close

पोर्नहबको च्यानलमाथि युट्युबको प्रतिबन्ध

टेकपाना टेकपाना

पुस ३, २०७९ १४:११

पोर्नहबको च्यानलमाथि युट्युबको प्रतिबन्ध

काठमाडौं । युट्युबले आफ्नो नीति उलङ्घन गरेको भन्दै एडल्ट साइट पोर्नहबलाई आफ्नो प्लेटफर्ममा प्रतिबन्ध लगाएको छ । गुगलले एउटा सूचना जारी गर्दै युट्युबमा अश्लीलतासँग सम्बन्धित बाह्य लिङ्क शेयर गरेको पाइएपछि उक्त च्याटमाथि प्रतिबन्ध लगाएको हो ।

युट्युबका प्रवक्ता ज्याक मलोनले अन्तर्राष्ट्रिय सञ्चार माध्यमलाई पोर्नहबले कम्युनिटी गाइडलाइन्सका थुप्रै नीति उलङ्घन गरेको बताएका छन् । "हामी सबैका लागि समान रूपमा हाम्रा नीतिहरू समान किसिमले लागू गर्छौँ," उनले भने, "बारम्बार सूचना दिँदा पनि थप नीति उलङ्घन गरेपछि च्यानलमाथि प्रतिबन्ध लगाइएको हो ।"

पोर्नहबको आधिकारिक युट्युब च्यानलमा नौ लाख बढी सब्स्क्राइबर थिए । विशेषगरी उसले आफ्नो साइटका कन्टेन्ट र कलाकारलाई प्रवर्द्धन गर्दै आएको थियो । त्यस साइटमा १८ वर्षभन्दा बढी उमेर समूहका युवावर्गका लागि लक्षित कन्टेन्टहरू अपलोड भइरहेका हुन्थे ।

यता आफूहरूले भने युट्युबका कुनै नीति उलङ्घन नगरेको पोर्नहबका प्रवक्ताको भनाइ छ । "यो नितान्त हामी एडल्ट इन्डस्ट्रीमाथि गरिएको विभेद हो । सामाजिक सञ्जालमा हामीलाई प्रतिबन्ध लगाउने ट्रेन्ड चलिरहेको छ," पोर्नहबका प्रवक्ताले दुःख पोख्दै भनेका छन् ।

यसअघि अभियानकर्ताले दबाब दिएको भन्दै इन्स्टाग्रामले पनि पोर्नहबको अकाउन्टमाथि प्रतिबन्ध लगाएको थियो । हट्नु अघि पोर्नहबको इन्स्टाग्राम अकाउन्टमा एक करोड ३१ लाख फलोअर र ६२ सय पोस्ट रहेका थिए ।

 

 

पछिल्लो अध्यावधिक: पुस ३, २०७९ १४:११