close

नेपाल टेलिकम र एनसेलसँग छैन विश्वकप फुटबलको लाइभ देखाउने प्राविधिक क्षमता !

टेकपाना टेकपाना

मंसिर १९, २०७९ १२:३९

नेपाल टेलिकम र एनसेलसँग छैन विश्वकप फुटबलको लाइभ देखाउने प्राविधिक क्षमता !

काठमाडौं । सरकारी स्वामित्वमा रहेको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले आफ्नो मोबाइल एपमार्फत फुटबल विश्वकपको लाइभ देखाउने योजना अहिले आएर चर्चामा सीमित हुन पुगेको छ । कम्पनी प्राविधिक रूपमा तयार नहुँदा फुटबल विश्वकप लाइभ प्रसारण गर्ने योजनाबाट पछि हटेको हो । त्यसो त फुटबल लाइभ देखाउने योजनालाई टेलिकम बोर्डले समेत सैद्धान्तिक स्वीकृति दिएको थियो ।

एक करोड ५० लाख मोबाइल प्रयोगकर्ता रहेको टेलिकमका लागि यो परियोजना निकै महत्त्वपूर्ण हुने ठानिएको थियो । तर अन्तिममा आएर नेपाल टेलिकम मोबाइल एपबाट फुटबल विश्वकपको लाइभ देखाउन असमर्थ रह्यो । अहिले कम्पनीभित्र मोबाइल एपमा लाइभ प्रसारण किन हुन सकेन भन्ने प्रश्न चर्चाको विषय बनेको छ ।

नेपालभर विश्वकप फुटबल लाइभ प्रसारणको अधिकार पाएको मिडिया हबले यसका लागि टेलिकम समक्ष कूल २२ करोड रुपैयाँको प्रस्ताव लगेको थियो ।  जसमा लाइभ प्रसारणको १० करोड, पाँच करोड रुपैयाँको टाइटल स्पोन्सर र चार करोड रुपैयाँ मूल्यको प्राविधिक उपकरण तथा सिस्टम रहेको मिडिया हबका सञ्चालक सोम धितालले सुनाए ।

“२२ करोड रुपैयाँ भ्याट सहितको कुरा थियो,” उनी भन्छन्, “त्यसो त हामी रेभिन्यु शेयरिङको मोडालिटीमा समेत खुला नै थियौँ । त्यस्तोमा १० करोड रुपैयाँ ‘मिनिम ग्यारेन्टी’ खोजेका थियौँ ।”

कम्पनीका पदेन अध्यक्ष एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव बैकुण्ठ अर्याल समेत टेलिकमको मोबाइल एपबाट विश्वकप फुटबलको लाइभ प्रसारण दिने विषयमा सकारात्मक नै थिए । उनले मिडिया हबसँग आम्दानी साझेदारीको मोडेलमा काम गर्न सुझाव दिएको टेलिकमका अधिकारीहरू बताउँछन् ।

त्यसो त अन्तिम चरणसम्म आइपुग्दा टेलिकमले मिडिया हबलाई पाँच करोड रुपैयाँ उपलब्ध गराउने र बाँकी रकमका लागि आम्दानी बाँडफाड गर्ने विषयमा समझदारी भएको टेलिकमका अधिकारीहरू बताउँछन् । जसमा टेलिकमको व्यावसायिक प्रवर्द्धनको विषय समेत  थियो ।

“यसका लागि आवश्यक माइन्युट समेत तयार भइसकेको थियो,” कम्पनीको व्यवस्थापन तहका एक अधिकारी भन्छन्, “जम्माजम्मी  हस्ताक्षर हुन मात्रै बाँकी थियो ।”

२२ करोड रुपैयाँमा कुरा सुरु हुँदा विरोधमा उत्रिएका कर्मचारी संघठनहरू पछिल्लो समझदारी कार्यान्व्यनमा ल्याउने विषयमा मौन बसेका थिए । जब कि भारतमा जियोले आफ्ना प्रयोगकर्तालाई विश्वकप फुटबल निःशुल्क देखाइरहेको छ । जसबाट विश्वकप फुटबल चलिरहँदाको अवधिमा मात्रै कम्पनीका ग्राहक २ करोडले थपिएका छन् ।

नेपाल टेलिकमका लागि पनि फुटबल विश्वकपको प्रसारण त्यस्तै अवसर थियो । तर, कयौँ बैठक बसेर अन्तिम सम्झौता गर्ने बेलामा निर्णय हुन सकेन । टेलिकमको मोबाइल एपबाट लाइभ दिँदा विश्वकप फुटबलमा सबैको सहज पहुँच हुने, कम्पनीप्रति ग्राहकको ‘लोयल्टी’ (बफादारी) बढ्ने र व्यावसायिक रूपमा नाफा समेत नाफाकै विषय थियो ।

