close

४ महिनामै नेपाल भित्रिए १९ करोड मूल्यका सवा लाख स्मार्टवाच

टेकपाना टेकपाना

मंसिर १५, २०७९ ११:३३

४ महिनामै नेपाल भित्रिए १९ करोड मूल्यका सवा लाख स्मार्टवाच

काठमाडौं । विश्व बजारमा स्मार्टवाचको व्यापार बढ्दा नेपालमा पनि यसको आयात बढेको छ । प्रविधि क्षेत्रमा विभिन्न अध्ययन अनुसन्धान गर्ने संस्था काउन्टरप्वाइन्टले हालै जारी गरेको रिपोर्ट अनुसार सन् २०२२ को पहिलो त्रैमासिकको तुलनामा तेस्रो त्रैमासिकमा विश्वबजारमा स्मार्टवाचको व्यापार ३० प्रतिशतले बढेको छ । 

विश्वभर नै स्मार्टवाचको माग बढ्दा नेपाली बजारमा पनि विभिन्न ब्रान्डका स्मार्टवाच भित्रिरहेको छ । चालू आर्थिक वर्ष २०७९/८० को पहिलो चार महिनामा १९ करोड भन्दा बढी रकमको स्मार्टवाच विभिन्न देशहरूबाट आयात भएको छ ।

भन्सार विभागको तथ्याङ्क अनुसार साउन महिनादेखि कात्तिक मसान्तसम्म नेपालमा १९ करोड ६० लाख रूपैयाँ बराबरको एक लाख २१ हजार ६२४ थान स्मार्टवाच विभिन्न देशबाट भित्रिएको छ ।

नेपालमा सबैभन्दा बढी स्मार्टवाच चीनबाट भित्रिएको छ । नेपालले आर्थिक वर्षको पहिलो चार महिनामा चीनबाट मात्र १३ करोड ७२ लाख तीन हजार रुपैयाँ बराबरको एक लाख ४६ हजार २५ थान स्मार्टवाच आयात गरेको छ । स्मार्टवाच आयात गरिने देशमा दोस्रो स्थानमा भने भारत रहेको छ ।

यो अवधिमा नेपालमा भारतबाट चार करोड ६९ लाख ५१ हजार रुपैयाँ बराबरको १६ हजार ५५० थान स्मार्टवाच आयात गरिएको छ । यी दुई देशबाहेक नेपालमा अष्ट्रेलिया, जापान, दक्षिण कोरिया, न्युजिल्यान्ड, फिलिपिन्स, पोर्चुगल, कतार, युएई, अमेरिका र भियतनामबाट पनि यो अवधिमा नेपालमा स्मार्टवाच भित्रिएको छ । 

काउन्टरप्वाइन्टकाे रिपोर्टमा वार्षिक १७१ प्रतिशत वृद्धिसहित सबैभन्दा धेरै स्मार्टवाचको कारोबार हुने देशको सूचीमा भारत शीर्ष स्थानमा रहेकाे उल्लेख छ ।

काउन्टरपाेइन्टले दुई प्रकारको स्मार्टवाचको अध्ययन गरेको छ । पहिलो सामान्य स्मार्टवाच, जुन निकै नै हल्का हुन्छ र धेरै फिचर पनि हुँदैन । अर्को स्मार्टवाच, जुन विभिन्न अपरेटिङ सिस्टममा चल्ने गर्छ र जसको मूल्य पनि महँगो साथै यसमा धेरै फिचर पनि हुन्छन् ।

त्यस्तै ५० प्रतिशतभन्दा बढी बजार हिस्सासहित एप्पलको स्मार्टवाच शीर्ष स्थानमा छ ।

महँगा स्मार्टवाचहरूको सूचीमा एप्पलसँगै सामसङ, अमेजफिट र ह्वावे लगायत अन्य ब्राण्डहरू पनि रहेका छन् । पछिल्लो समय सामसङले आफ्नो उत्पादनको लागि भारतीय बजार नपाउँदा सामसङको स्मार्टवाच बिक्रीमा भने केही कमी आएको रिपोर्टमा उल्लेख छ ।

यस्तै सामान्य स्मार्टवाचतर्फ भने 'नोइज' ब्रान्डको २५ प्रतिशत बजार हिस्सा छ भने फायर-बोल्टको २४ प्रतिशत, बोटको १६ प्रतिशत, साओमीको ४.२ प्रतिशत र ह्वावेको ३.२ प्रतिशत बजार हिस्सा रहेको छ ।

पछिल्लो अध्यावधिक: मंसिर १५, २०७९ १२:७