close

माइक्रोसफ्टले नेपालमा समेत सुरु गर्‍यो स्टार्टअप सहयोग कार्यक्रम

टेकपाना टेकपाना

मंसिर २८, २०७९ २१:५४

माइक्रोसफ्टले नेपालमा समेत सुरु गर्‍यो स्टार्टअप सहयोग कार्यक्रम

काठमाडाैं । प्रविधि कम्पनी माइक्राेसफ्टले नेपालमा समेत स्टार्टअपका लागि आफ्नो सहयोग कार्यक्रम ‘स्टार्टअप्स फाउन्डर्स हब’ सुरु  गरेको छ । सफ्टवेयरमा आधारित उत्पादन तथा सेवा विकास गर्ने स्टार्टअपलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ याे कार्यक्रम नेपाल भित्रिएको हो ।

विश्वभर २०० भन्दा बढी देशमा सञ्चालन भइरहेकाे याे कार्यक्रम नेपालमा भने केही दिन अघिबाट सञ्चालनमा आएको छ । नयाँ उद्यम विकास गर्न सहयाेग पुर्‍याउने माइक्राेसफ्टका परियाेजनाहरू मध्ये स्टार्टअप्स फाउन्डर्स हब पनि एक हाे । विश्वका ९० प्रतिशत स्टार्टअप सहयाेग नपाएर सुरूवाती अवस्थामै बन्द हुने गर्दछन् ।

यस किसिमको समस्या समाधान गर्न यो परियाेजनाले सहयोगी भूमिका खेल्ने माइक्राेसफ्टका पार्टनर सेल्स एक्जिक्युटिभ सुवास मानन्धर बताउँछन् । यो कार्यक्रमले नेपालका स्टार्टअपलाई महत्त्वपूर्ण सहयोग पुग्ने उनको भनाइ छ । 

स्टार्टअप सुरु गर्न लागेका व्यक्तिहरुकाे विचारलाई यथार्थमा परिणत गर्न माइक्राेसफ्टले याे परियाेजनाबाट डेढ लाख अमेरिकी डलर बराबरकाे एजुरे क्रेडिट प्रदान गर्छ । एजुरे क्रेडिटलाई चार तहमा वर्गिकरण गरिएकाे छ ।  साे अनुसारकाे रकम स्टार्टअप्सले प्राप्त गर्छन् ।

जस अन्तर्गत पहिलाे तहमा (Ideate) एक हजार अमेरिकी डलर, दाेस्राे तह (Develop) मा पाँच हजार अमेरिकी डलर, तेस्राे तह (Grow) मा २५ हजार अमेरिकी डलर र चाैँथाे तह (Scale) मा एक लाख २५ हजार अमेरिकी डलर प्राप्त गर्न सकिन्छ ।

त्यस्तै उत्पादन तथा सेवा विकास गर्दा आवश्यक पर्ने प्राविधिक सुविधा माइक्रोसफ्ट ३६५, गिटहब इन्टरप्राइज, भिजुअल इन्टरप्राइज, लिंक्ड इन क्रेडिट लगायतको सुविधा समेत यसमा समावेश छन् । यससँगै स्टार्टअपले मेन्टरशिप समेत पाउँछन् । 

यस्तो छ सहयाेग प्राप्त गर्ने मापदण्ड

माइक्राेसफ्टकाे याे सहयाेग प्राप्त गर्न सबैभन्दा पहिला सूचना प्रविधि सम्बन्धी नाफामूलक स्टार्टअप हुनुपर्छ । त्यस्तै यस्ता स्टार्टअपले कतै न कतैबाट लगानी संकलन गरेकाे हुनुपर्छ । शैक्षिक संस्था, कन्सल्टेन्सी, एजेन्सी, बिट क्वाइन अथवा क्रिप्टाे माइनिङ कम्पनीसँग सम्बन्धित स्टार्टअपले भने यो सहयाेग पाउँदैनन् । 

माइक्राेसफ्टकाे यो परियाेजनाबाट सहयाेग प्राप्त गर्न आवेदन दिनुपर्छ । कम्पनीले राखेका मापदण्डहरू पूरा भए स्टार्टअपकाे अवस्था अनुसार सहयाेग प्राप्त हुने माइक्राेसफ्टका पार्टनर सेल्स एक्जिक्युटिभ मानन्धर बताउँछन् ।

यो परियाेजनामा आवेदन दिन यहाँ क्लिक गर्नुहाेस् ।

पछिल्लो अध्यावधिक: मंसिर २८, २०७९ २१:५४