close

युट्युबलाई पछि पार्न ल्यान्डस्केप मोडमा पनि भिडिओ हेर्न मिल्ने फिचर ल्याउँदै टिकटक

टेकपाना टेकपाना

मंसिर २९, २०७९ ११:४०

युट्युबलाई पछि पार्न ल्यान्डस्केप मोडमा पनि भिडिओ हेर्न मिल्ने फिचर ल्याउँदै टिकटक

काठमाडौं । छोटा भिडिओ स्ट्रिमिङ प्लेटफर्म टिकटकले फुलस्क्रिन ल्यान्डस्केप भिडिओ फिचरको परीक्षण थालेको छ । यस फिचरका माध्यमबाट टिकटकमा पनि युट्युब जस्तै फोन तेर्सो राखेर अर्थात् ल्याण्डस्केप मोडमा भिडिओ हेर्न सकिनेछ ।

गत वर्ष मात्र मासिक एक अर्ब सक्रिय प्रयोगकर्ताको आँकडा पार गरेको कम्पनीले आफूले ल्याउन लागेका विषयमा प्रस्ट जानकारी दिँदै आएको छ । फेसबुकका लागि सबैभन्दा ठूलो प्रतिद्वन्द्वी मानिएको टिकटक अहिले युट्युबलाई पछि पार्ने दाउमा छ । जसअनुरूप कम्पनीले प्रयोगकर्तालाई होरिजेन्टल अर्थात स्क्रिन रोटेट गरेर भिडिओ हेर्न सकिने सुविधा ल्याउन लागेको हो ।

यसका माध्यमबाट प्रयोगकर्ताले लामो भिडिओ तेर्सो बनाएर हेर्न सक्छन् । कम्पनीले अन्तर्राष्ट्रिय सञ्चार माध्यम टेकक्रन्चलाई भने अनुसार, यो परीक्षण प्रयोगकर्तामाझ ल्याएरै परीक्षण भइरहेको छ । यो फिचरका लागि समावेश गरेका प्रयोगकर्ताले भिडिओ फिडमा वर्गाकार बक्स देख्नेछन् । यदि उक्त बक्समा ट्याप गरियो भने भिडियो स्वतः तेस्रो स्क्रिनमा देखिनेछ ।

यो फिचर सार्वजनिक भइसकेपछि क्रियटरले होरिजेन्टल रेसियोका लागि तयार पारेका भिडिओ राख्नुअघि त्यसमा 'ट्रन योर फोन' भन्ने मेसेज राख्नुपर्ने हुन्छ ।  जसले गर्दा अडियन्सलाई उक्त भिडिओ ल्यान्डस्केप मोडमा हेर्न पर्ने जानकारी होस् । युट्युबको फर्म्याटमा बानी परेका प्रयोगकर्तालाई आफ्नो प्लेटफर्ममा आकर्षित गर्न कमपनीले यो फिचर ल्याउन लागेको अनुमान गरिएको छ । 

छोटा भिडिओ अपलोड गर्ने प्लेटफर्मका रूपमा चर्चा पाएको टिकटकले पछिल्लो समय करिब १० मिनेटसम्मका भिडिओ अपलोड गर्ने फिचर ल्याएको थियो । पछिल्लो रिपोर्ट अनुसार अधिकांश किशोरकिशोरी अहिले युट्युबभन्दा टिकटकमा बढि सक्रिय छन् ।

पछिल्लो अध्यावधिक: मंसिर २९, २०७९ ११:५३