close

सिनेमा हलमा विश्वकप फुटबलको लाइभ नदेखाउनूः चलचित्र विकास बोर्ड

टेकपाना टेकपाना

मंसिर २३, २०७९ १७:४६

सिनेमा हलमा विश्वकप फुटबलको लाइभ नदेखाउनूः चलचित्र विकास बोर्ड

काठमाडौं । सिनेमा हलमा विश्वकप फुटबलको लाइभ देखाउने तयारी भएपछि चलचित्र विकास बोर्डले आपत्ति जनाउँदै त्यस्तो नगर्न सचेत गराएको छ । बुधबारबाट देशका विभिन्न हलहरूमा विश्वकपको लाइभ देखाउने निर्णय भएपछि चलचित्र विकास बोर्डले सिनेमा हलमा चलचित्रसँग सम्बन्धित नभएका सामग्री देखाउन नपाइने भन्दै सचेत गराएकाे हाे ।

शुक्रबार देशभरका विभिन्न चलचित्र हलहरूलाई पत्राचार गर्दै बोर्डले लेखेको छ, "विभिन्न चलचित्रघरले नियमित चलचित्र प्रदर्शनको शो समय जस्तै विश्वकप फुटबल प्रतियोगिताको प्रसारण गर्न लागेको बुझिएको तथा कतिपय चलचित्र घरहरूले आफ्नो वेबसाइटमार्फत शो समय समेत खुलाएको देखिएको सन्दर्भमा यस बोर्डको ध्यानाकर्षण भएको छ । उपरोक्त सम्बन्धमा चलचित्र प्रदर्शन गर्न दिइने इजाजतपत्रको अनुसूची ७ मा व्यवस्था भएको चलचित्र प्रदर्शन गर्न दिइने इजाजतपत्रको खण्ड ७ मा इजाजतपत्रवालाले पालना गर्नुपर्ने शर्त बमोजिम मात्र चलचित्र घरमा चलचित्र प्रदर्शन गर्नुहुन सूचित गरिन्छ । अन्यथा नियमानुसारको कारवाही हुने व्यहोरा जानकारी गराइन्छ ।"

चलचित्र निर्माण, प्रदर्शन तथा वितरण नियमावली, २०५७ को नियम ४ को खण्ड (ग) बमोजिम अनुसूची ७ अनुसारको चलचित्र प्रदर्शन गर्न दिइने इजाजतपत्र प्रदान गर्ने र सोही अनुसार चलचित्र प्रदर्शकले चलचित्र प्रदर्शन गर्नका लागि इजाजत पत्र लिनुपर्ने हुन्छ । यसरी अनुमति नलिएकाले हलहरूले विश्वकप लाइभ देखाउन नपाउने पत्राचारमा उल्लेख छ ।

चलचित्र विकास बोर्डका मिडिया कोअर्डिनेटर जीवन पराजुली हलमा चलचित्रसँग सम्बन्धित सामाग्री बाहेक अन्य सामाग्री देखाउन कानूनले निषेध गरेको बताउँछन् । तर, यसअघि पनि विभिन्न हलहरूले ई-स्पोर्टको लाइभ देखाउँदै आएका थिए । हलले त्यस्ता काम लुकिछिपी गरेको पराजुलीको भनाइ छ ।

यसलाई मध्यनजर गर्दै विभिन्न हलहरू आफ्नो योजनाबाट पछि हटेका छन् ।

पछिल्लो अध्यावधिक: मंसिर २३, २०७९ १७:४६