close

पब्जी विश्वकपमा फाइनल पुग्न स्काइलाइट गेमिङलाई आज अन्तिम अवसर

टेकपाना टेकपाना

मंसिर १५, २०७९ १७:३७

पब्जी विश्वकपमा फाइनल पुग्न स्काइलाइट गेमिङलाई आज अन्तिम अवसर

काठमाडौं । पब्जी विश्वकप अर्थात् पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप (पीएमजीसी) मा फाइनल प्रवेशका लागि अन्तिम अवसरको रुपमा आज स्काइलाइट गेमिङले अन्य १५ टिमसँग भिड्दै छ । सर्भाइबल स्टेजको खेल अन्तर्गत आज ‘ग्रीन ग्रुप’  र ‘यलो ग्रुप’ मा चौथोदेखि ११औँ  स्थानभित्र रहेका टिमबीच प्रतिस्पर्धा हुँदैछ ।

बुधबार भएको ‘रेड ग्रुप’ र ‘ग्रीन ग्रुप’को सर्भाइबल स्टेजको खेलमा नेपाली टिम ‘स्काइलाइट गेमिङ’ र ‘डीआरएस गेमिङ’ ले खासै राम्रो प्रदर्शन गर्न सकेनन् । जसका कारण सर्भाइबल स्टेजको अङ्क तालिकामा ‘स्काइलाइट गेमिङ’ र ‘डीआरएस गेमिङ’ क्रमश ११औँ र १२औँ स्थानमा रहेका छन् ।

 ‘स्काइलाइट गेमिङ’ ले अहिलेसम्म सात खेलबाट ११ एलिमिनेसन पोइन्ट सहित कुल ३८ पोइन्ट ल्याएको छ । त्यस्तै डीआरएसले छ खेलबाट ११ एलिमिनेसन पोइन्टसहित कुल ३५ पोइन्ट बटुलेको छ ।  ‘स्काइलाइट गेमिङ’ ले सर्भाइबल स्टेजका १२ खेलमध्ये छ खेल खेलिसकेको छ र बाँकी छ खेल पनि अहिले खेल्दैछ ।

त्यसैले अन्तिम चरणमा पुग्नको लागि महत्त्वपूर्ण स्टेज लास्ट चान्समा स्थान बनाउनको लागि पनि आजको खेल ‘स्काइलाइट गेमिङ’ को लागि निकै महत्त्वपूर्ण रहेको छ । यदि आजको खेलमा शीर्ष पाँचभित्र पर्न सफल भएमा भने सर्भाइबल स्टेजको अङ्क तालिकामा शीर्ष १६ भित्र पर्ने उच्च सम्भावना रहन्छ ।

‘डीआरएस गेमिङ’ को खेल भने शुक्रबार रहेको छ । शुक्रबार ‘रेड ग्रुप’ र ‘यल्लो ग्रुप’ बाट सर्भाइबल स्टेजमा पुगेका टिमबीच प्रतिस्पर्धा हुँदैछ । यो खेलको प्रत्यक्ष प्रसारण पब्जी मोबाइल साउथ एसिया ई-स्पोर्ट्सको युट्युब च्यानल तथा फेसबुक पेजबाट हेर्न सकिने छ ।

पछिल्लो अध्यावधिक: मंसिर १५, २०७९ १९:३९