढ्ने हुँदा उनले यो सिम्बोल छनोट गरेका थिए ।
७. पहिलो ब्राउजर
संसारको पहिलो ब्राउजर वर्ल्ड वाइड वेब (WWW) थियो । बर्नर्स लीले वर्ल्ड वाइड वेब नामबाट ब्राउजरको पनि विकास गरेका थिए, जसलाई अहिले 'नेक्सस' भनेर चिनिन्छ ।
यसले एडिटर र ब्राउजर दुवैको काम गर्थ्यो । यद्यपि यो ब्राउजरको प्रयोग भने त्यति धेरै हुन सकेन ।
त्यसैले धेरैजसो मानिसहरू यो लगत्तै विकास भएका मोजाइक र नेटस्केप नामका ब्राउजरहरूकाे प्रयोग बढी गर्थे ।
८. क्याप्चा (CAPTCHA) को अर्थ
क्याप्चा भन्ने वित्तिकै धेरैलाई मन नपर्ने शब्द हुनसक्छ । धेरैजनालाई क्याप्चाको बारेमा थाहा हुनसक्छ, तर यसको अर्थको बारेमा धेरै कमलाई मात्र जानकारी छ ।
वास्तवमा क्याप्चा अथवा CAPTCHA को पूरा रुप 'कम्प्लिट्ली अटोमेटेड पब्लिक ट्योरिङ टेस्ट टु टेल कम्प्युटर एण्ड ह्युमन अपार्ट' हो । यसको पूरा रुपमा नै यसको अर्थ जोडिएको छ ।
मानिस र कम्प्युटर दुई फरक कुरा हुन् भनेर थाहा पाउनको लागि प्रयोग हुने स्वचालित सार्वजनिक परीक्षण नै क्याप्चा हो ।
९. गुगोल बिग्रिएर गुगल
गुगलकाे नाम पहिले 'Google' को थिएन । Googol बाट बिग्रिएर यसको नाम Google रहन गएको हो ।
गुगोलको वास्तविक अर्थ १०० ओटा शून्य भएको सबैभन्दा ठूलो अंक हो । गुगलका संस्थापक सेन एन्डर्सनले अनन्त जानकारी उपलब्ध हुने प्लेटफर्मलाई इंकित गर्दै गुगोल नाम राख्न लागेका थिए ।
तर डोमेन रजिस्टर गर्ने बेलामा उनले स्पेलिङ गल्ती गरेर गुगल टाइप गरे । यसैले यसको नाम गुगल नै रहन गयो ।
१०. वाई-फाई कुनै शब्दको छोटो रुप होइन
धेरैजनाले वाई-फाइ 'वायरलेस फाइडलिटी' को छोटो रुप हो भनेर बुझ्ने गर्छन् । वास्तवमा यो कुनै शब्दको छोटो रुप भने होइन । वाई-फाई प्रविधिको पुरानो नाम आईईईई ८०२ (IEEE 802) थियो ।
यो नाम अप्ठ्याराे भएपछि यसलाई सहज बनाउन यो प्रविधिको नाम वाई-फाई दिइएको हो । वाई-फाई हाइफाइ भन्ने शब्दसँग मिल्ने र यसलाई सम्झन पनि सहज हुने विश्वासले वाई-फाई नाम रहन गएको हो ।
११. इन्टरनेटमा सबैभन्दा पहिले बिक्री भएको वस्तु
विश्वमा आजको ई-कमर्स बजारको आकार खर्बौं रुपैयाँको छ । तर हरेक कुराको सुरुवात सानो बाट नै सुरु हुने गर्छ । ई-कमर्श पनि सुरुमा सानो प्लेटफर्म थियो ।
जेम बार्टलेटले आफ्नो किताब 'द डार्क नेट: इन्साइड द डिजिटल अन्डवर्ल्ड' नामको किताबमा संसारमा इन्टरनेटमा सबैभन्दा पहिले बिक्री भएको वस्तु गाँजा थियो भनेर उल्लेख गरेका छन् ।
उनको किताबका अनुसार गाँजाको डिल अनलाइन भएपनि बिक्री भने भौतिक रुपमा नै भएको थियो । पहिलो अनलाइन कारोबार भने सन् १९९४ मा ड्यान कोनले साङ्गीतिक एल्बमको सीडी बिक्री गर्दा भएको थियो ।
१२. गुगल र याहुले बाख्रा भाडामा लिएका थिए
हामीले ठूला कम्पनी भनेर चिनेको गुगल र याहुले करिब डेढ दशक अगाडि आफ्नो कार्यालय वरपरको जग्गामा उम्रेको घाँस सफा गर्न बाख्रा भाडामा लिएका थिए । कार्बन उत्सर्जन कम गर्न सहयोग हुनेभन्दै कम्पनीहरूले घाँस सफा गर्न बाख्रा चरनका लागि छोडेका थिए ।
सन् २००९ मा गुगलले २०० बाख्रा भाडामा लिएको थियो । यसअघि याहुले सन् २००७ मा नै बाख्रा भाडामा लिएर घाँस सफा गरेको थियो ।
१३. ईमेल पठाउने राजपरिवारको पहिलो सदस्य: रानी एलिजावेथ द्वितीया
सन् १९९७ मा राजकीय सिग्नल र रडारको स्थापनापछि अर्पानेट प्रयोग गर्ने ईमेल पठाउने बेलायतको राजपरिवारको पहिलो सदस्य रानी एलिजावेथ द्वितीया थिइन् । ईमेल प्रयोग गर्ने पहिलो सदस्य भएपनि उनी ट्वीटरमा भने सन् २०१४ मा र इन्स्टाग्राममा सन् २०१९ मा मात्र जोडिएकी थिइन् ।
१४. यूआरएलमा दुईओटा स्ल्यास (//) सिम्बोल प्रयोग गरेर बर्नर्स ली पछुताएका थिए
यूआरएल विकास गर्दा बर्नर्स लिले धेरै प्रशंसा पाएका थिए । तर उनलाई भने आफूले एचटीटीपीको पछाडि दुई ओटा स्ल्यास सिम्बोल प्रयोग गरेकोमा पछुतो थियो ।
यी स्ल्यासहरू प्रयोग नगर्दा पनि हुन्थ्यो भन्ने कुरा उनलाई धेरै पछि महसुस भएको थियो । यसले उनको समय र कागज खेर फालेको उनले महसुस गरेका थिए ।