close

ब्लु टिकका लागि आईफोन प्रयोगकर्ताबाट ११ डलर असुल्ने योजना बनाउँदै ट्वीटर

टेकपाना टेकपाना

मंसिर २२, २०७९ १२:२०

ब्लु टिकका लागि आईफोन प्रयोगकर्ताबाट ११ डलर असुल्ने योजना बनाउँदै ट्वीटर

काठमाडौं । ट्वीटरले आईफोन प्रयोगकर्ताबाट प्रति महिना 'ट्वीटर ब्लु सब्स्क्रिप्सन'का लागि ११ डलर लिने योजना बनाएको छ । एप सब्स्क्रिप्सन मोडेलमा गएपछि एप्पलले ट्वीटरको ब्लु टिक भेरिफिकेसनबाट आम्दानी गरेको ३० प्रतिशत कटौती गर्छ । सोही कटौतीलाई पूर्ति गर्न कम्पनीले यस्तो योजना बनाएको हो ।

यसअघि विवादमा आउँदा सशुल्क ट्वीटर ब्लु टिक भेरिफिकेसन सेवा बन्द भएको थियो । जसको शुल्क कम्पनीले ७.९९ डलर (करिब एक हजार ५० रुपैयाँ) तोकेको थियो । यो सेवा पुनः सार्वजनिक हुने तरखरमा छ । त्यसअघि नै उक्त शुल्क परिवर्तन हुने कुरा द इन्फरमेसनमा बाहिरिएको छ ।

द इन्फरमेसनका अनुसार केही नयाँ कर्मचारीलाई नयाँ मूल्य निर्धारणका बारेमा जानकारी दिइएको छ । तर, ट्वीटरका नयाँ मालिक एलन मस्क यस्ता निर्णय तुरुन्त परिवर्तन गर्न सक्ने व्यक्तिका रूपमा चिनिन्छन् । त्यसैले कम्पनीको यो निर्णय कार्यान्वयनमा आउँछ वा आउँदैन भन्ने कुरा स्पष्ट छैन ।

ट्वीटरले ईन-एप पर्चेज फिचर ल्याउँदा एप्पललाई उसको प्लेटफर्म प्रयोग हुने अकाउन्टबाट आम्दानी गरेको ३० प्रतिशत शुल्क बुझाउनुपर्छ । त्यसैले पनि ट्वीटरले आईफोन प्रयोगकर्ताबाट 'ब्लु सब्स्क्रिप्सन' फिचरको मूल्य बढाउने योजना बनाएको हो । तर, यही सेवा वेबसाइटबाट लिएको खण्डमा ७ डलर पर्न जान्छ ।

त्यसैले आफ्नो खर्च बचाउन प्रयोगकर्ताले ट्वीटर ब्लु सेवाका लागि वेबसाइट नै प्रयोग गर्न देखिन्छ । अन्य प्लेटफर्म जस्तै स्पोटिफाईले पनि पहिले आईफोन प्रयोगकर्ताबाट वेबसाइटको तुलनामा बढी शुल्क लिने गर्थ्यो । जसले गर्दा विभिन्न डिभाइसमा शुल्क फरक फरक किन पर्‍यो भन्ने कुराले प्रयोगकर्तालाई द्विविधामा पारेको थियो ।

यसअघि एप्पल र ट्वीटरबीच ठूलो विवाद सिर्जना भएको थियो । एप स्टोरको शुल्कलाई लिएर मस्क एप्पलको आलोचना गर्दै आएका थिए । यही विषयलाई लिएर एप्पलले ट्वीटरलाई एप स्टोरबाट हटाउन लागेको मस्कले आरोप लगाएका थिए ।

पछि भने आफूबीचको असमझदारी हल भइसकेको ट्वीटमार्फत जानकारी दिए । ट्वीटरले नयाँ भेरिफिकेसन सेवा यही शुक्रबारबाट पुनः सार्वजनिक गर्ने योजना बनाएको छ ।

विभिन्न कम्पनी तथा सेलिब्रेटीको नाममा नक्कली अकाउन्ट बनेर त्यसको दुरुपयोग हुन थालेपछि कम्पनीले नोभेम्बर ११ बाट यो सेवा बन्द गरेको थियो । ट्वीटर ब्लु भेरिफिसेन सेवा पुनः सार्वजनिक गरेसँगै कम्पनीले कम्पनी, सरकारी निकाय र सेलिब्रेटीलाई फरक-फरक कलरको चेक मार्क (टिक) उपलब्ध गराउने बताएको छ ।

पछिल्लो अध्यावधिक: मंसिर २२, २०७९ १२:२०