close

विद्युतीय कार ल्याउँदै महिन्द्रा, सिङ्गल चार्जमा ४५६ किमिसम्म गुड्ने

टेकपाना टेकपाना

मंसिर १६, २०७९ १४:१३

विद्युतीय कार ल्याउँदै महिन्द्रा, सिङ्गल चार्जमा ४५६ किमिसम्म गुड्ने

काठमाडाैं । भारतीय अटाे निर्माता महिन्द्रा एन्ड महिन्द्रा (एम एन्ड एम) ले पूर्ण रूपमा बिजुलीबाट गुड्ने कार ल्याउने भएकाे छ । कम्पनीले आउँदो जनवरी महिनामा ‘एक्सयूभी४००’ माेडलकाे कार बजारमा ल्याउन लागेकाे हाे ।

एक पटकको फुल चार्जमा ४५६ किलोमिटरसम्म गुड्नसक्ने याे कार बेस, ईपी र ईएल गरी तीन फरक भेरियन्टमा उपलब्ध हुने कम्पनीले जनाएको छ । यसमा एसयूभी फन, फास्ट र फियरलेस मोड रहेका छन् ।

कम्पनीका अनुसार कारमा ३९.४ किलाे वाट आवर क्षमताकाे ब्याट्री दिइएको छ, जसलाई ५० किलोवाटको फास्ट चार्जरले ५० मिनेटभित्र शुन्यदेखि ८० प्रतिशत चार्ज गर्न सकिन्छ । त्यस्तै यो कारले १५० हर्ज पावर र ३१० एनएमको टर्क उत्पादन गर्ने बताइएकाे छ भने अधिकतम १५० किलोमिटर प्रतिघण्टाको गतिमा गुड्छ ।

सुरक्षा सतर्कताका लागि यसमा ६ ओटा एयरब्याग राखिएको छ । साथै अगाडि र पछाडिको पाङ्ग्रामा डिस्कब्रेक दिइएकाे छ । त्यस्तै ७ इन्चको टचस्क्रिनसहित कनेक्टेड कार टेक्नोलोजी फिचर छ ।

यो कारको मूल्यबारे कम्पनीले यकिन जानकारी नदिएपनि भारतीय मिडियाहरूले १८ देखि २० लाख भारूसम्म पर्ने अनुमान गरेका छन् ।

भारतीय बजारमा सर्वाधिक बिक्री हुने टाटा मोटर्स अन्तर्गतको नेक्सन इभीलाई यसले चुनौती दिने अनुमान गरिएको छ । नेपालमा महिन्द्रा ब्रान्डका सवारीसाधन अग्नि ग्रुपले भित्र्याउने गरेको छ । हाल कम्पनीले नेपाली बजारमा इटूओ, इभेरियो लगायतका विद्युतीय कारको बिक्री गर्दै आएको छ ।

पछिल्लो अध्यावधिक: मंसिर १६, २०७९ १४:१३