close

प्लानेटोरियम प्रविधिमार्फत नेपाली विद्यार्थीलाई अन्तरिक्ष शिक्षा

सुरजकुमार श्रेष्ठ

मंसिर २२, २०७९ १४:५६

प्लानेटोरियम प्रविधिमार्फत नेपाली विद्यार्थीलाई अन्तरिक्ष शिक्षा

विद्यालय तहका विषयहरुमध्ये विज्ञान पनि एक हाे । यसकाे अन्तिम पृष्ठतिर अन्तरिक्ष विज्ञानका सामग्रीहरु हुने गर्छन् । विज्ञानमा प्रयाेगात्मक कक्षा हुनु अनिवार्य छ । तर नेपालका धेरै विद्यालयमा भाैतिक पूर्वाधारकाे अभाव छ ।

यस्तै अवस्थामा पनि भाैतिक, रसायन, जीव विज्ञानका केही सामान्य क्रियाकलाप हुने गरेका छ्न् । तर अन्तरिक्ष विज्ञान भने कक्षाकाे पढाइमा मात्र सीमित भइरहेकाे छ । तुलनात्मक हिसाबले सहरी क्षेत्रमा यस्ताे अवस्था कम भए पनि माेफसलकाे हालत उही छ ।

इन्टरनेट पहुँच पाएका विद्यार्थीले किताबबाट भन्दा धेरै अनलाइनबाट बढी थाहा पाउँछन् । तर ग्रामीण भेगका विद्यार्थीलाई याे सुविधा पनि छैन ।

हामी पनि यस्तै अवस्थाबाट गुज्रिएका थियाैं । विद्यालयमा हुँदा सैद्धान्तिक ज्ञानमात्र भयाे । अन्तरिक्ष विज्ञानका प्रयाेगात्मक कक्षा त हामीले कल्पना पनि गर्न सक्दैनथ्यौं । एसएलसी उत्तीर्णपछि मात्र कम्प्युटर सिक्न जान्थ्याैं ।

धेरै पहिलेकाे याे अवस्था अझै पनि कतिपय ठाउँमा उस्तै छ । विभिन्न विद्यालयमा अन्तरिक्ष विज्ञानका कक्षा सञ्चालन गर्दा यस कुराकाे अभाव र आवश्यकता दुवै भएकाे पाएका छाैं । धेरै विद्यार्थीले याे विषयमा चासाे राख्‍छन् । उनीहरुमा रुचि छ । तर, यसबारे प्रयोगात्मक र व्यवहारिक शिक्षा दिन नसकिरहेकाे अवस्था छ । यसकाे मुख्य कारण प्रविधि तथा जनशक्ति अभाव हाे ।

एकाध विद्यार्थीबाहेक धेरैकाे खगाेलशास्त्र शिक्षा किताबमा मात्र सीमित हुन्छ । घाेकेर परीक्षा दिनुपर्ने बाध्यता छ । समाजमा अझै पनि डक्टर, इन्जिनियर बन्नुपर्छ भन्ने साेच हावी छ । एस्ट्राेनाेमी र एस्ट्राेलाेजी एउटै हुन् भन्ने धारणा छ । हुन त सरकारले नै यी विषयलाई प्राथमिकतामा नराख्दा यस्ताे अवस्था सिर्जना भएकाे हाे ।

अहिले पनि धेरै विद्यालयमा विज्ञानसम्बन्धी राम्राे ल्याब छैन । भएका विद्यालयमा प्राविधिक दक्षताकाे अभाव छ । स्‍नातक तहमा भर्खर एराेस्पेस इन्जिनियरिङकाे पढाइ हुन थालेकाे छ । धेरै विद्यार्थीलाई नेपालमा पनि यसकाे पढाइ हुन्छ भन्ने ज्ञात छैन । कारण भनेकाे उनीहरुसम्म यसका‍े सूचना नपुग्‍नु हाे । 

