close

नेपालमा जोसुकैले ईकमर्स व्यवसाय गर्नसक्ने भएपछि विश्वसनीयता खस्कियो

सुरक्षा अधिकारी

मंसिर १५, २०७९ १६:२१

नेपालमा जोसुकैले ईकमर्स व्यवसाय गर्नसक्ने भएपछि विश्वसनीयता खस्कियो

सन् २०१३ तिरबाट मैले अनलाइन व्यवसाय यात्रा सुरू गरेकी थिएँ । त्यो बेला हामीले चाँदीका गरगहना र भाडाकुँडा अनलाइनबाट बेच्न खोजेका थियौँ । तर त्यो व्यवसाय चलेन ।

किनभने अनलाइनको बजार नै थिएन । व्यवसायमा संलग्न मेरा साथीहरू तितरबितर भए ।

विदेशमा जे पनि अनलाइनमार्फत किन्ने र युवाले अनलाइन मार्केटप्लेस रूचाउने गरेको देखिरहेका बेला हामीले चाहिँ यहाँ अनलाइन व्यवसाय बन्द गर्नुपरेको थियो । त्यसले मलाई थोरै दुःखी बनायो । तर, अनलाइनप्रति मेरो विश्वास उडिसकेको थिएन ।

त्यही बेला मेरा एक साथीले पुनः अनलाइन मार्केटप्लेस सञ्चालन गर्नेबारे मसँग सल्लाह गर्नुभयो । उहाँ सूचना प्रविधि पृष्ठभूमिको हुनुहुन्थ्यो । म व्यावसायिक पृष्ठभूमिको भएकाले हामी दुई एकअर्कालाई सहयोगी बन्न सक्यौँ ।

त्यो सहकार्यमा हामीले नेपबे कम्पनी सुरू गरेका थियौं । सन् २०१६ सम्म अनलाइन मार्केटप्लेसको अवधारणा बुझाउन हामीलाई निकै सकस भयो । यसमा विक्रेता र खरिदकर्ता चाहिने भएकाले दुवैलाई हामीसँग जोडिन आग्रह गर्दै हिँड्नुपर्थ्यो ।

धेरैले आनाकानी गर्नुहुन्थ्यो । हामीले नेपालमा पहिलोपटक 'क्याश अन डेलिभरी’ (सामान प्राप्त भएपछि भुक्तानी दिने) अवधारणा सुरू गरेपछि चाहिँ सामान बेच्न अलि सहज भयो ।

हामीकहाँ अझै पनि क्याश अन डेलिभरीकै अवधारणा बढी प्रचलित छ । ग्राहकले अनलाइन भुक्तानीभन्दा नगद दिन रूचाउने गरेका छन् । पैसा तिरिसक्यो, सामान अर्कै आयो भने के गर्ने क होला भन्ने किसिमको हिचकिचाहट छ ।

सामान लिएपछि मात्रै पैसा बुझाउने बानीले गर्दा पनि अनलाइन भुक्तानी हाम्रो चलनचल्ती बनिसकेको छैन । तर, अनलाइन भुक्तानी गर्‍यो भने हामी ई-कमर्स कम्पनी र ग्राहकलाई दुवैलाई सहज हुन्छ । अनलाइन शपिङप्रतिको विश्वास बढ्दै गएपछि क्याश अन डेलिभरी बिस्तारै कम हुन्छ ।

हामीले काम थाल्दा नेपालमा अनलाइन मार्केटप्लेसका विक्रेताको पहिचान नै थिएन । कसले सामान बेचेको हो, थाहै नहुने । सन् २०१६ मा हामीले ठूलो डटकम सुरू गरेर विक्रेताको पहिचान समेत खुलाउन थाल्यौँ ।

ठूलोबाट घरायसी सामान, दाल, चामल, फ्रिजदेखि गरगहना सबैथोक बेच्न थाल्यौँ । गर्दै जाँदा हामीलाई प्राविधिक समस्या आइपरे । किनभने त्यो बेला ई-कमर्स सञ्चालनका लागि आवश्यक पूर्वाधार, जनशक्ति, जनतेचना, डिजिटल प्रणाली सबै कुराको अभाव थियो ।

