close

दुई महिनापछि भरतपुरबाटै स्मार्ट ड्राइभिङ लाइसेन्स वितरण गर्छौं: रेनु दाहाल

टेकपाना टेकपाना

पुस ७, २०७९ ९:१६

दुई महिनापछि भरतपुरबाटै स्मार्ट ड्राइभिङ लाइसेन्स वितरण गर्छौं: रेनु दाहाल

चितवन । भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले दुई महिनाभित्र भरतपुरबाट नयाँ सवारीचालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) वितरण हुने बताएकी छन् । यातायात व्यवस्था कार्यालय भरतपुरमा नवनिर्मित भवनको  बुधबार  अनुगमनपछि  प्रमुख  दाहालले  भनिन्, “दुई महिनाभित्र सवारी परीक्षणसहितको नयाँ लाइसेन्स यहीँबाट वितरण हुनेछ ।”

उनले  चार  वर्षअघिदेखि  भरतपुरमा  सबै  सुविधासहितको   यातायात   कार्यालय   ल्याउने   कार्यको  थालनी  गरेको  स्मरण गरिन् । चितवनबाट  लाइसेन्स  वितरणपछि  चितवनवासी  र छिमेकी जिल्लाका सेवाग्राहीलाई सेवा लिन सहज हुने उनकाे भनाइ छ ।

“देशको केन्द्र भागमा भरतपुर रहेकाले  धेरैले  सेवा  लिनुहुनेछ  । यहाँको  आर्थिक  क्रियाकलाप पनि वृद्धि भएर जानेछ, चितवनवासीका लागि  गर्वको  विषय  हो ,” उनले भनिन् ।

कार्यालयको  सेवा  सञ्चालनका  लागि  आवश्यक  अस्थायी  संरचना  निर्माण  गर्न  महानगरपालिका  सकारात्मक  रहेको नगरप्रमुख दाहालको भनाइ छ । कार्यालयले नयाँ लाइसेन्स वितरण छिटोभन्दा छिटो गर्ने उद्देश्यसहित प्राविधिक कार्यालयलाई तीव्र रूपमा अघि बढाएको छ  ।

चितवनका नागरिक अहिले लाइसन्स लिनका लागि काठमाडौँ, पोखरा, बुटवल, हेटौँडा र वीरगञ्ज जानुपर्ने  बाध्यता  छ  । भरतपुरमा  नयाँ  लाइसेन्स  वितरण  गर्न  ट्रायल  सेन्टर  छनोट  गर्ने  कार्य  पनि  अन्तिम चरणमा पुगेको छ ।

अन्तिम दुईमा भरतपुरका महालक्ष्मी ट्रायल सेन्टर र सद्गुरु ट्रायल सेन्टर छनोट भएका थिए । अब १५ दिनभित्र ट्रायल सेन्टरको पनि टुङ्गो लाग्ने यातायात व्यवस्था कार्यालय भरतपुरका प्रमुख कालीबहादुर भुजेलले जानकारी दिए । लाइसेन्सको  ट्रायल  दिन  आउनेको  स्वास्थ्य  परीक्षणका लागि सूचीकृत हुन स्वास्थ्य संस्थालाई १५ दिने सूचनाबाट आह्वान गरिएको कार्यालय प्रमुख भुजेलले जानकारी दिए ।

-गोरखापत्र

पछिल्लो अध्यावधिक: पुस ७, २०७९ ९:१७