close

अब जहाज चढ्दा मोबाइल फोन एयरप्लेन मोडमा राख्नु नपर्ने, ईयूले दियो अनुमति

टेकपाना टेकपाना

मंसिर १९, २०७९ १९:१

अब जहाज चढ्दा मोबाइल फोन एयरप्लेन मोडमा राख्नु नपर्ने, ईयूले दियो अनुमति

काठमाडौं । युरोपियन युनियन (ईयू)मा आवद्ध देशभित्र उडिरहेको विमानभित्र चाँडै नै यात्रुले मोबाइलबाट फोन गर्न र इन्टरनेट चलाउन पाउने भएका छन् । युरोपेली आयोगमा आबद्ध भई सञ्चालनमा आएका एयरलाइन्सहरूमा यस्ताे सुविधा थप्न लागिएकाे हाे ।

अब यात्रुले उडिरहेको विमानमा माेबाइल 'एरोप्लेन मोड'मा राख्नुपर्ने छैन । बीबीसीका अनुसार यो सेवा कसरी कार्यान्वयन हुन्छ भन्ने कुरा स्पष्ट रूपमा खुलाइएकाे छैन । युरोपियन युनियनभित्रका राष्ट्रलाई ३० जुन २०२३ भित्र विमानमा फाइभजी फ्रिक्वेन्सी ब्यान्ड उपलब्ध गराउन निर्देशन दिइएको छ ।

त्यसपछि उडिरहेको जहाजबाट यात्रुले फाेनकल र इन्टरनेट सेवा लिनसक्ने छन् । कतिपय विमान कम्पनीले हाल उडानका क्रममा इन्टरनेट सेवाकाे परीक्षण गरिरहेका छन् । तर, अन्य अवस्थामा भन्दा विमानमा इन्टरनेट सुस्त गतिमा चल्छ ।

विमानमा रहेका मानिसहरूको सम्पर्क जमिनसम्म पुर्‍याउन स्याटलाइट डिभाइसमा भर पर्नुपर्ने भएकाले इन्टरनेटकाे गति ढिलाे हुने गर्छ । तर नयाँ प्रणाली फाइभजी प्रविधिमा आधारित हुने भएकाले यसअघिकाे सेवाभन्दा राम्राे हुने चर्चा पनि छ ।

साथै याे प्रविधिले विमानमा कुनै समस्या नपार्ने भएकाले एयरप्लेन माेड युगकाे अन्त्य हुने दाबी पनि गरिएकाे छ ।


 

पछिल्लो अध्यावधिक: मंसिर १९, २०७९ १९:१