अन्य कम्पनीको सेवा लिन महँगो पनि थियो । तसर्थ, हामी आफैँले प्रविधि र लजिस्टिक कम्पनी निर्माण गर्‍यौँ । त्यसबाट सफ्टवेयर, एप्लिकेसन, अनलाइन सिस्टम बनाउन थाल्यौँ । प्रविधि र लजिस्टकमा अन्य कम्पनीलाई पनि सेवा दिन थालेपछि हामीलाई टिकिरहन सजिलो भयो ।

सन् २०२२ सम्म आइपुग्दा ठूलो डटकमले धेरै प्रकारका सेवा उपलब्ध गराउन सक्ने भएको छ। तर, हाम्रो प्रमुख काम भनेको कुनै पनि व्यवसायलाई अनलाइनमार्फत सञ्चालन गर्न आवश्यक पर्ने साना-ठूला सबै किसिमका सुविधा उपलब्ध गराउनु हो ।

उदहारणका लागि कसैले बच्चाका लुगा बनाउने व्यवसाय गर्नुहुन्छ र त्यसलाई अनलाइन माध्यममा लैजान चाहनु हुन्छ भने हामी उहाँलाई सेवा सञ्चालनका लागि आवश्यक विद्युतीय अकाउन्टिङ सिस्टमदेखि पसलमा चाहिने पीओएस मसिन, वेबसाइटको डोमेन नेम, मोबाइल एप, भुक्तानी प्रणाली लगायतका सबै प्रणाली बनाइदिन्छौँ ।

उहाँहरुको व्यवसाय अनलाइनमा चलाउन सहजीकरण गर्छौँ । र त्यसलाई चाहिने सबै यन्त्र र प्रविधि उपलब्ध गराउँछौँ ।

हाल हाम्रा ‘बिजनेस क्लाइन्ट’ (बिक्रेताहरू) पाँच हजारभन्दा बढी हनुहुन्छ । व्यवसायलाई डिजिटाइज गर्नेमा हामीले बढी ध्यान केन्द्रित गरेका छौँ । काठमाडौं वरिपरि वा प्रदेश १ मा मात्रै नभएर हामीले अन्य ठाउँका व्यवसायीलाई पनि डिजिटाइजेसनमा जान झक्झकाउने, तालिम दिने, वेबसाइट बनाइदिने लगायतका काम गरिरहेका छौँ ।

त्यसमाथि महिला उद्यमीका व्यवसायलाई डिजिटाइज गर्न हामीले अझ बढी प्राथमिकता दिने गरेका छौँ । सन् २०१३ मा मैले काम थाल्दा अनलाइन मार्केटप्लेसका लागि कुनै पनि पूर्वाधार बनेको थिएन ।

'इन्टरनेट पेनिट्रेसन' (इन्टरनेट प्रयोगकर्ताको हिस्सा) दर नै १३ प्रतिशतजति थियो । फेसबुक पनि मान्छेले बल्लतल्ल चलाउने जमानामा ई-कमर्स चलाउँदा त्यसलाई चाहिने पूर्वाधार उपलब्ध गराउने कोही पनि थिएन ।

त्यसैले आफैँले बनाउँदै जानुपर्‍यो । प्रविधि उद्योगको सुरूवात गर्न हामीले पनि भूमिका खेल्न वा इँटा थप्न पाएकोमा अहिले खुसी लाग्छ ।

सबै गरेर हाल हाम्रो कम्पनीको वार्षिक कारोबार ७/८ करोड रूपैयाँजति हुन्छ । ५०/६० जनाले प्रत्यक्ष रोजगारी पाउनु भएको छ । यसमा ५०/५५ प्रतिशत त महिला मात्रै हुनुहुन्छ ।

