close

ह्याकरको डिटेल निकाल्दै छौँ, प्रमाण संकलन भएपछि साइबर ब्यूरोमा जान्छौं: उकेरा डटकम

टेकपाना टेकपाना

मंसिर १७, २०७९ १७:४२

ह्याकरको डिटेल निकाल्दै छौँ, प्रमाण संकलन भएपछि साइबर ब्यूरोमा जान्छौं: उकेरा डटकम

काठमाडौं । अनलाइन मिडिया उकेरा डटकमको कन्टेन्ट म्यानेजमेन्ट सिस्टम (सीएमएस)मा अनधिकृत पहुँच पुर्‍याई समाचार सामग्री मेटाइएको पाइएको छ ।

आफ्नो सीएमएसमा बिहीबार राति १२ बजेदेखि २ बजेसम्म अनधिकृत पहुँच पुर्‍याई समाचार हटाउने र असान्दर्भिक तस्वीर र शीर्षक राख्ने काम भएको उकेराले जनाएको छ ।

उकेराका सम्पादक केपी ढुंगानाका अनुसार सीएमएसमा अनधिकृत हिसाबले प्रवेश गरी पाँच ओटा समाचार मेटाइएको छ ।

यसअन्तर्गत राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, उपराष्ट्रपति पुत्र दिपेश पुन, सुकुम्बासी बस्ती, निर्वाचन आदिसँग सम्बन्धित समाचार ह्याकरले मेटाएको उनले जानकारी दिए । 

''सीएमएसबाट हटाइएको समाचारलाइ आधार मान्दा केही व्यक्ति शङ्काको घेरामा छन्,'' उनले भने, ''कुनै समाचार चित्त बुझेन भने खण्डन गर्न पाइन्छ, मुद्दा हाल्न पाइन्छ । यसरी अनधिकृत पहुँच पुर्‍याएर समाचार डिलिट गर्नु प्रेस स्वतन्त्रतामाथिको हमला हो ।''

आफ्नो प्राविधिक टोलीले यसबारे अनुसन्धान गरिरहेको बताउँदै उनले सम्पूर्ण लगइन डिटेल प्राप्त भएपछि सप्रमाण साइबर ब्यूरोमा उजुरी दर्ता गर्ने बताए । 

डिलिट भएका समाचार उकेराले पुनः प्रकाशन गरेको छ ।

यसैबीच उकेराको सीएमएसमा अनधिकृत पहुँच बनाई सामग्री छेडछाड गरिएको विषयमा नेपाल पत्रकार महासंघ एशोसिएट प्रदेश समिति, नेपाल पत्रकार महासंघ काठमाडौं शाखा, अनलाइन पत्रकार संघ, फ्रिडम फाेरम लगायतका संस्थाले छुट्टाछुट्टै विज्ञप्ति निकाल्दै उकेराको सर्भरमा प्रवेश गरेर असान्दर्भिक तस्वीर तथा शीर्षक राख्ने कार्य साइबर अपराध भएको भन्दै सो कार्यमा संलग्नको पहिचान गरी कानूनी दायरमा ल्याउन माग गरेका छन् । 

पछिल्लो अध्यावधिक: मंसिर १७, २०७९ १७:५३