यस विषयबारे उनीहरुलाई सुनाउने माध्यम नभएर हाे । विद्यार्थीलाई सानैबाट जे कुरा सुनाइयाे, उनीहरु त्यही बन्ने भन्छन् । विद्यार्थीलाई अन्तरिक्ष विज्ञानप्रति कौतूहलता जगाउने माध्यम निकै छ । यस्ताे माध्यमकाे प्रयाेग धेरै हुन जरुरी छ, जुन काम हामीले पनि गरिरहेका छाैं ।

विद्यार्थीलाई अन्तरिक्ष शिक्षा पुर्‍याउने हेतुले हामी (कान्तिपुर प्लानेटाेरियम) देशका विभिन्न ठाउँमा पुगिरहेका हुन्छाैं । त्यसका लागि हामी ‘प्लानेटाेरियम’ प्रविधि प्रयाेग गर्छाैं । ब्रह्माण्डका बारेमा विद्यार्थीलाई बुझाउन प्लानेटाेरियम निकै उपयाेगी हुन्छ । 

के हाे त प्लानेटाेरियम?

सरल भाषामा बुझ्दा प्लानेटाेरियम भनेकाे एक भर्चुअल ल्याब हाे । रातकाे आकाश अवलाेकन गर्ने एक प्रकारकाे थियटर हाे । नेपालीमा यसकाे अर्थ ‘तारामण्डल’ हुन्छ ।

याे स्थायी र अस्थायी गरी दुई प्रकारका हुन्छन् । कुनै एउटा निश्चित ठाउँमा सदाका लागि राख्‍ने उद्देश्यले निर्माण गरिन्छ भने त्यस्ताेलाई स्थायी प्लानेटाेरियम र एक ठाउँबाट अर्काे ठाउँमा सहज तरिकाले लैजान सकिने प्रविधिलाई अस्थायी प्लानेटाेरियम भनिन्छ । 

प्लानेटाेरियमकाे प्रयाेग

अन्तरिक्ष शिक्षाका लागि प्लानेटाेरियम प्रयाेग गरिन्छ । खगाेल विज्ञानका कुरा बुझ्न याे उपयाेगी हुन्छ । कतिपय आकाशीय नेभिगेसन (celestial navigation) काे प्रशिक्षणमा समेत याे प्रयाेगमा आउँछ । यसबाट खगाेलशास्त्रलाई सरल र राेचक तरिकाले बुझ्‍न सकिन्छ ।

यी बाहेक विज्ञानकाे विभिन्न शाखाबारे जान्‍न, सिक्न समेत याे काममा आउने गर्छ । विद्यार्थीलाई ब्रह्माण्डका रहस्य बुझाउन याे निकै उपयाेगी हुन्छ । उनीहरुले प्लानेटाेरियमबाट किताबमा पढेका अन्तरिक्षका कुरा अवलाेकन गर्न सक्छन् । जस्तै: ग्रह, उपग्रह, तारा, तारामण्डल आदि ।

आकाश अवलाेकनबाहेक यसमा ब्रह्माण्ड, मानवसभ्यता जस्ता विषयमा बनाइएका भिडिओहरु हेर्न सकिन्छ । प्लानेटाेरियममा खगाेल विज्ञानका कुराहरु रियल टाइम सिमुलेसनबाट हेर्न सकिन्छ । यसमा केही प्लानेटाेरियम सफ्टवेयरहरु प्रयाेग हुन्छ । सफ्टवेयरमा कुनै ठाउँ र समय राख्दा त्यहाँबाट देखिने आकाशीय पिण्डहरु प्लानेटाेरियममा देख्‍न सकिन्छ ।

कुन आकाशीय पिण्ड कता, कत्राे, कस्ताे देखिरहेकाे छ भन्ने देखिन्छ । कर्पाेरेट हाउसहरुले समेत विभिन्न समाराेहमा मनाेरञ्जनका लागि यसलाई प्रयाेग गरिरहेका हुन्छन् । 

ल्यापटप, फाेन, भीआर र यसमा के फरक ?

