close

एउटै ह्वाट्सएप अकाउन्ट दुई मोबाइलमा कनेक्ट गर्नुपर्‍यो ? यसो गर्नुहोस्

टेकपाना टेकपाना

मंसिर १५, २०७९ १५:३०

एउटै ह्वाट्सएप अकाउन्ट दुई मोबाइलमा कनेक्ट गर्नुपर्‍यो ? यसो गर्नुहोस्

काठमाडौं । अब उही ह्वाट्सएप अकाउन्ट दुई मोबाइलमा कनेक्ट गर्न सकिने भएको छ । कम्पनीले बुधबार बेटा भर्सनमा एउटै अकाउन्ट दुई फरक फोनमा प्रयोग गर्न सकिनेगरी नयाँ अपडेट सार्वजनिक गरेकाे छ । 

यदि तपाईँको फोन वा ट्याब्लेटमा ह्वाट्सएपको भी२.२२.२५.८ बेटा भर्सन अपडेट छ भने यो फिचर प्रयोग गर्न सक्नुहुन्छ । पछिल्लो अपडेटमा क्यूआर कोड स्क्यान गर्ने अप्सन छ । जसरी कम्प्युटरमा ह्वाट्सएप अकाउन्ट प्रयोग गर्न सकिन्छ, त्यसरी नै अर्काे फाेन वा ट्याब्लेटमा पनि उक्त अकाउन्ट लिङ्क गर्न सकिन्छ । 

यसमा भने ट्याब्लेटमा प्रयोग हुने ह्वाट्सएप मुख्य फोन अफलाइन हुँदा पनि प्रयोग गर्न सकिन्छ । एउटै ह्वाट्सएप अकाउन्ट दुईओटा डिभाइसमा प्रयोग गर्नका लागि तलको प्रक्रिया अपनाउनुहोस् । 

-सबैभन्दा पहिले तपाईँको मुख्य फोनमा ह्वाट्सएपको भी२.२२.२५.८ बेटा भर्सन इन्स्टल गर्नुहोस् । 

-त्यसपछि दोस्रो फोनमा डेभलपर अप्सन अन गर्नुहोस् । (डेभलपर अप्सन अन गर्न सेटिङमा-अबाउट फोन- बिल्ड नम्बरमा गई छ/सात पटक ट्याप गर्नुहोस् ।)

-यति गरेपछि त्यही फोनको सेटिङ-अबाउट फोन-डेभरलपर अप्सनमा गएर स्मलेस्ट विड्थमा जानुहोस् । 

-अनि त्यहाँ देखिएको बक्समा ६०० (600) टाइप गर्नुहोस् । (यसो गर्दा फोनको इन्टरफेस ट्याबलेटको जस्तो देखिन्छ । अक्षर पनि सानो हुन्छ ।) 

-यति गरेपछि उक्त फोनमा भी२.२२.२५.८ भर्सन इन्स्टल गर्नुहोस् । 

-त्यसपछि उक्त फोनमा ह्वाट्सएप खोल्नुहोस् । त्यहाँ ‘एग्री एण्ड कन्टिन्यु’मा ट्याप गर्नुहोस् । त्यसपछि नयाँ पेजमा डिभाइस लिङ्क गर्नका कागि क्यूआर कोड देखाइएको हुन्छ ।

 (यदि साइनअप गर्न भनेको रहेछ भने तपाईँको फोन ट्याब्लेट मोडमा गएको छैन भन्ने बुझ्नुपर्छ । त्यसका लागि माथि उल्लेख गरिएको डेभलपर अप्सन अन गर्रेर स्मलेसठ विड्थ (Smallest Width) ६०० राखेर पुनः त्यही प्रक्रिया अपनाउन सकिन्छ ।) 

यसरी क्यूआर कोड देखिसकेपछि पहिलेको फोनमा ह्वाट्एसप खोल्नुहोस् । त्यसपछि माथि दायाँपट्टि रहेको तीन ओटा डटमा ट्याप  गर्नुहोस् । यति गरेपछि त्यहाँ देखिएको लिङ्क्ड डिभाइसमा ट्याप गर्नुहोस् । अनि लिङ्क अ डिभाइसमा गएर दोस्रो फोनमा भएको क्यूआर कोड स्क्यान गर्नुहोस् । यसरी दुवै डिभाइसमा एउटै ह्वाट्सएप अकाउन्ट प्रयोग गर्न सकिन्छ । 

-यदि तपाईँलाई  दोस्रो फोनमा भएको सानो फन्ट तथा इन्टरफेस मन परेको छैन भने डेभलपर अप्सनमा गएर फन्ट साइट नर्मल राख्न सक्नुहुन्छ । त्यसले लिङ्क भएको ह्वाट्सएप अकाउन्टलाई केही असर गर्दैन ।

यसरी दुवै फोनमा ह्वाट्सएप अकाउन्ट लिङ्क गर्दा कल दुवै फोनमा आउँछ । यदि एउटा फोनमा ह्वाट्सएपको मेसेज पढ्नुभयो भने अर्को डिभाइसमा सिन भइसकेको देखिन्छ । तर, सबैभन्दा महत्त्वपूर्ण भूमिका तपाईँको मुख्य फोनले खेल्छ । यदि लिङ्क भएको दोस्रो डिभाइस हटाउनुपर्‍यो भने पनि मुख्य डिभाइसबाट नै हटाउन सकिन्छ ।

पछिल्लो अध्यावधिक: मंसिर १५, २०७९ १७:२७