close

देशभर पाँच लाख चार्जिङ स्टेसन बनाउँदै अमेरिका, टेस्लाको गाडी खरिद गर्न एलन मस्कको सुझाव

टेकपाना टेकपाना

मंसिर १९, २०७९ ८:४१

देशभर पाँच लाख चार्जिङ स्टेसन बनाउँदै अमेरिका, टेस्लाको गाडी खरिद गर्न एलन मस्कको सुझाव

काठमाडौं । विद्युतीय सवारीलाई प्रोत्साहन गर्न अमेरिकी राष्ट्रपति जो बाइडेनले देशमा थप पाँच लाख चार्जिङ स्टेसन बनाउने घोषणा गरेका छन् । शनिबार एक ट्वीट गर्दै राष्ट्रपति बाइडेनले उक्त जानकारी दिएका हुन् ।

राष्ट्रव्यापी रूपमा विद्युतीय सवारी (ईभी) चार्जिङ नेटवर्कका लागि ३५ राज्यहरूमा उक्त स्टेसन बनाइने उनको भनाइ छ । बाइडेनले सो स्टेशन निर्माणका लागि पहिलो चरणको कोष जारी गर्ने घोषणा पनि गरेका छन् । "हामी देशभरमा पाँच लाख ईभी चार्जिङ स्टेसन निर्माण गर्दैछौँ," उनले शनिबार एक ट्वीट गर्दै भने, "त्यसपछि अमेरिकी सडक यात्रा पूर्ण रूपमा विद्युतीय हुनेछ ।"

पाँच लाख चार्जिङ स्टेसनका लागि अनुमानित खर्च कति वा काम कहिलेबाट सुरु हुने भन्ने कुरा भने उनले खुलाएका छैनन् । उक्त ट्वीटको रिप्लाई दिँदै विद्युतीय सवारी निर्माता कम्पनी टेस्लाका सीईओ एलन मस्कले भने टेस्लाको  गाडी खरिद गर्न सुझाव दिएका छन् ।

त्यसअघि मस्क बाइडेनबाट त्यति सन्तुष्ट थिएनन् । एक कार्यक्रममा बाइडेनले टेस्लाको नाम उल्लेख नगरेकाले उनीबाट मस्क रुष्ट भएका थिए । बाइडेनले फोर्ड र जीएमले विद्युतीय सवारीसाधन निर्माण गर्न संयुक्त १८ अर्ब डलर लगानी गरेको दाबी गरेका थिए । सोही कार्यक्रममा टेस्लाको बारेमा चर्चा नगरेको भन्दै मस्कले, बाइडेनको विरोध गर्दै आएका थिए ।

केही समय अघि बाइडेनलाई मेन्सन गर्दै मस्कले टेस्लाले अमेरिकामा ५० हजार भन्दा बढि मानिसलाई रोजगार दिएको र विद्युतीय सवारीमा टेस्लाको लगानी जीएम र फोर्डको भन्दा बढि भएको उल्लेख गर्दै ट्वीट गरेका थिए । 

 

 

 

पछिल्लो अध्यावधिक: मंसिर १९, २०७९ ९:५८