close

गर्भवती र नवजात शिशुको स्वास्थ्यमा सुधार ल्याउन एसएमएस सेवा

टेकपाना टेकपाना

मंसिर २४, २०७९ ८:२६

गर्भवती र नवजात शिशुको स्वास्थ्यमा सुधार ल्याउन एसएमएस सेवा

कालीकोट । कालीकोट जिल्लाको रास्कोट नगरपालिकाले गर्भवती महिला र नवजात शिशुको स्वास्थ्यमा सुधार ल्याउने सफ्टवेयरको विकास गरेको छ । स्वास्थ्य क्षेत्रको सुधारका लागि काम गर्न सहज होस्  भनेर नगरपालिकाले एसएमएस अलर्ट सफ्टवेयर सञ्चालनमा ल्याएको हो ।

गोरखापत्रमा प्रकाशित समाचार अनुसार यो सफ्टवेयरले नगरका अन्य सूचना पनि प्रवाह गर्नेछ  । नगरपालिकाले 'मेयर हेल्थ केयर कार्यक्रम'अन्तर्गत गर्भवती र बालबालिकालाई स्वास्थ्यको पहुँचमा ल्याउनका लागि यो सफ्टवेयरको विकास गरेर प्रयोगमा ल्याएको जनाएको छ ।

नगर प्रमुख धर्मराज शाहीले सफ्टवेयरको शुभारम्भ गर्दै स्वास्थ्यमा सुधार ल्याउन एसएमएस अलर्ट सफ्टवेयरले महिला तथा नवजात शिशुको स्वास्थ्यमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

उनले सही सूचना नपाएर, कसैले दक्ष स्वास्थ्यकर्मी भेट्न नसकेर आफ्नो र पेटमा भएको शिशुका बारेमा जानकारी नपाउने समस्याको समाधान गर्न एसएमएस प्रणाली प्रयोगमा ल्याएको बताए ।​ गर्भावस्थाका महिलाले आफ्नो र गर्भमा रहेका बच्चाका बारेमा जानकारी लिन स्वास्थ्य संस्था जाने खोप दिने समयका बारेमा मोबाइलबाट सूचना प्राप्त गर्नेछन् ।

सूचना हेर्न नसक्ने अवस्थाका गर्भवती महिलालाई स्वास्थ्य स्वयंसेविका एवं घरका अन्य सदस्यले समेत सहयोग गर्नुपर्ने प्रमुख शाहीले बताए । नगरका प्रमुख प्रशासकीय अधिकृत जवानसिंह बमका अनुसार सूचना प्रविष्ट गर्न सूचना प्रविधि अधिकृत नृपेश चौधरीलगायतको एक  टिम रहेको छ ।

स्वास्थ्यका साथै नगर पालिकाप्रति  कुनै गुनासो भएमा पैसा नलाग्ने   टोल फ्री नम्बरसमेत नगरपालिकाले सञ्चालनमा  ल्याएको छ  । रास्कोट नगरपालिकाको टोल फ्री नम्बर १६६०८७४४०४४ सञ्चालनमा आउँदा सेवाग्राहीका सुझाव र गुनासा आउने भएकाले सुधार गर्न पनि सहज भइरहेको बताइएको छ ।

पछिल्लो अध्यावधिक: मंसिर २४, २०७९ ८:३९