यसबारे बुझ्‍न एउटा उदाहरण हेराैं; हलमा नगई घरबाट पनि चलचित्र हेर्न सकिन्छ । ठ्याक्कै यही कुरा लागू हुन्छ प्लानेटाेरियबाट अवलाेकन गर्दा । यसमा प्रयाेग हुने सफ्टवेयर, आवाज, वातावरण जस्ता कुराले भिन्न बनाउँछ । यसबाट आकाश अवलाेकन गरेका कतिपय विद्यार्थीले ‘अन्तरिक्षमा बसेर’ आएकाे भन्ने खालका प्रतिक्रिया दिन्छन्  ।

ल्यापटप, माेबाइलजस्ता डिभाइसबाट अन्तरिक्ष सम्बन्धी बनेका भिडिओ हेर्दा आयातकार स्‍क्रिनमा एक/दुई जनाले मात्र हेर्न सकिन्छ । तर प्लानेटाेरियमभित्र एकै पटकमा धेरै जनाले ३६० डिग्रीमा हेर्न सक्छन् । प्लानेटाेरियममा भर्चुअल रियालिटी (भीआर) चस्मा प्रयाेग हुँदैन ।

भीआर पनि एक जनाले मात्र प्रयाेग गर्न मिल्छ । भीआर प्रयाेग हुन्छ भने त्याे प्लानेटाेरियम मानिँदैन । प्लानेटाेरियममा साथी, शिक्षकसँगै बसेर अवलाेकन गर्दाकाे मज्जा नै छुट्टै हुन्छ । यहाँ वातावरण पनि त्यस्तै हुन्छ । विशेष गरेर अनुभव भिन्न हुन्छ ।

प्लानेटाेरियममा भित्र प्रवेश गर्नासाथ अँध्याराे हुने गर्छ । विद्यार्थी आरामले बस्छन् । इन्टरनेसनल प्लानेटाेरियम साेसाइटी (आईपीएस) अन्तर्गत रहेका सफ्टवेयर र सिस्टम प्रयाेग हुन्छ । यसमा हेरिने भिडिओ सामग्री फरक हुने गर्छ । 

 विद्यालयमा प्रयाेग

अन्तरिक्ष शिक्षालाई बढावा दिने उद्देश्यले विद्यालयमा प्लानेटाेरियम सञ्चालनमा ल्याउँदाका धेरै फाइदा छन् । ब्रम्हाण्ड सम्बन्धी विद्यार्थीका कौतूहलता, जिज्ञासाकाे समाधान हुन्छ । आफ्नाे विद्यालय बाहेक नजिकका विद्यालयले समेत लाभ उठाउन सक्छन् ।

ठूला विद्यालयले सानाे आकारका प्लानेटाेरियम राख्‍न चाहे असम्भव छैन । यसमा प्राविधिक दक्षताकाे खाँचाे पर्छ । छ, सात जनाकाे प्राविधिक समूहले यसलाई मजाले सञ्चालन गर्न सक्छन् । विद्यालयले स्थायी प्लानेटाेरियम राख्दा उपयुक्त हुन्छ । प्लानेटाेरियमलाई विद्यालयले हल/अडेटाेरियममा राख्‍न सक्छन् । अथवा विद्यालयमा भएकाे ठूलाे कक्षामा राख्‍न सक्छन् ।

विद्यार्थीलाई यसमा कक्षागत हिसाबले ब्रम्हाण्डका कन्टेन्ट देखाउन सकिन्छ । यी बाहेक विज्ञानका अन्य शाखा जस्तै; जीव, रसायन, वातावरण आदिकाे कुराहरु देखाउन सकिन्छ । ठूलाे कम्पाउन्ड र धेरै विद्यार्थी भएकाे विद्यालयले प्लानेटाेरियम खाेल्दा राम्राे हुन्छ । 

यसबाट विद्यार्थी बाहेक शिक्षक, अभिभावक र समुदायका मान्छेहरु समेत फाइदाकाे हिस्से हुन्छन् । कम विद्यार्थी भएकाे ठाउँमा खाेल्न नसकिने भन्ने छैन ।

तर प्‍लानेटाेरियम प्रयाेगमा नआउन सक्छ । माेटाे रकम खर्चेर बनाएकाे प्लानेटाेरियम निरन्तर प्रयाेगमा पनि आउनुपर्छ । विद्यालयमा प्लानेटाेरियम राख्‍न अघि कति प्रभावकारी हुन्छ भन्ने कुरामा ध्यान दिनुपर्छ । 

