close

निःशुल्क यहाँ हेर्नुहोस् हलिउड फिल्म बनाउने नेपाली स्टुडियोले तयार पारेको सिरिजः गोर्खा भर्सेस निञ्जा

टेकपाना टेकपाना

मंसिर २२, २०७९ १५:५१

निःशुल्क यहाँ हेर्नुहोस् हलिउड फिल्म बनाउने नेपाली स्टुडियोले तयार पारेको सिरिजः गोर्खा भर्सेस निञ्जा

काठमाडौं । हलिउड फिल्मको काम गर्ने नेपाली स्टुडियो इन्सेसेन्ट रेन स्टुडियोले ‘गोर्खा भर्सेज निञ्जा’ नामक सिरिज तयार पारेको छ । महिनामा एक पटक आउने यो एनिमेटेड सिरिजका तीन भाग युट्युबमा उपलब्ध भइसकेका छन् । 

‘गोर्खा भर्सेस निञ्जा’ नामक छुट्टै युट्युब च्यानलमा यो सिरिजमा ‘गोर्खा’को बहादुरी देख्न सकिन्छ । नेपाली कलाकारहरूले दिवंगत बेलायती महारानी एलिजाबेथ द्वितीयाको मीठो सम्झनामा पहिलो एपिसोड तयार पारेका छन् । 

सन् १८१६ मा नेपाल र बेलायतबीच सुगौली सन्धिमा हस्ताक्षर भएपछि गोर्खा सैनिकहरू उत्कृष्ठ र साहसी मानिन थाले । त्यससँगै बेलायती राजपरिवारको सुरक्षा गार्डको रूपमा समेत खटिन थाले । यही सन्दर्भलाई ‘गोर्खा भर्सेस निञ्जा’ सिरिजको विषयवस्तु बनाइएको छ ।

 

 

 

पहिलो एपिसोडमा बेलायती महारानीको सुरक्षामा खटिएका गोर्खाली सुरक्षा गार्डको बहादुरी चित्रित गरिएको छ । पहिलो एपिसोडमा डकैतहरूले महारानीको मुकुट चोरी गर्ने प्रयास गर्छन् ।

यस्तोमा गोर्खाली सुरक्षा गार्ड एक्लै दर्जनौँ डाँकाहरूबाट बहादुरीपूर्वक महारानीको सुरक्षा गर्न सफल हुन्छन् । यति ठूलो आक्रमणको प्रतिरक्षा गर्दा समेत दरबारमा भएका कसैलाई त्यसको छनकसम्म मिल्दैन ।

 

 

 

ज्याक स्टेञ्जको लेखन रहेको यो सिरिजको निर्देशन इन्सेसेन्ट रेन स्टुडियोका संस्थापक तथा सह प्रमुख कार्यकारी अधिकृत (कोसीईओ) किरणभक्त जोशीले गरेका छन् । सिरिजको दोस्रो भागमा क्यान फिल्म फेस्टिभलका क्रममा गोर्खा, निञ्जा, एक पप स्टार गायिका र कुकुर अपहरणकारीको भूमिका देख्न सकिन्छ । 

 

फेस्टिभलमा प्रस्तुति दिन जाने क्रममा गायिकाको कुकुर अपहरणकारीबाट चोरी चोरी हुन्छ । त्यसको चाल गोर्खाले पाउँछ । तर ती अपहरणकारीको समूह कुकुर लिएर भाग्छ र गोर्खा कुकुर खोसेर ल्याउन उनीहरूको पछाडि कुद्छन् । 

 

 

 

केही बेरको भागमभागपछि गोर्खा कुकुर फर्काएर ल्याउँछन् । यो सबै घटनाक्रम यति छिटो पूरा हुन्छ कि, ती पप स्टार गायिकाले त्यसको चाल समेत पाउँदिनन् । सिरिजको तेस्रो भागमा फुटबल विश्वकपको सन्दर्भ छ ।

सुरुका दुई एपिसोडमा पात्रहरूबीच मौखिक सम्वाद नभए पनि यो पछिल्लो एपिसोडमा भने तपाईँले गोर्खा र उनकी छोरीबीच भएको (अङ्ग्रेजी भाषामा) सम्वाद सुन्न सक्नु हुनेछ । यो सिरिज नियमित रूपमा युट्युबमा पब्लिस हुने जोशीको भनाइ छ ।

पछिल्लो अध्यावधिक: मंसिर २२, २०७९ १६:५१