close

चिटिङ गरेको भन्दै पब्जी मोबाइल नेसनल च्याम्पियनशिपबाट निकालिए दुई टिम

टेकपाना टेकपाना

पुस ४, २०७९ २०:५८

चिटिङ गरेको भन्दै पब्जी मोबाइल नेसनल च्याम्पियनशिपबाट निकालिए दुई टिम

काठमाडौं । पब्जी मोबाइल नेसनल च्याम्पियनशिप (पीएमएनसी) नेपाल २०२२ मा 'चिटिङ' गरेको भन्दै फाइनलका लागि छनोट भएका दुई टिमलाई पब्जीले अयोग्य ठहराएको छ । शुक्रबार भएको सेमिफाइनलमा खेल भावना विपरीत कार्य गरेको भन्दै ‘टिम बेलौरी’ र ‘स्लेयर मास्टर’लाई पब्जीले नेसनल च्याम्पियनशिपबाट नै निकालेको हो ।

ग्रुप ‘ए’ र ग्रुप ‘सी’ बीच भएको अन्तिम दिनको सेमिफाइनलमा चिट गरेको पाइएको हो पब्जीकाे भनाइ छ, जसका कारण ग्रुप ‘ए’ र ग्रुप ‘सी’ बीचको खेल पुन: गराइएको थियो । सेमिफाइनल अन्तर्गतको ग्रुप ‘ए’ र ग्रुप ‘सी’ बीचको गेम सकिँदा ‘टिम बेलौरी’ तेस्रो स्थानमा रहेको थियो ।

यसको मतलब टिम बेलौरी फाइनलको लागि पक्कापक्की छनोट भइसकेको थियो । तर बीचमा पब्जीको ‘एन्टी चिट सिस्टम’ले छेडछाड गरेको थाहा पाउँदा याे टिम प्रतियोगिताबाट नै निकालिएको हो ।

अर्को टिम ‘स्लेयर मास्टरको’ भने पछि ग्रुप ‘ए’ र ग्रुप ‘सी’ बीच पुन: एक खेलपछि चिट गरेको पत्ता लागेको थियो । जसका कारण  सेमिफाइनलको दुई खेल बाँकी रहँदा नै प्रतियोगिताबाट यो टिमलाई अयोग्य ठहर्‍याइयाे । यही कारण यो टिम खेलिरहेको ‘सन्होक’ म्यापको गेमलाई बीचमा नै रोकेर पुन: गराइएको थियो ।

यससँगै शुक्रबार नै फाइनल खेल्ने १६ टिमको पनि टुङ्गो लागिसकेको छ ।  यसअन्तर्गत सेमिफाइनल चरणको अङ्क तालिकाको शीर्ष १३ मा रहेका टिम र तीन आमन्त्रित टिम रहेका छन् ।

सेमिफाइनलमा शीर्ष तीनभित्र रहँदै ‘लियो ग्याङ्स्टर’, ‘इलुमिनेट क्रु’ र ‘लर्डएक्स अफिसियल’ले फाइनलमा आफ्नो स्थान सुरक्षित गरिसकेका छन् । यसबाहेक सेमिफाइनलका अन्य १० टिमले पनि फाइनल खेल्दैछन् ।

आमन्त्रित टिममा भने ‘एब्रप्ट स्लेयर’, ‘ज्यानमारा ई-स्पोर्ट्स’ र ‘द अट्रयाक्स ई-स्पोर्ट्स रहेका छन् ।

फाइनल खेल डिसेम्बर २१ र २२ मा भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा हुँदैछ, जसमा दर्शक प्रवेश नि:शुल्क गरिएको छ । 

1

पछिल्लो अध्यावधिक: पुस ४, २०७९ २०:५८