अर्कोतर्फ टेलिकमको सिम नभएका प्रयोगकर्ताले कम्पनीको नयाँ सिम लिने र निष्क्रिय ग्राहक सक्रिय बनाउने अवसर समेत टेलिकमलाई थियो । पाँच करोड रुपैयाँ नेपाल टेलिकमका लागि त्यति ठूलो रकम समेत थिएन । कम्पनीको डेटा खपत वृद्धि हुने र प्रति ग्राहकबाट निश्चित शुल्क लिँदा उक्त लागत सहजै उठ्ने मात्र नभई १०/१२ करोड रुपैयाँसम्म आम्दानी हुने कम्पनी व्यवस्थापनकै आँकलन  थियो ।

अर्कोतर्फ करोडौँ रुपैयाँ खर्च गर्नुपर्ने विज्ञापन तथा बजार प्रवर्द्धनको काम समेत त्यसैबाट हुने थियो । यो परियोजना असफल हुनुमा कर्मचारी सङ्गठन, उच्च तहका कर्मचारी र व्यवस्थापनबीच एक अर्कालाई दोषारोपण गर्ने अभ्यास समेत देखिन थालेको छ ।

वास्तवमा टेलिकम प्राविधिक रूपमा तयार नहुँदा ओटीटी एपमार्फत विश्वकप फुटबलको लाइभ देखाउने योजनाबाट पछि हटेको बुझिएको छ । मोबाइल नेटवर्कमार्फत भिडिओ सामग्रीको वितरण आफैँमा जटिल विषय हो । त्यसमाथि विश्वकप फुटबल जस्तो उच्च माग रहेको सामग्री लाइभ प्रसारण गर्नु झनै चुनौतीको विषय थियो ।

“हामीलाई मोबाइल एपमार्फत सहरी क्षेत्रमा विश्वकप फुटबलको लाइभ देखाउने कुरा त्यति कठिन थिएन । सहरमा इन्टरनेटका लागि अनेक विकल्प भएकाले हाम्रो नेटवर्कमा त्यति धेरै भार पर्ने नपर्ने हाम्रो बुझाइ थियो,” टेलिकमका एक उच्च अधिकारीले टेकपानासँग भने, “हामीलाई मुख्य चुनौती ग्रामीण क्षेत्रका प्रयोगकर्ताको हकमा थियो । किनभने फिक्स्डलाइन इन्टरनेटको सहज पहुँच नभएका ग्रामीण क्षेत्रबाट भिडिओ ट्राफिक भारी मात्रामा आउने कुरा अपेक्षित थियो । तर हाम्रो नेटवर्कले  त्यसलाई धान्न नसक्ने अवस्था आएको खण्डमा उल्टै कम्पनीलाई नराम्रो धक्का लाग्न सक्थ्यो ।”

मिडिया हबका सञ्चालक धिताल समेत अन्य कारणले नभई टेलिकम प्राविधिक रूपमा तयार नभएकैले मोबाइल एपमा विश्वकप फुटबल लाइभ देखाउने योजनाबाट पछि हटेको बताउँछन् ।

“मैले बुझेअनुसार टेलिकमको नेटवर्क सिस्टम भिडिओ सामग्री लाइभ प्रसारण धान्ने किसिमको छैन,” उनी भन्छन्, “सायद भिडिओ सामग्रीको भार बढी हुँदा मोबाइल तथा एसएमएस सेवा समेत प्रभावित हुनसक्ने जोखिम थियो होला ।” 

यस्तोमा दुवै पक्षले चाहेर पनि टेलिकमको मोबाइल एपमा विश्वकप फुटबलको प्रत्यक्ष प्रसारण देखाउन नसकिएको धितालको स्वीकारोक्ति छ ।

त्यसो त मिडिया हबले एनसेललाई समेत सोही प्रकृतिको प्रस्ताव पठाएको थियो । जसमा कम्पनीको स्थानीय नेतृत्व मात्र नभएर मलेसियामा रहेको प्यारेन्ट कम्पनी समेत सकारात्मक देखिएको धिताल बताउँछन् । “तर आफूसँग पर्याप्त पूर्वाधार नभएको कारण देखाउँदै एनसेल सुरुमै पछाडि हट्यो,” उनी भन्छन् ।

पछिल्लो अध्यावधिक: मंसिर १९, २०७९ १२:३९