विद्यालयमा प्लानेटाेरियम राख्दाका चुनाैती

खासमा प्लानेटाेरियम ‘इनडाेर’ (काेठाभित्र) हुने गर्छ । जग्गा, भवनकाे अभाव भएका विद्यालय नेपालमा धेरै छन् । प्लानेटाेरियम राख्‍नमा याे चुनाैतीकाे विषय हुन सक्छ । हामीले प्राय: विद्यालय हातामा नै प्लानेटाेरियम राख्‍ने गरेका छाैं । कहिलेकाहीँ हावाहुरी, वर्षा, विद्युत आदि समस्याका रुपमा आइदिन्छन् ।

अहिले हामीलाई शारीरिक अशक्त भएका विद्यार्थीलाई प्लानेटाेरियमबाट ब्रह्माण्डका कुरा देखाउन समस्या भइरहेकाे छ । यसकाे समाधानमा पनि काम गरिरहेका छाैं ।

त्यस्तै प्लानेटाेरियमकाे मूल्य, सञ्चालन गर्दा चाहिने प्राविधिक जस्ता केही चुनाैती अगाडि छन् । प्लानेटाेरियम बनाउँदा कत्राे, कस्ताे बनाउने, प्राेजेक्टर र टेलिस्काेप कस्ताे राख्‍ने भन्ने कुराले खर्च निर्भर गर्छ । यसमा प्रयाेग हुने सफ्टवेयर, प्लानेटाेरियमकाे परिधि आदिले समेत फरक पार्छन् ।

प्राय: प्लानेटाेरियमसँगै अब्जरभेटरी र साइन्स सेन्टर हुने गर्छन् । साइन्स सेन्टर नभए पनि प्लानेटाेरियम र अब्जरभेटरी एकै ठाउँमा सँगै बनाउने चलन छ । प्लानेटाेरियम बनाउँदा उचाइले खासै फरक पार्दैन । तर अब्जरभेटरी बनाउँदा फरक पार्छ । अब्जरभेटरी बनाउँदा उचाईं भएकाे, सफा आकाश र प्रदूषण कम भएकाे ठाउँमा निर्माण गर्नुपर्छ । तराईमा बनाउँदा अग्लाे भवनकाे छतमा बनाउन सकिन्छ ।

अन्तरिक्ष शिक्षामा सरकार

अन्तरिक्ष शिक्षालाई सरकारले समेत प्राथमिकतामा राखेकाे छैन । सरकारले चाहेमा प्रदेश स्तर वा नमूना विद्यालयमा प्लानेटाेरियम सञ्चालनमा ल्याउन सक्छ । देश संघीयतामा गएकाे छ । स्थानीय सरकारले पनि आफ्नाे क्षेत्रभित्र भएका विद्यालयमा याे खडा गर्न सक्छन् । त्यस्तै सबैलाई सहज हुने सार्वजनिक स्‍थानमा पनि बनाउन सकिन्छ ।

विदेशमा प्राय: प्रदेश, नगर स्तरमा प्लानेटाेरियम, अब्जरभेटरी बनाइन्छ । यसाे हुँदा विद्यार्थीसँगै सबैले ब्रह्माण्डका बारेमा बुझ्‍न पाउँछन् । निजी स्तरबाट अन्तरिक्ष शिक्षा बढाउन धेरै पहल भइरहेकाेमा सरकारले धेरै काम गर्नुपर्ने देखिएकाे छ । विद्यालयस्तरबाट नै यसमा काम गरियाे भने याे क्षेत्र फस्टाउन सक्छ । जसकाे लाभ व्यक्ति, समाज र समग्र राष्ट्रलाई हुन जान्छ । 

(सन् २०१५ देखि अन्तरिक्ष शिक्षामा काम गरिरहेकाे कान्तिपुर प्लानेटाेरियमका संस्थापक श्रेष्ठसँग गरिएकाे कुराकानीमा आधारित)

पछिल्लो अध्यावधिक: मंसिर २२, २०७९ १५:२३