फरक क्षमता भएका महिला उद्यमीलाई पनि हामीले ठाउँ दिएका छौँ । उहाँहरूमध्ये केहीले असाध्यै राम्रो काम गरिरहनुभएको छ । यत्तिका वर्षको अनुभवमा मैले घरेलु व्यवसाय गर्ने महिला धेरै भेटेकी छु ।

अचार बनाउने, सिलाइबुनाइ गर्ने, हस्तकला क्षेत्रलगायत काममा बढी संलग्न हुनुहुन्छ । यो ठिकै छ तर महिलाले अब झनै 'इनोभेटिभ' तरिकाले काम गर्नुपर्छ भन्ने लाग्छ ।

कतिपय पढेलेखेका महिला व्यवस्थापकीय भूमिकामा अब्बल देखिनुभएको छ । व्यवसायीका रूपमा चाहिँ महिलालाई सूचना प्रविधि (आइटी) को क्षेत्रमा खरो उत्रिन सक्ने प्रशस्त सम्भावना मैले देखेकी छु ।

लागिपरेर धैर्यसाथ काम गर्ने महिला स्वभाव आईटीमा पनि आवश्यक हुन्छ ।

म आफैँ पनि यो क्षेत्रमा भएकाले यहाँ महिलाको खाँचो महसुस हुन्छ । मेरै कम्पनीक‍ो प्रविधि विभागमा महिला जनशक्ति खोज्दा भेटिँदै नभेटिने अवस्था छ ।

तर, जति महिला हामीसँग आईटीमा काम गरिरहनुभएको छ, उहाँहरूको कार्यशैली असाध्यै चित्तबुझ्दो र प्रभावकारी छ । लागिपरेर धैर्यसाथ काम गर्ने महिला स्वभाव आईटीमा पनि आवश्यक हुन्छ ।

कलेजहरूमा आईटी वा बिजनेस स्टडिज पढ्ने महिला सङ्ख्या धेरै देखिन्छ । तर दुःखको कुरा के छ भने, तीमध्ये थोरैमात्रै उद्यमी भएर निस्किनुहुन्छ ।

नेपालमा आईटी उद्योग नयाँ वा उदाउँदो भएकाले एक त घरपरिवारलाई यसबारे बुझाउनै गाह्रो पर्छ । दोस्रो कुरा, नयाँ क्षेत्रमा नयाँ किसिमका जोखिम पनि हुन्छन् ।

यसले गर्दा कतिपयले यो क्षेत्रमा हात हाल्न रूचाउँदैनन् । तेस्रो भनेको, आईटीमा रोजगारीको अभाव नहुने भएकाले पढाइपछि धेरैले जागिर खान थाल्छन्, उद्यम गर्दैनन् ।

अलिकति फरक सोच्ने र नयाँ काम सुरू गर्छु भन्नेलाई यो क्षेत्रमा अवसर नै अवसर छ । विदेशका कम्पनीले आईटी क्षेत्रमा नेपाली मानव संशाधनलाई कति मजाले उपयोग गरिरहेका छन् र राम्रो पारिश्रमिक पनि दिइरहेका छन् । उद्यम गर्दा सुरूमै त्यो स्तरको कमाइ नभए पनि दीर्घकालीन हिसाबले राम्रो हुन्छ ।

महिला उद्यमीका समस्या 

उद्यमीका रूपमा अहिले त मलाई सहज छ, काम सुरु गर्दा महिला भएकैले कयौँ अड्चन पनि आए । निर्णय लिने ठाउँमा अघिल्लो व्यक्ति कोही पुरुष ‘डिसिजन मेकिङ फेस’ (निर्णायक तहको व्यक्ति) आउँछ कि तपाईँको निर्णय अन्तिम हो कि होइन भने झैँ गर्थे ।

आफ्नो विषयवस्तुलाई राम्ररी प्रस्तुत गर्न सक्यो वा निर्णय लिँदा विश्वसनीय ढंगले बोल्यो भने त्यस्ता चुनौतीलाई जित्न सकिन्छ । तर कम्पनी भन्नासाथ पुरुषले नै चलाएको होला भन्ने मानसिकता हुन्छ ।

फेसबुकमा आउने कमेन्ट र जिज्ञासामा समेत मान्छेले ‘हेलो सर’ लेखिरहेका हुन्छन् । ग्राहक सहायता कक्षमा धेरै जसो महिला नै हुन्छन् । तै पनि मानिसले ‘सर’कै अपेक्षा गरिरहेका हुन्छन् ।

पुरूष प्रधान मानसिकताको यो एउटा सानो उदाहरण दिएकी हुँ । यसले व्यवसायमा प्रभाव पार्छ नै । किनभने महिला उद्यमीले पटक-पटक आफू सक्षम छु भनेर प्रमाणित गरिरहनुपर्छ । पुरुषलाई यो झन्झट हुँदैन । उसले काममा ध्यान दिए पुग्छ ।

महिलाले व्यवसाय गर्दा घरपरिवारको कुरा सुन्नुपर्ने, भान्छाको काम सँगसँगै गर्नुपर्ने जस्ता समस्या हाम्रो मात्रै नभएर समग्र दक्षिण एसियाली महिला उद्यमीले भोग्दै आएको साझा चिन्ताको विषय हो । नेपालमा त महिला उद्यमीभन्दा पनि उद्यमी हुन नै गाह्रो छ ।

वित्तीय साधनमा पहुँच पाउन, स्रोतसाधन जुटाउन र सरकारी प्रक्रिया पूरा गर्न महाभारत झेल्नुपर्छ । हामीजस्तो ई-कमर्स व्यवसाय सञ्चालन गर्नेलाई त नीति नियमकै अभावले अन्यौल र भद्रगोल सिर्जना गरिदिएको छ ।

गुणस्तर मापन वा 'इन्ट्री बेरियर' नहुँदा यहाँ जो पनि ई-कमर्स चलाउन आइरहेका छन् । कतिपय कम्पनीका ग्राहक सहायता सेवा राम्रो नहुँदा समग्र ई-कमर्स क्षेत्रकै विश्वसनियतामा प्रश्न उठ्ने गरेको छ ।

नीति अभावका कारण ग्राहकले सामान फिर्ता गरे के गर्ने, डेलिभरीमा अवरोध भए कसलाई गुहार्ने जस्ता समस्या भोग्नुपर्छ । कम्पनी पिच्छे फरक नीति हुँदा ग्राहकलाई पनि अन्यौल र दुविधा हुने गरेको छ ।

यसले गर्दा घाटा ई-कमर्स कम्पनीहरूलाई नै हुन्छ । कार्यालय सञ्चालन प्रभावकारी नहुने र लागत बढी हुने गर्छ । अनलाइन शपिङ भरपर्दो हुन्न, झुक्याउने गर्छन् भन्ने खालको गुनासो पनि सुनिन्छ ।

नीति नियम अभावले नै यस्तो भएको हो । फेसबुक पेज वा इन्स्टाग्राममा खाता खोलेर सामान बेच्नेले पनि आफूलाई ई-कमर्स सञ्चालक भन्नु हुन्छ । उहाँहरूको व्यवसाय दर्ता पनि गरिएको हुँदैन ।

हाम्रा ग्राहकलाई पनि ईकमर्सबारे राम्रो जानकारी छैन । फेसबुकबाटै सामान किनिदिनु हुन्छ । यी कुरामा स्पष्टता ल्याउन नीति चाहिन्छ । नीतिमै रहेर हामीले काम गर्न र जनचेतना फैलाउन सक्छौँ ।

नीति बनेपछि बजारमा ‘सिरियस प्लेयर’ मात्रै टिक्छन् । जसले गर्दा ईकमर्स क्षेत्र भरपर्दो र बलियो हुने थियो । 

 

ठूलो डटकमकी सहसंस्थापक तथा प्रमुख सञ्चालन अधिकृत अधिकारीको यो विचार सेजन स्मारिका २०७९ (अर्थनीति) बाट लिइएको हो ।

पछिल्लो अध्यावधिक: मंसिर १५, २०७९ १६:५०